गीत

शिब पलाँस २०७८ साउन २० गते २१:३४ मा प्रकाशित

मैले नदी तर्दा तर्दै तुइन काट्छौ कहिले
मेरो साँध मिच्छौ मैलाई गोली दाग्छौ कहिले
रवैया छ चर्को तिम्रो नियत छैन निको
कहिले दिन्छौ परिचय असल छिमेकीको ?

माटोमाथि आँखा गाड्छौ, पानीमाथि गाड्छौ
डर,धम्की देखाइ स्वार्थ पूरा गरि छाड्छौ
कहिले हिमाल दावी गर्छौ,कहिले बुद्द दावी
कसरी दिउँ बैगुनीलाई पटक पटक माफी ?

मित्रको दिल जलाएर कोही महान् हुन्न
फूलमा तरवार चलाएर कोही महान् हुन्न
झिक चाँडै मगजबाट अहम् भाव झिक
छिमेकीलाई छिमेकीको दर्जा दिन सिक।

– शिब पलाँस

प्रतिक्रिया