लघुकथाः लोसे आइमाई

-मित्र 'उराठी' गौतम, अमरपुर-गुल्मी २०७८ साउन १ गते ९:४८ मा प्रकाशित

ससुरालीबाट घर फर्कने बेला सासुआमाले रातो टीका लगाइ ज्वाँइ विपिन र छोरी मनिषालाई विदाइ गर्नु भयो।मनिषाले आफ्नी सानी नानी बोकेर विपिनको पछि पछि लागिन्।

वर्षाको मौसम पहाडको उकाली ओराली काट्दै साँझ पर्नु अघि नै उनीहरु घर पुगे।घर पुगेपछि “कस्तो थाकियो खै चिसो पानी पिलाऊ मनिषा” भन्दै विपिन पिँढिको खाटमा पल्टियो।मनिषाले नानीलाई भुइँमा राख्दै घरको ढोका खोलिन् र भित्रबाट चिसो पानी ल्याएर विपिनलाई दिइन्।

“अब एक कप मिठो चिया पनि खुवाऊ”- विपिनले भन्यो।
केही क्षण सुस्ताएर चिया पिएपछि विपिन यसो छेँडातिर साथीभाइहरु भेट्न निस्कियो।साथीहरुसँग गफ मार्दै गर्दा रात परिसकेकोले विपिन घर फर्कियो।घरमा आउँदा नानी पिँढिको खाटमा बसेर रोइरहेकी थिइ,भित्र चुलोमा धुवाँ पुत्याइरहेको थियो सायद वर्षाले भिजेका चिसा दाउरा भएर होला मनिषा फुफु गर्दै आगो फुक्दै थिइन्।

“हैन यो आइमाई कस्ती लोसे ? अझै सम्म पकाइसकेकी पनि छैन्,यहाँ आफूलाई कस्तो भोक लागि सक्यो,यतिबेला सम्म के हेरेर बसेकी होलि ?” विपिन रिसले भुतभुताउँदै सुर्ति मुखमा च्यापेर पिच्च थुक्यो।

-मित्र ‘उराठी’ गौतम, अमरपुर-गुल्मी

प्रतिक्रिया