विधाः कथा

इनेप्लिज २०७८ साउन २८ गते १०:०९ मा प्रकाशित

जीवनका उकाली ओरालीहरु पार गर्दै साथीहरुको लहडमा युरोप एउटा सानो देशमा पुगेकी हो सुमी।दुःखले होईन।सुखसयलको लालसाले पनि होईन।फगत स्वतन्त्रताको आशाले।यस्तो स्वतन्त्रता,जहाँ ऊ आफूले चाहे जस्तो गरी बाँच्न पाओस्।सासूससुरा लोग्ने,नन्दआमाजुहरुको कचिंगलबाट मुक्ति मिलोस्।अरुको निर्देशनमा बाँचीदिनु नपरोस्।

काठ्माडौंमा आफ्नै मोटरको स्टेरिङमा घुमाउने हातहरु अहिले युरोपका बसका डण्डीहरु समात्छन्।बस छुट्ला भन्ने हस्याङफस्याङमा अरु कुराको त होस पनि हुँदैन उसलाई।तैपनि आफ्नै कमाईको मोल नै अर्कै।महत्व नै बढी।अर्काको कमाईले मोटर चलाउनु भन्दा आफ्नो कमाईको बस चढाईमै स्वाभिमान देख्छे ऊ।

सुमीको दिनचर्या यो घर र उसको कार्यस्थलको सेरोफेरोमा मात्र घुम्छन्।उसको घरबेटी अर्थात् एउटा ६० नाघेको बुढो युरोपियन।एक्लै बस्छ ऊ यो घरमा। जन्मेर पाँच बर्षको उमेरको हुँदा उसका आमाबाबु लन्डन बसाई सरेका रहेछन्। पुरै जवानी उतै बिताएर बुढेसकालमा उसमा पनि आफ्नो देशको माया जागेछ।

घरबार,बुढी,छोरी सबै छोडेर ऊ आफ्नो जन्मस्थल फर्केको रहेछ।लन्डन नछाड्ने स्वास्नी र छोरीको ढिपीले गर्दा ऊ एक्लै आफ्नै देशमा मर्छु भनेर आएको रे!सुमीले त यस्ता वाक्यांशहरु नेपालीहरुको जनजिब्रोमा मात्र हुन्छन् भन्ने ठानेकी थिई । कताकता यो सोचाई त युरोपियनहरुसित पनि मेल खाँदो रहेछ।मर्ने बेलामा आफ्नै देश सम्झने प्रवृत्ति त्यहाँ पनि रहेछ।

यो सोझो बुढो मान्छेमा उसले आफ्नै बाबु भेटेकी छे।आजसम्म भेटेका मानिसहरुमा यति शान्त मनवा उसले भेटेकै छैन।रिस,राग,द्वेष जस्ता कुराहरुलाई नियन्त्रणमा लिन उसले पनि यहि घरबेटीबाट सिक्दैछै बिस्तारै।ऊ कहिल्यै रिसाउँदैन।चर्को आवाजले पनि बोल्दैन तर तर्क गरिरहन्छ।मिहिन आवाजमा तर्क गर्ने उसको स्वभाव अचम्मको छ।

युरोपियनहरु पनि अशिक्षित हुन्छन् भन्ने उदाहरण भेटेकी छे सुमीले यो बुढोमा । प्रविधिको प्रयोग गर्न पनि राम्रोसँग जान्दैन।पश्चिमा संस्कृति अनुसरण गरेर आफूलाई ठूलो ठान्ने नेपालीहरुको प्रवृत्तिमाथि प्रश्न तेस्र्याउन मन लाग्छ सुमीलाई ।आफ्नो धर्म संस्कृतिलाई केहि नठान्ने गल्ती उसले पनि गरेकै हो तर यहाँको जीवनशैली त झन् पट्यार लाग्दो छ।

कुनै पनि मानिसले एकपटक जब कुनै कुराको छवि बनाउँछ,त्यो सितिमिति परिवर्तन गरिहाल्न नसक्दो रहेछ।यो त संसारभरका मान्छेमा लागू हुँदो रहेछ।यो बुढोले पनि नेपालीहरुको बारेमा एउटा धारणा बनाएको रहेछ,सबै नेपाली गरिब नै हुन्छन् भनेर।

