कविताको उडान

मिरा गोतामे २०७८ भदौ २२ गते १०:२६ मा प्रकाशित

जीवनभर पीडैपीडा भोगेर पनि कहिल्यै छुटकारा पाउने छाँटकाँट नदेखेपछि अन्तिम विकल्पका रुपमा वैदेशिक रोजगारमा होमिएकी हो कविता।अनगिन्ति ठक्कर खाँदै खाँदै आज इज्रायलमा आईपुगेर आफ्नो कर्म गर्दैछे।एक बृद्धाको सहयोगीको रुपमा काम गरिरहेकी छे ऊ यहाँ।काम खासै गाह्रो छैन।आम्दानी पनि ठीकै छ।

बुढाबुढीको सेवा गर्न पाउँदा उसलाई आनन्द त आउँछ नै।तर स्वदेशको माया,आफ्नो गाउँठाउँ,बालबच्चा सम्झिंदा भने बेला बेलामा उसको मुटु भक्कानिन्छ। आफ्नो माटोको सम्झनाले चाडवाड र छुट्टिहरुमा भित्रैदेखि दुःखी बनाउँछ।

जति सम्झिए पनि चरीझैं उडेर आफ्नाहरु माझ पुग्न नपाइने,आफैले कमाएको सम्पत्ति उनीहरुसँगै बसेर खर्च गर्न नपाइने।सपरिवार बसेर एकअर्काका दुःख साटासाट गर्न पनि नपाईने।यस्तै कुराहरुले उसलाई दुःखी बनाउँछ।उसले दुःख गरेर पठाएका पैसाले परिवारलाई दिएको खुसी आफ्नै आँखाले हेर्न चाहन्छे ऊ । तर यो त सपनामा मात्र सम्भव छ।

पहिले पहिले लोग्नेमान्छेहरु लाहुर गएका कुरा सुनिन्थे।उनीहरुले धन कमाएर फर्केपछि ऋण चुक्ता गरेर परिवारसँगै बसेर रमाएका कुरा सुनिन्थे।लोग्नेहरु लाहुर जाँदा गाउँमा उनीहरुको स्वास्नीका चुरी फुरी नै बेग्लै हुन्थ्यो।तर अहिले त जमाना फेरिएको छ।

उसको लोग्ने निर्मल घरै बसेर बालबच्चा हेरिरहेको छ।आफ्नो घरायसी समस्या सल्टाउन कविताले चाँहि लोग्नेमान्छे सरह खटिनु परेको छ,त्यो पनि विदेशी भूमीमा ।धेरैपटक त भाषा नबुझेरै समस्या भएको थियो।त्यसैले ऊ विस्तारै हिव्रु भाषा पनि सिक्दैछे।

आफूले केयर गिभरको सेवा दिईरहेको बृद्धा हिंडडुल गर्न सक्दिनन्।औषधि खाने बित्तिकै निदाउँछिन्।अनि कवितालाई एकछिन भएपनि फुर्सद मिल्छ। फुर्सदका हरेक पलपलमा स्मिृतिमा पुग्छे ऊ।रामेछापमा जन्मेर हुर्कने क्रममा कान्ला कान्ला अनि गह्रा गह्रा दौडेका रमाईला स्मृतिदेखि गरिबीले गर्दा भोकभौकै सुत्नु परेका दिनहरु झल्झली उसका आँखाअगाडि सिनेमाको पर्दाझै आउँछन्।

फुर्सदको समयले उसलाइ उसको विगतको पुनरावृत्ति गराईहाल्छ।अहिले केहि सुखसुविधा भएपनि मातृभूमी र आफन्तहरुको याद आइ नै हाल्दा रहेछन्। त्यसमाथि आफ्ना दुई कलिला छोरीहरुलाई छोडेर विदेशीनुको पीडा उसलाईबाहेक कसलाई थाहा होला र ?

