को हुन् गुरु ?

दुर्गा लोहनी २०७८ साउन १२ गते २२:३१ मा प्रकाशित

गुरुर्ब्रह्मा गुरुर्विष्णु: गुरुर्देवो महेश्वर: ।
गुरु:साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नम: ।।

गुरु ब्रह्मा हुन्,गुरु विष्णु हुन् अनि गुरु महेश्वर अर्थात् शिवजी हुन् र गुरु नै साक्षात परब्रह्म हुन्।यस्ता गुरुलाई नमस्कार छ।अर्थात् यसको तात्पर्य भनेको गुरु नै ब्रह्मा,विष्णु र महेश्वर जस्ता पुजनीय छन् र यस्ता परब्रह्म स्वरूप गुरुलाई नमन छ।गुरु त्यो नाविक हुन् जसले अज्ञानरुपी सागरबाट ज्ञानरुपी नाउमा चढाएर संसारबाट तारिदिन्छन्।अर्थात् अज्ञानरुपी अन्धकारलाई हटाएर ज्ञानरुपी ज्योतिले उज्यालो छरिदिन्छन्।त्यसैले हामीलाई सदैव सत् मार्गमा हिँड्न प्रेरित गर्ने गुरुहरु हाम्रा लागि परम पूज्य हुनुहुन्छ।त्यसैले सर्वप्रथम समस्त सत् गुरुहरुमा दुई हात जोडेर हार्दिक नमन छ।

अब को हुन् त गुरु ? अनि कसलाई मान्ने गुरु ? मानिसको सबैभन्दा पहिलो पाठशाला भनेको उसको आफ्नो घर तथा परिवार हो।अनि प्रथम गुरु उसका आमा-बा हुनुहुन्छ।आमा बुबाले नै हामीलाई खान,हिँड्न सिकाउनुको साथै सधैं सत् कर्म गर्न पनि सिकाउनु हुन्छ।अझ विशेषगरी खान,बोल्न तथा हिँड्न सिकाउने र हामीलाई असल आचरण सिकाउने सबैभन्दा पहिलो गुरु त आमा नै हुनुहुन्छ।अनि हामीलाई कर्तव्य पथमा अगाडि बढाउन नैतिक तथा आर्थिक रुपमा सहयोग गर्ने बुवा हाम्रा गुरु हुनुहुन्छ।त्यसपछि स्कुल तथा क्याम्पसमा हामीलाई अक्षर चिनाउने देखि लिएर हामीलाई एउटा सक्षम व्यक्ति बनाउन शिक्षाको ज्योति छर्ने हाम्रा शिक्षक तथा शिक्षिकाहरु सबै हाम्रा पूजनीय गुरुहरु हुनुहुन्छ।यसरी जीवनमा गुरुहरुको संख्या क्रमशः बढ्दै जान्छ।

देवताका गुरु बृहस्पति थिए भने दानवका गुरु शुक्राचार्य थिए जसले सधैं आफ्ना शिष्यहरुलाई मार्ग दर्शन गरिरहे।तर गुरु ती मात्र होइनन् कि जसले हामीलाई मार्ग दर्शन गराउँदछन्,गुरु ती पनि हुन् कि जसले हामीलाई अप्ठ्यारोमा पार्छन् र सधैं खुट्टा तानिरहन्छन्।अनि पो अप्ठ्यारो परिस्थितिलाई सामना गरेर अगाडि बढ्न सिकिन्छ।गुरु ती पनि हुन् जसले हामीलाई लडाइदिन्छन्।किनकि नलडिकन उठ्न पनि त सिकिँदैन नि !। त्यसैले यस्ता किसिमका संघर्ष गर्ने अवसर दिलाउने पनि एक किसिमका गुरु नै हुन्।यस प्रकारका गुरुबाट पनि ज्ञान प्राप्त गरेर अगाडि बढ्नु पर्छ।महाभारतमा पनि भगवान श्रीकृष्णले चौबीस प्रकारका गुरुहरुको व्याख्या गर्नुभएको छ।

