महाभारतकालीन रहेको विश्वास गरिएको शिवलिङ्ग जमिनमा भासियो

सञ्जय साह मित्र,रौतहट २०७८ असार २८ गते २२:०३ मा प्रकाशित

सञ्जय साह मित्र,रौतहट -रौतहटको समनपुरमा रहेको प्राचीन महत्वको शिवलिङ्ग जमिनमा भासिएको छ।आइतवार दिउँसो पूजा गर्दा गर्दैको अवस्थामा शिवलिङ्ग सतह भन्दा करिब डेढ फिट तल जमिनमा भासिएपछि स्थानीयबासीमा त्रास देखिएको छ।शिवलिङ्ग भासिनु,चर्किनु तथा टुटफुट हुनु अमंगलको संकेत भएको कतिपयको भनाइ रहेकोले कतै कुनै अनिष्ट हुने डरले स्थानीयबासीमा त्रास रहेको वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी गराएका छन्।

गढीमाई नगरपालिका १ समनपुरका ३६ वर्षीय पप्पु भन्ने अनिशकुमार मेहताले आइतवार दिउँसो साढे दुई बजेतिर पूजा गरिरहेको अवस्थामा नै शिवलिङ्ग भासिएको हो।भाकलअनुसार मेहताको परिवारले पूजाआजा गरी जलाभिषेक गरेका थिए।त्यसपछि गाईको घीउ शिवलिङ्गमा दल्न थालेपछि पाँचौँपटक दल्न खोज्दा अचानक शिवलिङ्ग जमिनमा भासिएको मेहताले बताएका छन्।घीउ मल्दामल्दै शिवलिङ्ग भासिएपछि आफू एक छिन डराएको र डराएर मन्दिरबाट बाहिर आई पूजा गराउने पण्डिजी,माली तथा हजामलाई सुनाउँदा तत्काल नपत्याएको बताउँदै सबैले देखेपछि विस्मित भएको मेहताको भनाइ छ।

मन्दिर वरिपरिको जमिनको सतहभन्दा करिब तीन फिट गहिरो स्थानमा शिवलिङ्ग रहेको थियो।शिवलिङ्ग रहेको सतहभन्दा शिवलिङ्ग करिब डेढ फिट अग्लो रहेको स्थानीयको भनाइ छ।अहिलेसम्म यस्तो घटना नसुनिएको तर अचम्मको घटना भएकोले स्थानीयहरु त्रासमा रहेका छन्।

मन्दिरका पुजारी शंकर गिरीले शिवलिङ्ग भासिएको घटना सुनेर आफू करिब एक घन्टापछि मात्र आइपुगेको बताएका छन्।हरेक दिनझैँ आइतवार पनि बिहान ६ बजे मन्दिरमा नियमितरुपमा पूजा गरेजस्तै पूजा गरेर काम विशेषले आफू बाहिर गएको र दिउँसो शिवलिङ्ग भासिएको घटना आफूले सुनेको बताएका छन्।

करिब एक महिना पहिले गत जेठमा आफूले सपनामा शिवजीले यहाँ नबस्ने भनी बताएको पनि पुजारी गिरीले बताएका छन्।सपनामा भगवान शिवले आफूलाई “अब हम जारहल छी,इहाँ नरहम”भनेर बताएको भन्दै पुजारी गिरीले सपनामा आफूले शिवजीलाई “पुरान गाँओ समाज छोडके नजाएलजाओ” भनेर अनुरोध गरेको पनि बताएका छन्।

स्थानीय कामेश्वर सहनीले झारखन्डको बाबाधामका एक पन्डालाई सम्पर्क गरी घटनाको विषयमा जानकारी गराउँदा भासिएको शिवलिङ्गलाई कतै नदीमा विसर्जन गरेर विधिपूर्वक नयाँ शिवलिङ्ग प्रतिष्ठापन गर्नुपर्ने सल्लाह पाएको बताएका छन्।तर अझै चार पाँच दिनसम्म भासिएको शिवलिङ्गलाई नखन्न तथा अरु केही पनि नगर्न पुजारी गिरीले सल्लाह दिएका छन्।दुई चार दिनमा यस विषयमा आफैं आफूलाई केही जानकारी आउने बताउँदै गिरीले यो घटना अकल्पनीय भएको बताएका छन्।

शिवलिङ्ग भासिएको खबर सुनेर मन्दिरको नजिकै घर रहेको एक महिलाले मोबाइलमा फोटो खिच्दा बेग्लै आकृति देखिएपछि गाउँमा त्रास फैलिएको हो। शिवलिङ्गको फोटो खिच्दा भित्तामा बन्द गरिएको अवस्थाका दुई आँखाको आकृति आएको देखिएको छ।फोटो देखेर महिला आत्तिएका थिइन् र आँखाले देख्दा भने केही पनि देखिएको थिएन।लगत्तै अन्य मानिसले फोटो खिच्दा पनि आँखाको त्यो आकृति नदेखिएको स्थानीयको भनाइ छ।महिलाले खिचेको उक्त फोटो चारैतिर भाइरल भइरहेको छ।

अतिप्राचीन मन्दिर भएकोले घटनाको विषयमा पुरातत्व विभागलाई पनि जानकारी गराउन खोजिरहेको गढीमाई नगरपालिका २ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठको भनाइ छ।साथै धार्मिक क्षेत्र मुख्य गरी शिवको मन्दिर भएको र यस घटनाको विषयमा जानकारी राख्ने धार्मिक–आध्यात्मिक व्यक्तिहरुसित सम्पर्क गरिरहेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ।

समनपुरको महादेव मन्दिरलाई अतिप्राचीन मानिन्छ।किंवदन्तीअनुसार बाह्र वर्षको बनवास सकिएपछि एक वर्षको अज्ञातबास यहीबाट सुरु गरेका थिए।अज्ञातबास प्रारम्भ गर्न पाण्डवहरुले बनाएको सुरुङमा पसेको र सुरुङलाई बन्द गर्न त्यसको मुखमा ढुंगा राखेका थिए।त्यही ढुंगालाई कालान्तरमा स्थानीयले महादेव भनी पूजा गर्न थालेका थिए।केही दशक पहिलेसम्म हरेक वर्ष दर्जनौँको संख्यामा थारु, कछडियालगायतका जातिहरुको बिहे हुने गरेको मन्दिरमा जति धेरै जल चढाए पनि कहाँ जान्छ भनी अत्तोपत्तो नहुने गरेको स्थानीयको भनाइ छ।सुरुङको मुखमाथि शिवलिङ्ग रहेकोले पानी सिधै जमिनमुनि जाने गरेको विश्वास अहिले पनि स्थानीयमा रहेको छ।वरपरको जमिनको सतहभन्दा गहिरो स्थानमा रहेको शिवलिङ्गमा जतिसुकै जल चढाउँदा तथा धुँदा र स्नान गराउँदा पनि पानी जमिनमुनि नै जाने गरेको छ।

 

प्रतिक्रिया