विराटनगर,१६ भदौ।नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का १० जना प्रदेश सभा सदस्यहरुले आज मध्यान्ह प्रदेश निर्वाचन कार्यालय विराटनगरमा नेकपा एकिकृत समाजवादीमा प्रवेशका लागि सनाखत गर्नु भएको छ।
प्रदेश सभा सदस्य एवं एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्र राईको नेतृत्वमा यसरी सनाखत गर्नेहरुमा राजन राई,गणेशकुमार काम्बाङ्ग,सरिता थापा, सावित्रादेवी रेग्मी,खिनु लङ्वा (लिम्वु) पदमकुमारी गुरुङ,सुनिताकुमारी चौधरी, उपेन्द्र प्रसाद घिमिरे र कृष्णकुमारी राई रहनु भएको एकीकृत समाजबादीका विद्यार्थी नेता वसिम आलमले जानकारी दिनु भयो।
सनाखत कार्य यही भदौ २२ गते ५ बजेसम्म हुने र त्यस सम्वन्धि सम्पूर्ण कागजात केन्द्रीय निर्वाचन आयोगमा पठाउने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिनु भयो।
सो अवसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै नेकपा एकिकृत समाजवादी नेता राजेन्द्र राईले वर्तमान प्रदेश सरकार अल्पमतमा परेकोले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताउनु भयो।
उहाँले भदौ २२ गतेसम्म थप सात देखि आठ प्रदेश सभा सदस्यहरुले एकिकृत समाजवादीमा आउने दावी गर्दै भदौ २३ गतेपछि सरकार निर्माणको प्रक्रिया शुरु गरिने जानकारी दिनु भयो।
नेता राईले प्रदेशका गठवन्धक दलहरुवीचको आपसी सहमतीमा मुख्यमन्त्री चयन गरिने भएकोले सङ्घीय सरकारको कुनै हस्तक्षेप नहुने बताउनु भयो।
सनाखत कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुमा ठूलो समुह उपस्थित रहेको थियो।
प्रतिक्रिया