यस अनुसार हामीले जो कोहीबाट पनि शिक्षा प्राप्त गर्‍यौं भने ती सबै हाम्रा गुरु हुन आउँछन्।हामी हिँड्ने क्रममा सबै राम्रो कुरा र राम्रो मान्छेसँग मात्र भेट हुनु पर्छ भन्ने पनि छैन।फरक यत्ति हो,राम्रो मान्छेसँग भेट भयो भने सजिलोसँग हिँड्न सकिन्छ।दुःख के हो भन्ने कुरा बुझ्न पाईँदैन।तर दुःख कष्ट सहेर नै जीवनको वास्तविकता बुझ्न सकिन्छ।यदि नराम्रो कुरा नहुने हो भने राम्रो कुराको महत्त्व पनि त थाहा हुँदैन।जब नराम्रो कुरा अर्थात् नराम्रो मानिससँग भेट हुन्छ ,त्यसबाट हामीलाई आफैंले ज्ञान प्राप्त गर्ने अवसर मिल्छ।त्यसैले त्यस्ता व्यक्ति पनि हाम्रा गुरु हुन्।जसले हामीलाई झन् मजबुत बनाएका हुन्छन।

अनि जीवनमा अर्को किसिमको गुरु पनि भेटिन्छन्।यदि तपाईंले आफ्नो सबै काम छोडेर अरुको लागि मरिमरि दौडधुप गरेर कसैलाई राम्रो गरिदिनु हुन्छ र पछि तिनैले आफ्नो काम सल्टे पछि तपाईंलाई नै नराम्रो देख्छन् भने तिनलाई पनि गुरु मान्नुपर्छ।किनकि उनीहरूबाट तपाईंले आफ्नो काम बिताएर अरुको लागि दौडनु हुन्न भन्ने शिक्षा पाउनु भएको हुन्छ र अबदेखि पहिलो प्राथमिकतामा आफुलाई नै राख्नुहुन्छ।फेरि अर्को थरी चम्चे प्रकृतिका गुरु पनि हुन्छन्।त्यस्ताले यताको कुरा उता अनि उताको कुरा यता लगाएर अरुलाई फटाएर आफुले आनन्द लिन्छन् र जता खान पाइन्छ अन्त्यमा त्यतै लाग्छन् र सम्बन्ध नै बिगारिदिन्छन् ।त्यस्ता एकमुठी सागमा बिक्ने चम्चे गुरुबाट “आफ्नो भित्री कुरा कसैलाई भन्नू हुन्न” भन्ने कुराको ज्ञान पाइन्छ।अनि विभिन्न यातना दिएर त्यसबाट मीठो शब्दालंकार बुन्न अवसर दिने पनि अर्को प्रकारका गुरु नै हुन्।यसरी जीवनमा गुरुहरुको सख्या बढ्दै जान्छ,मात्र आफुले त्यसको अनुभुती गर्न सक्नु पर्छ।

फेरि सबै जना खाडल खन्ने मात्रै हुँदैनन्।कोही कोही त यति असल हुन्छन् कि विचलित भएको मनलाई सान्त्वना दिएर तिनै खाडल पुर्न सिकाउने र काँडालाई छलेर अगाडि बढ्न हिम्मत दिने खालका पनि हुन्छन्।उहाँहरु प्रति जति नै शीर झुकाए पनि कमै हुन्छ।तिनै महामानवले सत् मार्ग देखाइदिनु हुन्छ।जिन्दगीमा जस्तोसुकै परिस्थितिमा पनि हरेस नखाइकन अगाडि बढ्न सधैं प्रेरणा दिनुहुन्छ।साँच्चै नै त्यस्ता असल गुरु,अनि आमाबुबा,स्कुल कलेजका शिक्षक,शिक्षिका र सम्पुर्ण शुभ चिन्तक प्रति सत् सत् नमन छ।

(यो वर्षको गुरु पूर्णिमा यही साउन नौ गते परेको थियो )

-दुर्गा लोहनी

 

 

 

प्रतिक्रिया