एउटा हातमा बच्चा, नि अर्को हातमा झोला बोकेर झमक्क साँझमा ऊ माइतीको आँगनमा आइपुगी।”ए,छोरी आइपुगिछ।खबर गरेको भए भाइलाई लिन पठाउँथें नि” उसकी आमाले भनिन्।ऊ चुपचाप केही नबोली झोला पिँढीमा बिसाई र बच्चालाई भूईंमा राखी र आफू पनि थचक्क त्यहीँ बसी र आँखा भरी आँसु पारी। झमक्क साँझको मधुरो उज्यालोमा उसकी आमाले त्यो आँसु देखिन् कि देखिनन् कुन्नि ? तर उसको गह्रुङ्गो बसाईबाट पक्कै पनि केही गडबड छ भन्ने लख काट्न उनलाई गाह्रो भएन।
यो भन्दा पहिला पनि यसरी नै गह्रौं मन र आँखाभरी आँसु लिएर ऊ त्यो आँगनमा नआएकी त होइन।पटकपटक उसले घरमा विभिन्न यातना सहेको कुरा आमालाई थाहा थियो।अब फेरि के भएछ भन्ने सोचेर अमिलो मन पार्दै उसकी आमाले उसको टाउकोमा हातले सुमसुम्याउँदै सोधिन्,” नानी के भयो ? किन केही नबोलेकी?” भक्कानिएको उसको मनको बाँध आमाको न्यानो स्पर्शले छताछुल्ल भएर फुट्यो।दुबै आमाछोरी निकै बेर अंकमाल गरेर रोइरहे।आमाको मुखबाट रुन्चे आवाज निस्क्यो,” कस्तो घरमा परिछस् तँ ?”
बेलुकीको खानपिन पछि उसले आफ्नो मनको गाँठो फुकाउन थाली,” आमा! अब म त्यो घरमा बस्न सक्दिन।सहनुको पनि सीमाना हुन्छ आमा,अब मेरो मनले त्यो सीमाना नाघिसक्यो।म त सधैंको लागि त्यो घर छोडेर आएको।” छोरीको यस्तो कुराले आमाको मन कति रोयो,त्यो त कि उनैलाई थाहा होला कि त भगवानलाई थाहा होला।तैपनि छोरीलाई सम्झाउने किसिमले आँखामा आइसकेको आँसु लुकाएर भनिन्,” त्यसो भन्नू हुन्न छोरी ।यसरी घर छोडेर हिँड्नु हुँदैन। जोरीवैरीले के भन्लान् ? बिहे भएकी छोरी माइत बस्दा हामीलाई पनि समाजमा गाह्रो हुन्छ।” उनले फेरि भनिन्,”अब दुई चार दिन यहीँ बस।तिम्रो नि मन अल्लि हल्का हुन्छ।बरु बुबा आफैं पुर्याउन जानुहुन्छ।हेर,बुबाको पनि समाजमा कत्रो इज्जत छ।तिमीलाई पनि गाह्रो हुन्छ।” उसकी आमाले भन्दै गइन् ऊ सुनीरही।
हुन त उसकी आमाले पनि नराम्रो कुरा भनेकी त होइनन्।तर जतिजति आमाका कुरा सुन्थी उतिउति आफ्नो लागि माइतीमा ठाउँ नभएको महसुस गर्थी र मौन रहन्थी।उसलाई पनि त सधैंको लागि माइत बस्ने रहर कहाँ हो र? घरमा आफुले जति राम्रो गरे पनि नभए पछि बाध्यताले माइत आएकी थिई।पटकपटक घरकाले उसलाई यातना दिएका थिए।अनि त्यही यातनाको विरुद्ध विद्रोह गर्न माइतीको आँगनमा आएकी थिई।
उसले आशा राखेकी थिइ कि,”छोरी,तँ पनि हाम्रै सन्तान होस्।तँ यहीँ बस्।आफ्नो बच्चाको लागि केही गर,हामी साथ दिन्छौं।अब तैंले अन्यायको विरुद्धमा आवाज उठा।अन्यायको बिरोध गर्दा इज्जत जाने होइन,झन् बढ्छ।” तर यो त उसको मनको कल्पना मात्रै थियो।यहाँ त उसले घरको कुरा बाहिर ल्याए इज्जत जाने भयो।उसले चुपचाप सहेर बसि भने दुबै घरको इज्जत रहने भयो।उसले केही सोच्न सकिन।हिजोसम्म उसले टेक्दा फूल फुले जस्तो हुने उसको माइतीको आँगन आज घर छोडेर आएको भनेपछि एकाएक फुँङ्ग उडेजस्तो हुने रहेछ।उसलाई बाउआमाले केबल हिम्मत मात्रै दिएको भए उसले केही गरेर देखाउने कत्रो अठोट गरेकी थिई।थाहा छैन किन बारम्बार उसलाई संघर्ष गर्न होइन सहन मात्र सिकाइन्छ ?
कति स्वार्थी रहेछ यो संसार।दुःखमा साथ नपाउँदा उसलाई असह्य पीडा भयो।अब कहाँ जाउँ,के गरौं? उसले आफ्नो लागि सबै बाटो बन्द भएको महसुस गरी। फेरि पनि घर गएर त्यो यातना सहने हिम्मत उसमा आएन।किनकि उसको पक्षमा उसको श्रीमान समेत थिएन।थाहा थिएन उसलाई किन यस्तो गरिएको थियो ? एउटै आशा रहेको माइतीमा पनि उसले दुई चार रात मात्रै बास पाउने रहिछे।उसको मन अति नै दुख्यो।कसैले नदेख्ने गरेर गहभरी आँसु पारी र एउटा गम्भीर निर्णय गरी।
भोलिपल्ट बिहानै निदाइरहेको आफ्नो बच्चाको मुख एकतमासले हेरिरही।उसको आँखाबाट वर्षा भइरहेको थियो।अनि बच्चालाई अंकमाल गरेर चुम्बन गरिरही। त्यसपछि आफू नअट्ने ठाउँमा यो अबोध कहाँ अट्ला र भन्ने सोचेर काखमा बच्चा च्यापेर सुटुक्क बाहिर निस्की।अब कहाँ जाने ? उसको लागि सबै विकल्प सकिएका थिए।अनि हिजो गरेको निर्णय पूरा गर्न तिर लागी।
एकछिनमा खोलाको किनारमा खैलाबैला मच्चियो,” कठै ! यति सानो बच्चा च्यापेर पानीमा हामफाल्ने को होला?” उता छोरी खोज्न निस्केका बाउआमाको आँखा त्यतैतिर पुग्छन्।आफ्नी छोरी पिठ्युँमा बच्चा च्यापेर…..! त्यो देखेर उसकी आमा त्यहीँ बेहोस हुन्छिन्।सारा गाउँले जम्मा हुन्छन्।यसरी मर्न बाध्य पार्नेलाई छोड्नु हुँदैन…!!!
-दुर्गा लोहनी
प्रतिक्रिया