ऊ कहिल्यै मान्न तयार नै हुँदैन कि सुमीको पनि राजधानीमा घर, गाडी छ भनेर।सुखसुविधाका आधारभूत कुराहरु उसकै घरमा छन् भनेर।किनकी उसले पालेको धारणामा यी कुराहरु फिट हुँदैनन्।ऊ सधैं दुरदराजका सिमान्तिकृत नेपालीका वृत्तचित्रहरु हेर्दो रहेछ।भिडियोमा देखाईएका दृश्यहरुलाई मात्रै सहि मान्दो रहेछ।साँच्चै!मान्छेलाई आफ्ना ईन्द्रियहरुमा जति विश्वास अरुका कुराहरुमा कहाँ हुन्छ र ? क्यामेरामा कैद गरेर देखाउन कोसिस गरिएका कोणहरुबाटै ऊ पनि नेपाललाई हेरिरहेको छ।

ऊ यस्ता भिडियोहरु हेर्नमा अभ्यस्त छ,जहाँ दुःखका पराकाष्ठा देखाईएका छन्।जहाँ जनताका आङमा मैला अनि च्यात्तिएका कपडा छन्।नधोईएका हातहरुले निस्तो बासी ढिंडो खाएका देखाईएका छन्।सरसफाईका आधारभूत स्तर पनि कायम नगरिएका यस्ता भिडियोहरुले उसको दिमागमा पारेको छाप गहिरो छ।

ऊ मान्न तयार नै छैन कि नेपालीहरु पनि सम्पन्न हुन्छन्,नेपालमा पनि शहरहरु छन्, मानिसहरु शिक्षित छन् भनेर।काठ्माडौंसँग जोडिएका अलि अलि विकासका कुराहरुमा पनि विश्वास छैन उसलाई।ऊ शंका गर्छ सुमीले अनावश्यक रवाफ पो लगाएकी हो कि भनेर।हुन पनि गरिब देशका जनता भएपछि जुनै देशमा गएपनि उनीहरुले अलि हेयको दृष्टिकोणले हेरिहाल्दा रहेछन्।

उसले सुनेकी थिई नेपाली पासपोर्ट देखेपछि विदेशीहरु अविश्वासको नजरले ओल्टाई पल्टाई हेर्छन् भन्ने कुरा।धनी नेपालीहरुलाई गरिब विदेशीहरुले पनि हेपेका कुरा।अहिले विश्वास गर्न बाध्य छे ऊ।

आफूले आफैलाई ठिकठाक स्तरको मानेपनि सबै विदेशीको नजरमा चाँहि नेपालीहरुको हातमा गरिबी र अभावको झण्डा फहराईएको देख्दा रहेछन्।ठ्याक्कै सबै युरोपियनहरु धनी हुन्छन् भन्ने नेपालीहरुको मानसिकता जस्तै।गोरो छाला नेपालका सडकमा देख्ने बित्तिकै केटाकेटीले एक डलर मागेको स्मृति आउँछ सुमीका आँखा अगाडि।

सबैजना दुःख पाएरै मात्र कहाँ विदेशीन्छन् र ? सबैका उद्देश्य एउटै कहाँ हुन्छन् र ? विदेशिनुका पनि आ–आफ्नै अप्ठ्यारा र बाध्यताहरु हुन्छन् भन्ने यो बूढोलाई के थाहा ? ऊ लन्डनमा हुर्किबढेको भएपनि पुरानो मानसिकताको छ।उसको आफ्नै अंग्रेजी त्यत्ति राम्रो छैन,शुद्ध छैन तर पनि सुमीको अंग्रेजी बोलाईमा खोट लगाईरहन्छ।नेपालीले बोलेको अग्रेंजी शुद्ध हुँदैन भन्ने उसको धारणा उसले जे गरेपनि परिवर्तन गर्नै सकिन।