रामेछाप जिल्लाको एउटा बिकट गाउँमा जन्मिएकी थिई ऊ।भन्नलाई त एक सम्पन्न डिट्ठा परिवारमा जन्मेकी थिई कविता,पुख्र्यौली सम्पत्ति प्रशस्त भएपनि बुवाका दाजुभाईहरु बेईमान भएपछि उसको परिवारले पाउनुसम्म दुःख पाए।भएभरको सम्पत्ति काकाबाउहरुले जमिनका गाडेका रे ! सम्पत्ति जति उनीहरुले एकलौटी पारेपछि कविताका आमाबाबु कंगाल हुन पुगेका रहेछन्।

कविताका आमाबुवाको आयआर्जनका स्रोत नै नभएका पनि थिएनन्।तैपनि उनीहरुको जीवन सुखमय किन हुन नसकेको भनेर कविताले कहिल्यै बुझ्न सकिन। जीविकोपार्जनका लागी आमाबुवा दुबैजनाको जागीर पनि थियो हुलाकमा।कम आम्दानीका कारण गरिबीको चक्रमा उनीहरु सधैं पिसिइरहे।

सरुवा भएर कहिले कहाँ कहिले जानैपर्ने उनीहरुको बाध्यता।आम्दानी कम भएर हो वा घर पठाउने इच्छा नभएर हो,घरमा उनीहरुले पठाएको पैसाको कुरै उठ्दैनथ्यो।दुई छाक खान मुश्किलले पाईन्थ्यो।भाइ सानो भएकाले आमाबुवाले उसलाई सँगै लगेका थिए।

“आमा, म पनि सँगै जान्छु नि !” कविताको आग्रह थियो यो।

“ यति ठूली भएर पनि राती ओछ्यानमै पिसाब फेर्ने मान्छेलाई कसरी लानु ?” आमाले भनेकी थिईन्।

ओछ्यानमै पिसाब गर्ने बानीले गर्दा आमाबुवासँग जाने सपना कहिल्यै पुरा भएन।गाउँमै हजुरआमासँग बसेकी उसको बाल्यकाल कष्टमै बित्यो।खुट्टामा चप्पल लगाएर हिंडेका स्मृतिहरु पनि छैनन् उसँग।अहिले इज्रायलमा भनेजस्ता जुत्ता चप्पल लगाएर हिंड्न पाउँदा बाल्यकालमा खाली खुट्टा हिंडेका यादहरु आईरहन्छन्।

आफ्नो आम्दानी भएपछि मन लागेका कुरा सजिलै खान सकिने त भयो तर विदेशका खानेकुरामा आफ्नै गाउँको स्वाद नै कहाँ पाइन्छ र ? सानो छँदा छिमेकमा पाकेको मकैको च्याख्लाको बास्ना सुँघेरै घुटुघुटु थुक निल्नु पर्थ्यो।मिठो खानाको नाममा फर्सिको मुन्टा उसिनेर नुन छर्केर खाएको सम्झिन्छे ऊ।

खान नपाएर भोकभोकै सुत्नुपरेका दिनहरु त कत्ति छन् कत्ति ! निदाउने कोसिसमा कोल्टे फेर्दा फेर्दै निदाउन नसकेका रातहरु पनि याद आउँछन्।दुःखको भवसागर थियो त्यो सायद,अहिले विस्तारै पार गरेकी छ उसले।तर पनि अतितका तीता सम्झनाले सधैं उसलाई पछ्याईरहन्छन्।

चौध वर्षकी हुँदी हो ऊ, मामाघर जाँदा निर्मललाई भेटेको समयमा।पहिलोचोटिको भेट भएकाले सामान्य चिनजान मात्र भएको थियो।निर्मल उभन्दा सात वर्ष जेठो रहेछ।काठमाडौंमा काम गर्छु भन्थ्यो।विपरीत लिङ्गीप्रतिको आकर्षण थियो सायद दुवै तर्फबाट।त्यस्तो नराम्रो कुरा त केहि भएकै थिएन तर काठ्माडौं फर्केपछि निर्मलले उसको नाममा हुलाकद्वारा चिठ्ठी पो पठाएछ।

