बिभिन्न रिति रिवाज, आफ्नै संस्कृति, अनि बिभिन्न चाडपर्वहरुले सजिएको हाम्रो समाजमा बिभिन्न जन जातिको आ आफ्नै रिती रिवाज,चाडपर्वहरु र संस्कृति छ तर अहिले धेरै जसो चाडपर्वहरु सबैजसो जनजातिले आफ्नो इछ्या अनुसार रमाएरै मनाउञ्छ्न। त्यो आ आफूमै भर पर्ने कुरा हो। त्यसमा कुनै बन्देज छैन। त्यसमध्य अहिले नजिक आउदै गरेको तीज पर्वको पनि आफ्नै महत्व र पहिचान छ। तीज आए पछि दशैँ पनि नजिक आएको महशुस हुदो रहेछ।
त्यतिखेर तीजमा ‘दर’ खाने भन्थ्यो तर मलाई थाहा थिएन ‘दर’ भनेको के हो भनेर। मलाई लागेको थियो ‘दर’ भनेको कुनै बिशेष परिकार वा खाना होला जुन तीजमा मात्रै खाइन्छ।
हरेक बर्ष आउने यो तिज पर्वले पहिलो पटक मध्ये रातमा मीठो ‘दर’ खाएको सम्झना दिलाउँछ। त्यतिखेर हाम्रो घरमा बस्नुहुने दिदीको हात बाट पाकेको मीठो ‘दर’ खाएकि थिए।
मलाई त्यतिखेर तीजमा खाने ‘दर’ भनेको के हो भनेर खुबै जान्ने इछ्या थियो। एक दिन कुरैकुरामा मैले उहालाई ‘दर’ भनेको के हो भनेर सोधेकी थिए अनि उहाले पख म तिमीलाई अहिले आउने तीजमा ‘दर’ ख्वाउञ्छु भन्नुभयो।
तिजको चहल पहल थियो।बजारमा दतिवन लगाएत अन्य तीजमा प्रयोग हुने पुजाका सामानहरु बिक्रिका लागि राखेका देखिन्थे।महिलाहरु रातो पहिरणमा अनि रातो पोतेमा सजिएका देखिन्थ्यॆ।‘दर’ खाने एकदिन अघि म र मेरो दिदीलाई उहाले आज राती ‘दर’ खाने दिन म तिमीहरुलाई उठाउन आउंछु है अनि हामी संगै ‘दर’ खाने भन्नुभो।म धेरै उत्सुक थिए ‘दर’ भनेको के हो भनेर।मध्य रातमा मस्त संग निदाइराखेको बेलामा सानो आवाजले कसैले ढोका घच्घचाए को सुने। उहाले पनि अरुहरुलाई डिस्टर्ब होला भनेर बिस्तारै ढोका घच्घचाउनु भएको रहेछ।मैले ढोका खोले उहाले जाउ ‘दर’ खाने बेला भयो भन्नुभो अनि म र मेरी दिदि दुवै जना आँखा मिच्दै उहासंग उहाको भान्छाकोठामा गयौ।
दर का लागि तयार भएका खानाहरुको मगमग मीठो बास्नाले भान्छा कोठा भरिएको थियो।हाम्रो त् निदै भाग्यो।हाम्रो अगाडि उहाले ‘दर’ का लागि तयार गरेका सबै स्वादिष्ट खानाहरु परौठा,विभिन्न मीठा मीठा तरकारीहरू,खिर,दहि अनि मिठाई राखिदिनुभयो।हामी तिनै जनाले मीठो मानी मानी माथी आमा बुबाले सुन्नुहोला भनि सानो आवाजले कुरा गर्दै गफ गर्दै रमाउदै खायौ।अनि खाइसकेर फेरि माथि गएर सुत्न गयौ तर के निन्द्रा लाग्ला र!
मिर्मिरे उज्यालो भै हाल्यो।घर मुनि बाट मिर्मिरे उज्यालोमै कुइरोलाई पछ्याउदै तरकारी फलफुलको डोको बोक्दै लौरो टेक्दै तरकारी फलफुल बेच्न आउने हरुसंग को मोल मोलाई को आवाज संग सगै सुर्य उडाई हाल्यो।अरु बेला ति खानेकुराहरु खाए पनि त्यो बिशेष दिनमा पहिलो पटक खाएको ‘दर ‘ भएर होला त्यसको स्वाद भने जिब्रोमा हरेक बर्ष आइ नै रह्यो।
सम्पूर्ण साथीसंगी,दिदीबहिनीहरुलाई तिजको धेरै धेरै शुभकामना !
-रजनी मल्ल न्यु जर्शी अमेरिका।
प्रतिक्रिया