औद्योगिक अध्ययन केन्द्र

इनेप्लिज २०७८ साउन २३ गते १६:५९ मा प्रकाशित

विराटनगर,२३ साउन।पूर्व क्षेत्रको प्रख्यात उद्योगपति एवं समाजसेवी स्वर्गीय महेन्द्र गोल्छाको नाममा औद्योगिक अध्ययन केन्द्र स्थापना हुने भएको छ।

उद्योग संगठन मोरङले उद्योग र विश्वविद्यालय बीचको लिंकेज अभिवृद्धि गरी आर्थिक विकासका विविध आयामहरुमा अध्ययन अनुसन्धानका विभिन्न कार्यक्रमहरु संचालन गर्ने उद्देश्यले स्वर्गीय महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र संचालनमा ल्याएको छ।

पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा कार्यान्वयन गरिने यो औद्योगिक अध्ययन केन्द्रलाई मुलुककै आर्थिक एवं औद्योगिक क्षेत्रको नमुना सिकाई केन्द्रका रुपमा विकास गरिने लक्ष्यका साथ हिजो साँझ उद्योग संगठन मोरङले उद्योग र पूर्वाञ्चल विश्वविद्यालय वीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

हस्ताक्षर कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले औद्योगिक क्षेत्रमा अध्ययन अनुसन्धानको माध्यमबाट आर्थिक एवं औद्योगिक क्षेत्रमा प्राज्ञिकविज्ञहरुको ऐकेडेमिक ज्ञानलाई आर्थिक विकासमा उपयोग गर्ने उद्देश्यका साथै विश्वविद्यालय र उद्योग बीचको प्राज्ञिक एवं व्यवसायिक सम्बन्ध स्थापित गरी अध्ययन अनुसन्धान एवं सिकाईको प्रक्रियालाई अघि बढाउन केन्द्रले भूमिका निर्वाह गर्ने बताउनुभयो।

संगठनका पूर्व अध्यक्ष एवं वरिष्ठ उद्योगपति,समाजसेवी स्वं महेन्द्र गोल्छाको स्मृतिमा स्थापना गरिएको यस औद्योगिक अध्ययन केन्द्रले आर्थिक एवं औद्योगिक क्षेत्रमा प्राज्ञिक अध्ययन अनुसन्धान तथा नीति विश्लेषण गर्न विश्वविद्यालयका युवा अनुसन्धानकर्ताहरुलाई प्रेरित गर्ने विश्वास अध्यक्ष प्याकुरेलले व्यक्त्त गर्नुभयो।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा यादवराज कोईरालाले अनुसन्धानको माध्यमबाट उद्योगको समस्या पहिचान गरी नीति निर्माण तहमा सुझाव प्रस्तुत गर्न दुबै पक्ष्ँवीच भएको समझदारीले सहयोग पुर्याउने जानकारी दिनुभयो।सुदृढ आर्थिक एवं सामाजिक विकासका लागि नया नवउद्यमशीलतालाई समानान्तर रुपमा प्रबर्धन गर्दै लैजानु पर्ने धारणा राख्दै उपकुलपति कोईरालाले उद्यमी र प्राज्ञिक वर्गलाई अपनत्व हुने गरी केन्द्रले कार्यगर्ने बताउनुभयो।

अध्ययन अनुसन्धान केन्द्रका संयोजक एवं पूर्वाञ्चल विश्वविद्यालयका डिन फयाकेल्टि अफ म्यानेजमेन्ट डा.विजु थपलियाले केन्द्रले उद्योगको नीति निर्माण, नीतिगत बहस र पैरवी,उद्योगी र विश्वविद्यालय बीच अन्तरसम्वादको वातावरण तयार गर्न नया आयाम थप्ने धारणा राख्नुभयो।

स्व.महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्रको संयोजकमा प्राध्यापक डा विजु थपलिया,सहसंयोजकमा ईन्द्र खत्री (राजन) सदस्यमा युक्त्ति गोल्छा,प्राध्यापक देवी भट्टराई,प्रशान्त कुमार लालर तथा सदस्य सचिवमा संगठनका महानिर्देशक चुडामणि भट्टराई रहेका छन।

प्रतिक्रिया