संयोग पनि कस्तो पर्यो भने त्यो चिठ्ठी बाउआमाको हातमा परेछ।यसले घरपरिवारमा ठूलै हलचल ल्याईदियो।आजभोली यस्ता कुरा समान्य लागेपनि आजभन्दा झण्डै साँढे दुई दशकअघिको समाजमा यस्ता कुराहरु वर्जितप्रायः नै थिए।प्रेम गर्नु,प्रेम पत्र लेख्नुलाई अपराध गरे सरह मानिन्थ्यो।यस्ता घटना सुनेमात्र पनि विवाह गर्न हतारिएको मानिन्थ्यो।उसको हकमा पनि त्यस्तै भयो।निर्मललाई काठ्माडौंबाट गाउँ झिकाईयो।

एउटी केटी राम्री लागेर लेखिएको पत्रले उनीहरुको जीवनको रुपरेखा नै बद्लिदियो।विवाह गरिहाल्ने सोच निर्मलको थिएन तर उसको त्यो पत्र यसरी पेश गरियो कि त्यो नै कविता र निर्मलबीचको पे्रमको प्रमाण थियो।बाध्य भएर निर्मलले कवितासँग बिहे गर्ने प्रस्ताव स्वीकार्नु परेको थियो।बिहे हुँदा कविताको उमेर पन्ध्र वर्षको मात्र थियो।

ससुराली पक्षले जर्बजस्ती गरेपछि निर्मल पनि के कम ! उसले पनि दाइजोको माग गरिहाल्यो।दुई छाक खान धौ धौ पर्ने परिवारलाई दाईजोको जोहो गर्न मुस्किल त हुने नै भयो।बल्लबल्ल एकसरो खाट र सिरक डस्ना जुटाईएको थियो।दुलाहा बनेका निर्मलले जग्गेमा नै सुनको सिक्रि माग गर्यो ।बिहेको दिन यस्तो गर्नु सरमको कुरा हो भनेर सम्झाउन केटीपक्षलाई हम्मेहम्मे परेको थियो।

अर्काको सम्पत्तिको लालच गर्ने व्यक्ति उसको असल जीवनसाथी कसरी प्रमाणित हुन सक्थ्यो र ? विवाहपछि त कविताका भन् धेरै दुःखका दिनहरु सुरु भए। गरिबीको पहाडमा बाँचेकी उसलाई विवाहपछि अलि राहत हुन्छ कि भन्ने भीनो आश थियो तर ती सब चकनाचुर भए।निर्मल उसको असल जीवनसाथी हुनै सकेन।निर्मलका थुपै्र कमीकमजोरीहरु कविताले नजरअन्दाज गर्नु पर्थ्यो भने उसका हरेक कामकुरामा खोट निकालिन्थ्यो।

विवाहपछि निर्मल काठ्माडौं आयो कवितालाई गाउँमै छोडेर।उसको व्यवहारमा बदलाव त सुरु भइ नै सकेको थियो।तर पछि सबैको हेलाको पात्र भएर गाउँमा बस्नै नसकेर कविता पनि काठ्माडौं नै आउन बाध्य हुनु परेको थियो।त्यसपछि त झन् उसका दुःखका दिन सुरु भएझैं भयो।अलिकति खुसीको आशमा, अलिकति मायाको आशमा नै हो ऊ काठ्माडौं आएकी।

उसको सोचविपरीत निर्मलले उसमाथि कुटपीटको उपहार दिन थालेको थियो।यत्तिकैमा कविता सोह्र वर्षमै गर्भवती भई।न त शारीरिक न त मानसिक रुपमै तयार थिई ऊ आमा बन्नलाई।त्यसमाथी गर्भावस्थाभरी उसले लोग्नेको साथ पाईन । दिनदिनै उनीहरुबीच तनाव बढ्दै थियो । खानलाउन दिने समयमा उसको झर्कोफर्को सुन्नै पर्थ्यो।

पहिलो सन्तानको रुपमा छोरीको जन्म भयो।छोरी जन्मेको निहुँमा मनमुटाव अझै बढेर गयो । छोरी तीन दिनकी मात्रै थिई, जुन दिन निर्मलले उसको रिस छोरी माथी खन्याएको थियो । तीनदिनकी छोरीले के नै बुझ्थी र ? तर उसलाई झगांलेर, थप्पड हानेर कमलले आफ्नो निकृष्टता प्रदर्शन गरेको थियो ।