ऊ सुमीले बोलेका बिशुद्घ अंग्रेजी शब्दहरुलाई गलत भनेर ब्याख्या गर्छ अनि त्यसलाई आफै अपभ्रंस पार्छ।त्यत्ति गरेपछि आफूलाई विजयी भएको पाउँछ। उसको सोचमा सुमी पनि दुर्गम गाउँकी एक कम पढेलेखेकी आईमाई हो जो आफ्नो जीवनस्तर उकास्न पराईभूमिमा पसीना बगाउँदैछे।श्रम गरेको आयले काठ्माडौंमा रहेको उसको परिवार पालिएको छ भन्ने निचोड ऊ आफैले निकालेको छ।

सुमीलाई भने यसमा सफाई दिने चाहना पनि छैन।यस्तो कथा उसको व्यक्तिगत नभएपनि आम नेपालीको व्यथा त अवश्य हो।अधिकाशं नेपालीको भोगाईको कुरालाई ऊ एकजनाले जत्ति चिच्याएर होइन भने पनि त्यसको कुनै अर्थ छैन।आफू अपवादमा परे पनि बहुसंख्यक नेपालीको नियतिलाई सहर्ष स्वीकार्नु नै बुद्घिमानी लागेको छ उसलाई।

सुमी आफ्ना जीवनका धेरै पक्षहरु उसको अगाडि खोल्दिन । बरु बिचरा पात्र भएरै बाँचीदिन्छे।त्यो युरोपियन बुढोलाई के थाहा उसले प्रतिष्ठित स्कुल कलेजबाट शिक्षा आर्जन गरेका कुरा ? घरबार सबैबाट वाक्क भएका कुरा।यी भन्न पनि के नै जरुरी छ र ? नभन्दा बरु उसले दया मिसिएको माया त पाएकी छे।भन्दा त झन् धेरैभन्दा धेरै प्रश्नका सिल्सिला अघि बढ्नेछन्। उसलाई यी कुराहरुको चेतना छ।

एकदिन अफिसको काम सकेर घर फर्किंदा घरबेटी बुढा घरमा भेटिएन । कमन किचेन भएकाले खाना बनाउँदा त भेट भइरहन्थ्यो।त्यो दिन ऊ सुतिसकेको रहेछ।आलोपालो गरेर सबैले आ आफ्नो लागी खाना बनाउने प्रचलन थियो । अर्को फ्ल्याटमा बस्ने फिलिपिनोहरुले खाना बनाए तर बुढाको बारेमा कसैले सोधेनन्।

राती सुत्ने बेलामा उसलाई धेरै गाह्रो भएछ।ऊ छटपटिएर कराएको आवाजले सुमीलाई सुत्नै दिएन।आफ्नो बाउ सरहको मान्छेको छटपटाहट र पीडा हेरेर मात्र बस्न उसको आत्माले नै दिएन।उसले सोहि घरमा बस्ने अरु फिलिपिनोहरुलाई बोलाई।आँखै अगाडि एउटा बृद्घको दुखाईले उनीहरुलाई केहि फरक नै परेन। सुमीले उसलाई अस्पताल लग्नु पर्ने प्रस्ताव राखी तर कसैले थकानको बहाना बनाए।कसैले अरु नै बहानाहरु बनाए।

त्यसपछि सुमी एक्लैले उसलाई अस्पताल पु¥याई।उसको एउटा किड्नी बिग्रिसकेको रहेछ।हार्ट पनि फेल भएको जानकारी दियो डाक्टरले।अलिकति ढिला भएको भए उसलाई बचाउन नसकिने रहेछ।डक्टरले त अझै पनि थोरै मात्र आश भएको कुरा बताए।त्यसपछिका थुपै्र दिन उसले अस्पतालमै बस्नु पर्ने भयो।

बिरानो देशमा सुमी त एक्ली थिई नै, ती बुढा पनि एक्लो नै थियो।उसका कोहि थिएनन्।आफ्नी श्रीमती र छोरी हुँदा हुँदै पनि कोहि नभए जस्तो असहाय थियो ऊ पनि।यस्तो अवस्थामा उसलाई त्यसरी बेसहारा छोड्न सुमीको मनले पनि मानेन।बाध्यताले एक्लो बस्नु परे पनि उसमा आत्मियताको,संस्कारको,स्नेहको कुनै कमी चाँहि थिएन।उसको ह्दय यी कुराहरुले भरपूर थियो।

