साहित्यकार एवं मुक्तककार मोहनराज खनाल ‘बर्मेलीराज’ को हृदयको झङ्कार नामक मुक्तक सङ्ग्रह २०७६ सालमा प्रकाशित भएको छ।यस कृतिभित्र उनीद्वारा लेखिएका २८४ वटा मुक्तक राखिएका छन्।यस सङ्ग्रहभित्रका केही मुक्तकहरु रोमाञ्चक,हाँसो र ठट्टाको भावले भरिएका पनि छन्।उनका मुक्तक अर्थका हिसाबले विभिन्न विषयलाई छुने खालका छन्।राजनीतिक परिवशेमा जनता र नेता दुबैमा सान्दर्भिक छन्।सङ्ग्रहभित्रका मुक्तक पढ्दै जाँदा लाग्छ उनी कतै उपदेशक बनेर देखिएका छन्,कतै प्रेम वियोगमा छट्पटाएका छन् त कतै अथाह मातृभक्ति दर्शाउन पुग्दछन्।साहित्यको विशेषता भनेकै पाठकमा रोचकता पस्कन सक्नु हो।आनन्दाभूति दिलाउन सक्नु हो।यस विषयमा मोहनराजका मुक्तकमा कमी देखिदैन।उनी साहित्यप्रति सकारात्मक देखिन्छन्।साहित्य लेख्न र पढ्न मुक्तक लेखेर चम्कने गर्दछन्।विज्ञानसित जुडेको छु कुज्ञानसित हैन संज्ञानसित झुकेको छु अज्ञानसित हैन उनले मुक्तकमा लेखेको पाइन्छ।यस कृतिमा उनले म्यान्मा तथा नेपालका राजनीतिक,सामाजिक,सांस्कृतिक लगायत विभिन्न क्षेत्रमा देखा परेका आयम एवम् पाटोहरुलाई रुप चित्रण एवम् चरित्रचित्रण स्पष्ट गरेका छन् । हामीले दिनहुँ भोगिरहेका सामान्य विषयहरुलाई पनि आकर्षक ढङ्गले मुक्तक बनाएर लेखेका छन्।
सोझो आँखाले हेर्छु मनभित्र राख्छु
चोखो मायाले हेर्छु मनभित्र राख्छु
भित्र आइ सोधिहेर मनको कुनासम्म
मीठो भावनाले हेर्छु मनभित्र राख्छु।
वास्तवमा मुक्तक यस्तो विधा हो कि जसले साहित्य जगत्मा तहल्का नै मच्चाउछ ।तर यसले आफ्नो धर्म निर्वाह गर्नुपर्दछ अनि यसले साहित्य जगत्मा झिल्का पार्दछ।मुक्तकले मानिसको हृदयलाई छिटै आकर्षण गर्दछ।नेपालमा मुक्तक भित्रयाउने श्रेय कविवर भीमदर्शन रोकालाई जान्छ।मुक्तक कविताकै छोटो रुप हो।मुक्तकमा कविताकै गुण र प्रवृृत्ति समाविष्ट रहन्छन्।तर मुक्तकले एक झट्कामा कविको आशय छर्लङ्ग हुने गरी अभिव्यक्ति स्वतन्त्र र सहज रुपमा पाठक समक्ष सम्प्रेषण गर्ने क्षमता राख्तछ।यस सङ्ग्रहभित्र समावेश भएका मुक्तकहरु आ–आफ्नै विशेषताभित्र समेटिएका छन् र ती सबै छुट्टा छुट्टै व्याख्यायोग्य छन्।जीवनमा दुःखसुखका अनुभवहरु अनगिन्ती भोगाइहरु नै मोहनराजको साहित्यसिर्जनाको स्रोतहरु हुन्।यसका अलावा समग्र विश्व राजनीति, सामाजिक परिवेश,धर्म,संस्कृति र मौलाउदै गएको विकृत समाजलाई चित्रण गर्दै साहित्यमा मुक्तकको माध्यमबाट उतार्ने प्रयास गरेका छन्।कवि मोहनराजका काव्यशिल्पभित्र जीवन र जगत्,मानव र प्रकृति,देशप्रेम र राष्ट्रियता व्यङ्ग्य–विद्रोह र पीडा,यौनको मन मोहकता र मादकता,आशा र निराशा, प्रेम र घृणा झल्किएका छन्।ताराजस्तै,जूनजस्तै,फूलजस्तै,सूक्ष्मताभित्र पनि सौन्दर्यशक्ति सुवास बोकेको हुन्छ मुक्तकले।जसभित्र भाव,बिचार र अनुभूतिले पाठकको मनलाई आकर्षित र आनन्दित तुल्याउँछ।
समयले बताउँछ ट्याक्क–ट्याक्क
नपत्याए ठोके हुन्छ ट्याक्क–ट्याक्क
जवानी तागतको भरमा जे पनि बोलिन्छ
समयले फसाउँछ बत्तीझैँ झ्याप्प–झ्याप्प।
