चोरीडकैतिमा सङ्लग्न छ जना हातहतियार सहित पक्राउ

इनेप्लिज २०७८ साउन १३ गते २३:३७ मा प्रकाशित

विराटनगर,१३ साउन।मोरङको सुन्दरहरैंचा–१० त्रिवेणी चोकस्थित खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा हातहतियार देखाई चोरी डकैतीको प्रयास गरेको आरोपमा छ जनालाई प्रहरीले पक्राउ गरि आज यहाँ सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि गएको साउन १ गते एसएमजी लगायतका हातहतियार देखाएर सातजनाको समुहले उक्त ज्वेलर्स लुटपाटको प्रयास गरेपनि असफल भएर फरार भएका मध्ये छ जनालाई पक्राउ गरेको जानकारी दिएको छ।लुटपाटमा सङलग्न रहेको आरोपमा पक्राउ पर्नेहरुमा संखुवासभाको सभापोखरी–४ घर भई सुनसरीको इटहरी उपमहानगरपालिका–२० बस्ने ३९ वर्षीय प्रकाश भन्ने चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका–१ का ४५ वर्षीय डाइमण्ड भन्ने प्रमोद चौधरी, संखुवासभा सभापोखरी गाउँपालिका–६ बाह्रविसे घर भई हाल इटहरी–२० बस्ने ३० वर्षीय चिरञ्जिवी राई,मोरङको सुन्दरहरैंचा नगरपालिका–५ का २२ वर्षीय मिशन राई रहेका छन्।

यसैगरी भोजपुरको पौवादुम्मा गाउँपालिका–३ घर भई इटहरी–२० मा डेरा गरी बस्ने ३० वर्षीय नगेन्द्र राई र मोरङको सुन्दरहरैंचा–७ का ३१ वर्षीय सन्तोष राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक जनार्दन जिसी बताउनु भयो।पक्राउ परेका मध्ये चन्द्रबहादुर र प्रमोद उक्त घटनाको मुख्य योजनाकारका रुपमा देखिएको प्रारम्भिक अनुसन्धान खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले रुखको टोड्का लुकाएका हतियारहरु एमएमजी,त्यसको म्याग्जिन एक थान र गोली ६२ राउण्ड,अटोमेटिक पेस्तोल एक थान र त्यसको गोली दुई राउण्ड,कटुवा पेस्तोल एक थान,त्यसमा समेत लाग्ने थ्रीनटथ्री राइफलको गोली चार राउण्ड र दुईथान सञ्चार सेट बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनु भयो।यस्तै प्रहरीले लुटपाटमा प्रयोग गरिएको छ थान मोटरसाइकल समेत बरामद गरेको छ।

लुटपाटमा सङलग्न रहेका एकजना पक्राउ पर्न बाँकी रहेको प्रहरीले जनाइएको छ।पक्राउ परेकाहरु विरुद्ध चोरी डकैति र हातहतियार तथा खरखजना महल अन्तर्गत कानुनी कारवाही अघि बढाइने प्रहरीले जनाइएको छ।

प्रतिक्रिया