“काठ्माडौंमा राखेर तँलाई पाल्न सक्दिन । तँलाई स्याहारसुसार गरेर बस्ने फुर्सद छैन । हिंड् गाउँ लगेर छोडिदिन्छु । ” निर्मलले निकालेको समाधान यहि थियो ।

कोठा छोडेर तीन दिनकै सुत्केरीलाई गाउँ लगिंदै थियो । काठ्माडौंबाट तीन घण्टाको बसको यात्रा पश्चात पाँच घण्टाको ठाडो उकालो हिंड्नै पर्ने थियो घर पुग्न । कलिलो उमेरकै सुत्केरी ज्यान अनि त्यति लामो यात्रा, साह्रै कठिन थियो कविताका लागी । तर पनि लोग्नेले जहाँ जहाँ लान्छ, त्यहाँ त्यहाँ मन नलागेपनि जानैपर्ने उसको कर्म ।

नाईं भन्दा अझै कुटपीट हुने डर । लोग्नेको रुखो व्यवहारले आहत भएकी कवितालाई अरु कुनै विकल्प पनि थिएन । यात्रा लामै भएपनि लोग्नेको माया र साथ पाएकी भए उसलाई पनि सहज हुने थियो । सोचेजस्तो त किन हुन्थ्यो र ? पाँच घण्टाको उकालो चढ्दा पनि तीन दिनकी सुत्केरीलाई बच्चा बोक्न मद्दतसम्म पनि नगरेर निर्मलले एउटा खराब बाबु र पति भएको सबुत पेश गर्दै थियो।

मन साहै्र रोएपनि कविताले केहि गर्ने स्थिति थिएन । “मूर्खको अगाडि दैव पनि डराउँछ” भनेझैं निर्मलका अगाडि बहस गर्नु, रुनु कराउनु भन्दा चुपचाप सहनु नै ठीक लाग्न थालिसकेको थियो कवितालाई । सामान्य मनमुटाव हुँदा घाँटी न्याक्नेसम्मका हर्कत उमाथि भईसकेका थिए । राम्रो मुखले कुरा हुनै छोडिसकेको थियो ।

“बर्मा गएपनि कर्म सँगै नेपाल गएपनि कपालसँगै” भन्ने उखान कविताको जीवनमा चरितार्थ हुँदै थियो । काठ्माडौंमा नसुध्रिएको उसको सम्बन्ध गाउँमा गएर सुध्रने सम्भावना त न्युन नै थियो । घरका अरु सदस्यको व्यवहार पनि उप्रति राम्रो थिएन । “छोरी रहिछे, खोलामा फ्याँकिदिए भइहाल्यो नि !” भन्ने सासूका वचन सुन्दा ऊ झण्डै बेहोस भइन।

सन्तान जन्माइसकेपछि एउटी आमालाई आफ्नो सन्तानभन्दा प्यारो को हुन सक्ला ? आफै एउटी आमा भएर उसकी सासूले कसरी त्यसो भन्न सकिन् होला भन्ने गुनासो कवितालाई सदैव भईरह्यो । छोरीलाई पैंतालीस दिनको खोप पनि लगाउन दिईएन । जे जस्तो भएपनि गाउँ छउञ्जेल उसले ज्वानोको झोल, घिउ र भात भने समयमै खान पाएकी थिई । पेटभरी खाना पाउँदा नै खुसी भएकी ऊ मासु र हरियो तरकारीसहितको छाक चाँहि सधैं कल्पनामा मात्रै खान्थी।

कहिले काठ्माडौं त कहिले गाउँ गर्दै उनीहरुको जीवन बितिरहेको थियो । फेरि उनीहरु काठ्माडौं फर्के । यो पटक उनीहरुले जेठाजु जेठानीसँगै बस्नु पर्ने भयो । झन् अर्को नर्कमा पुगेझैं भयो कवितालाई । देउरानीले खाना खाईदिन्छे भनेर भान्छामा सधैं ताल्चा लगाईएको हुन्थ्यो । पेटभरी खान सधैं दुःख हुन थाल्यो । रहलपहल खानेकुरामै चित्त बुझाउनु पथ्र्यो।

