महानगरले इ रिक्साको नविकरण गर्ने कार्य शुरु

इनेप्लिज २०७८ भदौ १० गते २२:०१ मा प्रकाशित

विराटनगर,१० भदौ।विराटनगर नगरपालिकाले नगरमा सञ्चालन हुने एक सय तीन पाङ्ग्रे इ रिक्सा(सिटी सफारी)लाई आजदेखि नयाँ इजाजत पत्र जारी गर्ने कार्य शुरु गरेको छ।

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन–२०७६ तथा प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली–२०७७ र विराटनगर यातायात व्यवस्था कार्य विधि– २०७७ वमोजिमे इ रिक्साको दर्ता तथा नविकरण, रुट इजाजत,जाँच पास लगायत सम्पूर्ण कार्य व्यवस्थापन महानगरपालिकाले शुरु गरेको हो यस अन्तर्गत प्रदेश यातायात व्यवस्था कार्यालयले जारी गरेको इजाजत पत्रको आधारमा विराटनगर ठेगाना भएको इ रिक्साहरुको नयाँ इजाजत जारी गरेको हो।

सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले इ रिक्साले नविकरण लगायतका कार्यका लागि सुनसरीको इटहरी जानु पर्ने झन्झटिलो कार्यको नगरले नागरिकको सुविधाको लागि अन्त्य गरेको बताउनु भयो।उहाँले स्वरोजगार रुपमा कार्य गरिरहेका नागरिकहरुको सुविधाका लागि आवश्यक थप सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।

महानगरभित्र सञ्चालन हुने इ रिक्सालाई जिल्ला ट्राफिक कार्यालय मोरङको समन्वयमा रुट इजाजतको व्यवस्था गरिएको छ।महानगरमा पाँच हजार इ रिक्सा सञ्चालन भएको अनुमान गरिएको छ।नगरले नविकरण गर्ने इरिक्साको नम्वर (विराटनगर ०१ ह ००१) हुने छ।

प्रतिक्रिया