निरुत्तरः लघुकथा

–मित्र उराठी गौतम अमरपुर गुल्मी हालः बुटवल २०७८ भदौ १४ गते १:३४ मा प्रकाशित

“आमा देऊ न पाँच हजार”- छविन्द्रले आमालाई पिरोलिरह्यो।
“हैन किन चाहियो पैसा ? अब ११ कक्षा पढ्न कति चाहिने हो ? कहाँबाट पुर्याउँ म ? कसरी जुटाउन सक्छु र ?” –आर्थिक अभाव दर्साउँदै आमा भुतभुताइन्।
“मेरो १० कक्षाको मार्कसिटमा नाम बिग्रिएछ।त्यो सच्याउन काठमाण्डौं जानु पर्यो।सच्याउने शुल्क,आउने जाने खर्च चाहियो नि।मैले फजुल खर्च गर्दिन के आमा।” –छविन्द्रले आमालाई सम्झाउँदै भन्यो।
“कहिले नदेखेको ठाउँ ? कसरी काठमाण्डौंको भेउ पाउँछस् ? ठूलो सहरमा एक्लै कतै हराइयो भने ?” –आमाले आशङ्का व्यक्त गरिन्।
“विवेकको पनि जन्म,मिति बिग्रिएको छ।ऊ र म सँगै जान्छौं।आँपारुखे नरेन्द्र दाइ काठमाण्डौं छन् भेटेर सहयोग लिन्छौं पीर नगर आमा।काम त जसरी नि गर्नु पर्यो नत्र त पछि झन दुःख पाइन्छ।” –आमालाई ढुक्क गराउन खोज्यो।
“आफ्नो नाम,जन्म मिति पनि कस्तो विगार्छौ र हो तिमीहरुले ? फाराम भर्दा आफै लेखेको त होला नि ? कि मास्टरले बिगार्दिए ?” –अघि देखि आमा छोराको सम्वाद सुनेका हजुरबाले आफ्नो खसखस पोखे।
“आफ्नो नाम जन्म मिति त हामीले किन बिगार्थ्यौं र ? सधै लेखेकै त हो।खै सरहरुले कम्प्यूटरमा भर्दा बिगार्नु भयो कि काठमाण्डौं अफिसका ठूला मान्छेले बिगारे ? थाहा भएन ” –अनभिज्ञता प्रकट गर्यो छविन्द्रले।
“काम अरुले बिगार्ने,दाम विद्यार्थीको जाने ? दुःख,तनाव विद्यार्थीले भोग्नु पर्ने ? यस्तो के काइदा हो ? त्यो त स्कूलले या त सरकारले व्यवस्था मिलाइदिनु पो पर्छ त,किन यत्रा केटाकेटीलाई दुःख दिनु ?” –हजुरबा जङ्गिए
निरुत्तर टोलाइरह्यो छविन्द्र।

–मित्र उराठी गौतम
अमरपुर गुल्मी हालः बुटवल

प्रतिक्रिया