एकदिन उसको यस्तै अवस्था देखेर अर्को कोठामा बस्ने एउटी महिलाले दया गरेर पाउरोटी दिएकी थिईन् दुई टुक्रा । यसरी पनि छाक टथ्र्यो उसको।घरमा गाह्रो त थियो नै, गरिबीका कारण माईतीले पनि सहयोग गर्ने अवस्था थिएन।आशुका खोला बगाएरै उसको जीवन बितिरहेको थियो।

कविता दोस्रोपटक गर्भवती भई।सम्झौतामै बितिरहेको जीवनमा अझै संघर्षका दिनहरु थपि ।दाईजोको धङधङी अझै सकिएको थिएन।माईतबाट पैसा नल्याए उसलाई छोडिदिने धम्की बारम्बार निर्मलको तर्फबाट आई नै रहन्थ्यो । पहिलोपटक छोरी पाएकोमा घृणा बटुलेकी कविताले फेरि पनि छोरी नै पाई । सम्बन्ध झन् झन् बिगं्रदै थियो । कहिले गाउँ कहिले काठ्माडौंको उपक्रम चलि नै रहेको थियो।

त्यसै बेला फेरि अर्को नमीठो घटना घट्न पुग्यो।कविताकी सारसाउँदी आमा जो चालिस वर्ष पनि पुगेकी थिईनन्,एकदिन अकस्मात् बसैकै ठाउँबाट ढल्न पुगिन् ।रामेछापकै अस्पतालमा राखेर पाँच दिन उपचार गरियो तर होस आएन।फेरि काठ्माडौंको वीर अस्पताल पुर्याइयो।केहिदिनपछि उनलाई होस त आयो तर हातखुट्टा चलेनन्।गरीब परिवारको जहाजै डुब्यो कमाउ सदस्यको त्यो हालत भएपछि।

एक महिनासम्म अस्पतालमा राख्दा पनि सुधार आएन।डाक्टरहरुले प्यारालाइसिस बताएका थिए,घर लगेपछि विस्तारै ठीक हुन्छ भन्ने आश्वासन पनि दिए ।तर ईश्वरको योजना अर्कै रहेछ । घर फर्किएको एक महिना पनि पुग्दानपुग्दै उनी मृत्युको मुखमा परिन्।उनको पुरै शरीर पाकेको रहेछ, लाश जलाउँदा देख्नेहरुले भनेका !

दाम्पत्यसुखबाट वञ्चित कविताले अकस्मात् मातृवात्सल्य पनि गुमाउनु पर्यो ।आर्थिक सहयोग नपाएपनि आमाको अस्तित्व मात्रले पनि मान्छेलाई राहत मिल्छ, छटपटीमा शान्ति मिल्छ।उसले त त्यो पनि गुमाई।उसलाई थाहा थियो उसका बुवाले एक वर्ष नबित्दै अर्की स्वास्नी ल्याउनेछन्।त्यस्तै भयो।

आमाको मृत्युको आठ महिनापछि नै उसका बुवाले अर्की आमा ल्याए।एउटी छोरी सहितकी आईमाईलाई फकाएछन्,उनको सबै सम्पत्ति त्यहि छोरीलाई सुम्पिने शर्तमा।अनि त के थियो र ! उसका लागी कहिलेकाँहि आफ्नो मनको भारी बिसाउने माईतघरका ढोका पनि सदाका लागी बन्द भएझैं भयो।मनले स्वागत नगरिएको ठाउँको ढोकालाई बन्द नै मान्नु पर्छ।

आमाको मृत्युपछि कविताका संघर्षका दिनहरु अझै कठिन हुँदै गए।जेठी छोरीको स्कुल फी तिर्न नसकेर उसलाई गाउँमै छोड्नु प¥यो । छोरी छोड्ने बहानाले गाउँ गएको उसको लोग्ने गाउँकै एउटी आईमाईसँग लागेको कुरा कवितालाई सुनाईहाले गाउँलेले।

काम गर्न नखोज्ने अनि परस्त्रीसँग सम्बन्ध गाँस्दै हिड्ने लोग्नेबाट केहि प्रगति नहुने देखेपछि आफैले केहि गर्नैपर्ने कुराको बोध उसलाई पहिल्यै भईसकेको थियो । उसले एउटा किराना पसल खोलीे ऋण काढेरै भएपनि।भित्री गल्लीमा खोलिएको पसल त्यति चलेन । अलि अलि भएका ग्राहकले पनि उधारो नै खाएर भागे । ऋणको भार थप्पियो तर उसले हार खाइन।

