एसएसबीले तुइन काटेकाे जवाफ माग्दै दार्चुला प्रशासनद्वारा भारतीय समकक्षीसँग पत्राचार

इनेप्लिज २०७८ साउन १६ गते १०:१४ मा प्रकाशित

दार्चुला।दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर २ राप्लाको मालमा तुइन तर्ने क्रममा भारतीय सुरक्षा बल (एसएसबी) का जवानले तुइन काटिदिँदा खसेर महाकाली नदीमा केपत्ता भएका एक नेपालीको बारेमा दार्चुला प्रशासनले चासो व्यक्त गरेको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्लाधिकारीलाई गम्भीर ध्यानाकर्षण भएको भन्दै पत्राचार गरेको छ।घटनाबारे छानबिन गरी आवश्यक कारबाहीका लागि प्रमुख जिल्ला अधिकारीले भारतको पिथौरागढ जिल्लाका समकक्षी आनन्द स्वरुपलाई पत्राचार गरेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीले बताए।

बेपत्ता भएका व्यक्ति भने अझैँ भेटिएका छैनन्।ब्याँस गाउँपालिका वडा नम्बर २ मालका स्थानीय वर्ष अन्दाजी ३५ का जयसिंह धामी तुइन तरेर भारततिर जाने बेलामा हिजो भारतीय सुरक्षा बल ९एसएसबी० का जवानले तुइन काटिदिँदा ताक्लोसहित महाकाली नदीमा खसेको प्रत्यक्षदर्शी विक्रम रोङकलीले बताए।

धामी तुइन तर्ने बेला प्रत्यक्षदर्शीहरु विक्रम रोङकली,अनिता धामी र कल्यान सिंह धामी नेपालतिर थिए।ओर्लिन एक दुई पाइला मात्रै बाँकी रहँदा त्यहाँ पुगेका दुई जना एसएसबीका जवानले तुइन काटिदिएको प्रत्यक्षदर्शीको भनाइ छ।

धामी महाकाली नदीमा बेपत्ता भएसँगै दुबै जना एसएसबीका जवान घट्नास्थलबाट भागेको प्रत्यक्षदर्शीको भनाइ छ।कोही खाद्यान्न ल्याउन भारत जाने र कोही सदरमुकाम खलङ्गा आउने कामले तुइन तरेर भारतको बाटो प्रयोग गर्ने गरेका छन्।

५÷६ जना तुइन तरेर पारिपुगिसकेका थिए।धामी महाकाली नदीमा केपत्ता भएको एकिन भए पनि घट्ना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले बताए।

नेपालतिरको माल र भारतको गस्कु क्षेत्रमा यसअघि नै झोलुङ्गे पुल निर्माणको ठेक्का भई निर्माण कार्य हुरु भएपनि हालसम्म पुल निर्माण हुन नसक्दा तुइनको जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय शिक्षक हरकसिंह कार्कीको गुनासो छ ।

यसैबीच घटनाको छानबिन गर्न गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा छानबिन समिति गठन गठन गरेका हुन् ।

समितिमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेल, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदी र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी सदस्य छन्।

गृहमन्त्री खाँणले जतिसक्दो छिटो सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ।

प्रतिक्रिया