लगातार छ दिनसम्म उसले अस्पतालमा नै कुरीदिई।आफ्नो जागीरलाई नै दाउमा राखेर त्यो बुढाको सेवामा दिनरात एक गरिदिई।आफू सारसाउँदो हुँदा त कसको मद्दत चाहिन्छ र ? गाह्रो साह्रो पर्दा त हो नि एक अर्काको साथ र मद्दतको जरुरत पर्ने।अरुको सेवा गर्नु नै धर्म हो भन्ने संस्कार पाएकी सुमीलाई उसको सेवा गर्नु कुनै महाभारत थिएन।

ऊ आफै बिरामी भएकी भए त्यो बुढाले के गथ्र्यो थाहा थिएन तर सुमीले निस्वार्थ भावले नै उसको स्याहार गरेकी थिई।सातौं दिनमा लन्डनबाट उसका भाइ र बहिनी बल्ल आईपुगेका थिए।सुमीले त्यसरी आफ्नोपन देखाएको देखेर उनीहरु छक्क थिए।उनीहरुले आफ्ना दाजुको माया मारीसकेका रहेछन्। देखभाल गर्ने कोहि नहुनाले बाँचेकै भएपनि दाजु पक्कै जीवनको अन्तिम क्षणतिर होला भन्ने सोचाई राखेर उनीहरु आएका रहेछन्।

सुमीको रातदिनको सेवाले उसको स्वास्थस्थितिमा सुधार आएको देखेर उनीहरु खुसी त थिए नै।एउटा अन्जान व्यक्तिले परदेशमा आफ्नो जागीर नै दाउमा राखेर देखाएको सेवाभावले त उनीहरु झन् आश्चर्यचकित थिए।

मानवतालाई भन्दा भौतिकतालाई प्राथमिकता दिने उनीहरुको संस्कारभन्दा नितान्त फरक सुमीको बोलीव्यवहारले गर्दा उनीहरु नतमस्तक भएजस्ता देखिन्थे। स्वाभाविक रुपले नै सुमी आफैले उनीहरुबाट सम्मान कमाइरहेकी थिई।

यो घटनापछि घरबेटी बुढाले सुमीलाई हेर्ने दृष्टिकोण पनि बद्लिएको पाएकी छे।पहिले उसलाई गरिब देशको अशिक्षित प्राणी मात्र देख्ने आँखाले अब उसलाई एउटा संस्कारी अनि माया र दयाभावले ओतप्रोत भएकी मानिसको स्वरुप देख्न थालेको छ।

आजकल ऊ आफूले दोस्रो जीवन पाएकोमा कृतज्ञता व्यक्त गरिरहन्छ।सुमी र उसको संस्कारलाई सम्मान गर्न थालेको छ।त्यस्तो संस्कार सिकाउने उसका आमाबाबुको सोधपूछ गर्न थालेको छ।नेपालीहरु गरिब भएपनि सहयोगी भएको स्वीकार्न थालेको छ।यसैमा सुमीलाई सन्तोष मिलेको छ।परिवर्तन रातारात कहाँ सम्भव छ र ?

अहिले यी दुईबीच मानवताको नाता छ।जुन देशमा जन्मिएपनि, हुर्किएपनि आखिरमा जोडिने त मानवताकै नाताले हो।भावनात्मक सम्बन्ध र संस्कारले हो ।यी कुराहरु आफूमा निहित छैनन् भने संसारको जुनसुकै कुनामा पुगेपनि एक्लै नै परिन्छ।एक अर्कालाई आपत पर्दा असहयोग गर्ने आफन्त र साथीहरुभन्दा सहयोग गर्ने पराई नै सयौं गुणा जाती हुने रहेछ।

–मिरा गोतामे

 

 

प्रतिक्रिया