कवितालाई निचोरेपछि मात्र मुक्तकको जन्म हुन्छ ।आफूले भन्न खोजेको कुरालाई चार हरफमै लेख्नु पर्ने हुंदा साहित्यका अन्य विधाभन्दा यो विधा चुनौतिपूर्ण त हुन्छ नै।त्यसो त एउटा सानो मुक्तकभित्र सिङ्गो ब्रहमाण्ड नै अटाउन सक्छ। जीवन र जगत्संग सम्बन्ध गाँसिएका मुक्तक रचनाहरु सङ्ग्रहित यस कृतिले मुक्तक लेखनका क्षेत्रमा थप योगदान गरेको त छ नै।कविताको सबैभन्दा लघुतम रुपलाई मुक्तक काव्यको रुपमा चिन्ने गरिन्छ।हरेक साहित्यिक रचनामा मानवचरित्र र क्रियाकलाप चित्रण गरेजस्तै मुक्तक काव्यमा पनि व्यक्ति,समाज, वातावरण र मानव समाजसँग सम्बन्धित अनेक पक्षलाई नै समेटेर सिर्जना गरिएका हुन्छन्।मुक्तककार मोहनराजले सिर्जनामा बिम्बको राम्रोसँग प्रयोग गरेका छन्।विषयवस्तु प्रभावकारी ढङ्गले प्रस्तुत गरेका छन्।जसका कारण मुक्तक पठनीय हुनमा थपेको छ तर कतिपय मुक्तकहरु सायरी शैलीमा सिर्जिएकाले केही लामा र कण्ठमा पार्न कठिन हुनेखालका पनि देखिन्छन्।मान्छेको हृदय अति कोमल,सरल र सहज भए तापनि कतिखेर कठोर र निर्दयी पनि बन्न पुुग्छ ।कतै अनर्थ पनि हुन पुग्छ । यो हृदयबाट उत्पत्ति हुने शब्दको जञ्जाललाई समेट्न सजिलो नहोला । म्यान्माली नेपाली साहित्यको अध्ययन विश्लेषण वा जान्नु परेमा यो कृति सबैलाई उपयोगी हुनेनै देखिन्छ।
ओतप्रोत दिने रुख जब मासेपछि
स्वयम् क्रुद्ध हुने दिन जब जागेपछि
मनुष्यले आफ्नो कीर्ति लुकाई राख्नुपर्ने
दोष,ठोस दिने मूर्ख जब लागेपछि।
यै चालाले अघि फुटे फेरि फुट््न तयार सङ्घ संस्था पनि लुके फेरि लुक्न तयार कवि मोहनराजले मुक्तकमा लेखेका छन्।दिन गिन्ती गर्न नपाउँदै हरबिन्ती भर्न नपाउँदै समय समयकै भरमा मनशान्ति छर्न नपाउँदै उनले मुक्तकमा कोरेका छन्।समग्रमा भन्दा कवि मोहनराज मुक्तक लेखनमा सफल व्यक्तिका रुपमा गनिन्छन्।नीतिका कुरा दिन,सुन्दर समाज निर्माण गर्न,समाजलाई राम्रो बाटो देखाएर भावी पुस्तालाई मार्गदर्शन गर्न उनी खप्पिस छन्।सानो आयाममा सजिएको यस सङ्ग्रहभित्रका मुक्तकहरु चेतनाका दृष्टिले फराकिला रहेका छन्। मान्छेका जीवनका अनेकौ उहापुहाका सन्दर्भहरुलाई मुक्तकले समेटिएका छन्। मानवीय प्रकृति,संस्कृति,रुढिवादी परम्परा आदि मुक्तकका विषय बनेका छन् । उनी साहित्यप्रति सकारात्मक देखिन्छन्।साहित्य लेख्न र पढ्न मुक्तक मार्फत् अभिप्रेरित गर्दछन्।उनका मुक्तकलाई पढ्दा लाग्छ उनी मुक्तकका कुशल कालीगढ हुन्।उनका मुक्तककमा काही वियोगान्तको भाव त काही संयोगान्तको भाव पनि पाइन्छन्।यति हुँदाहुँदै पनि आफ्नो साहित्य प्रकाशनमा ल्याउने प्रकाशक समक्ष पनि मुक्तकमार्फत् नै जानकारी गराउन भ्याएका छन्।अन्त्यमा भन्दा उनका मुक्तकमा कहीकतै थोरै अस्पष्टता र भाषिक सरलताको कमी देखिनु सामान्य कमजोरी हो।चेतनाका दृष्टिले सङ्ग्रहभित्र रहेका सबै मुक्तक राम्रा नै छन्।यस मुक्तक सङ्ग्रहभित्र सुखको पीडा पनि छ, दुःखको पीडा पनि छ, हाँसो र रोदन दुबै छ दुखाइ र भोगाइको अनुभूति पनि छ।आगामी दिनमा उनका अन्य कृतिहरु हामीले पढ्न पाउने ठूलो आशामा बाधिएको छु।
– अरुणबहादुर खत्री “नदी”
कृतिः हृदयको झङ्कारमा
विधाः मुक्तकसङग्रह
मुक्तककारः मोहनराज खनाल ‘बर्मेलीराज’
प्रकाशकः शिवपुरी साहित्य समाज, बूढानीलकण्ठ,काठमाडौं
संस्करणः प्रथम,वि.सं. २०७६ सामाखुसी मार्ग,९३५÷५४,
मूल्यः रु. २५०।– काठमाडौं (नेपाल)
पृष्ठः१२३ मोबाइल ९८४१७९७६६४
प्रतिक्रिया