काम खोज्दै जाँदा बल्ल एउटा ज्यामी काम पाई उसले । ईंटा र बालुवा बोक्ने । आफूमाथिको ऋणको भार कम गर्नलाई उसले त्यहि ज्यामी काम गर्ने निधो गरी । सम्बन्ध चिसिएपनि कहिलेकाँहि कोठामा भने आउँथ्योे निर्मल । “अभागीलाई खाने बेलामा आँधीबेहेरी” जस्तै भयो फेरि उसलाई । ज्यालादारी काम गरेर अलिअलि आम्दानी हुँदै थियो, ऊ तेस्रोपटक गर्भवती भई । उसका अगाडि फेरि अँध्यारो छायो । आफैंले श्रम गरेर कमाउन थालेकाले ऋण तिरेर ऋणमुक्त हुने उसको सपना फेरि तुषारापात हुँदै थियो । त्यसैले निर्मलसित सल्लाह नगरीकनै उसले गर्भपतन गराउनु पर्यो ।

यो थाहा पाउनु नै उनीहरुबीच दुरी बढाउनु जत्तिकै भयो । गर्भपतन गरेकाले कविता निर्मलको शंकाको घेरामा परी । अरुसितकै सम्पर्कले गर्दा बच्चा बसेकाले उसले थाहा पाउने डरले गर्भपतन गरेको आरोप पनि लगायो । भर्खर गर्भपतन गरेको थिल्थिलो शरीर, त्यसमाथि निर्मलको मारपीट, असहनीय पीडा भयो उसलाई ।
केहि समयपछि उसलाई फेरि कसैले उचालेछ, “तेरी स्वास्नीलाई वैदेशिक रोजगारीमा पठाईदे । उसले कमाएर पठाउँछे । तँ चाँहि छोरीहरु हेरेर बस्छु भन् अनि बसी बसी खानु” भनेर । अनि त के चाहियो र ! वेदेशिक रोजगारका सबै कुरा बुझेर उसैले प्रोसेस गरिदियो ।

“छोरीहरु छोडेर विदेश जान्न, बरु ज्यामी काम गरेर स्वदेशमै बस्छु।”

यसो भन्दै उसले धेरैपटक बिन्ति गरी तर निर्मलले मानेन । उसलाई ललाई फकाई गरेर विदेश जान बाध्य बनायो ।

“ऋण सापटी गरिसकें,अब तैंले जसरी पनि विदेशमा कमाएर तिर्नै पर्छ ।” उसको दिनरातको किचकिचले सीमा नाघिसकेको थियो ।

यसरी सुरु भएको हो उसको विदेश यात्राको उडान । ऊ यता वैदेशिक रोजगारीका लागी उडी । छोरीहरुको माया मुटुमै दबाएर काम गर्न विवश भई ।

कमाएको रकम घर पठाएर एउटा जिम्मेवार आमाको भूमिका निभाई उसले । तर उता निर्मल भने केटीहरुसँग झुम्मिएर बसेछ । झुम्मिए मात्रै त हुने, उसले त एउटीलाई कोठामै ल्याएर राखेछ, स्वास्नीको दर्जा दिएर ।

आफूलाई छलकपट गरेर अर्काको देशमा रगतपसीना बगाउन बाध्य पारेर ऊ चाँहि मोजमस्तीमा जीवन बिताउँदैछ।मान्छेले कर्म गरेर मात्र हुँदैन रहेछ क्यारे । भाग्यमा लेखेरै ल्याउनु पर्छ भन्ने कुरामा उसलाई विश्वास लाग्न थालेको छ।अब त उसलाई न घर सम्झेर आनन्द आउँछ न त माईत । सबैतिर जाने बाटो नै बन्द भएको छ उसका लागी । याद आउँछ त केवल ती छोरीहरुको । उनीहरुकै भविष्य सम्झेर उनीहरुबाटै छुट्टिएर बस्नुको विकल्प छैन उसँग अब ।

–मिरा गोतामे

 

 

प्रतिक्रिया