त्यो रात एउटा बाच्छोको रोदनले निद्रा नै लागेन।आमाले भन्नुभयो "फेरि कुनचाहिँले गाईको बाच्छोलाई माउ छुटाएर यहाँ ल्यायो ।" कति स्वार्थी हुन्छ मान्छेको जात ? मान्छे जति स्वार्थी र मान्छे जति पापी यो संसारमा कुनै प्राणी छैन।आफ्नी आमाको दूध खान पाउनु र न्यानो स्पर्शमा बस्न पाउनु उसको पनि अधिकार थियो होला।तर अफशोच! मान्छेको बल,अहंकार र स्वार्थले उसको त्यो अधिकार खोस्यो।यहाँ मान्छे माथी अत्याचार हुँदा त अत्याचारीले सजायँ पाउन छोडिसके भनें त्यो पशु माथीको अत्याचारमा कसले आवाज उठाउने ?
रातको अँध्यारोमा त्यस बाच्छोको एकोहोरो "बाँ बाँ "आवाज सुन्दा सुन्दा कतै उसले "आमा आमा " भनेर बोलाएको हो कि
जस्तो भान हुन्थ्यो।तर जतिसुकै कराए पनि उसकी आमाले उसको त्यो चीत्कार सुन्न सक्दैनथी।अनि उसको नजिक आएर उसलाई ममताले चाट्न सक्दैन थिई।अब उसको यो जीवनमा आफ्नी आमासँग कहिल्यै भेट हुँदैन।ओहो ! उसको दिमागले अझ यो कुरा समेत बुझ्ने भए कति आत्तिँदो हो ? उसको त्यो आवाजमा यति पीडा र क्रन्दन थियो कि जसको कुनै हिसाब थिएन।तर ऊ भएको संसार मस्त निद्रामा थियो,मात्रै ऊ निरीह भएर एक्लै कराइरहेको थियो ।
आखिर बच्चा त बच्चा नै हो चाहे मान्छेको होस् अथवा पशुको ! उसलाई आफ्नी आमाको न्यानो माया चाहिन्छ।तर स्वार्थी मानवले कहाँ त्यस्तो सोच्छ र ? मान्छेलाई त यो संसार सबै आफ्नो एकलौटी जस्तो लाग्छ र आफुभन्दा निरीह माथि प्रहार गरिरहन्छ।उसले किन सोच्न सक्दैन कि त्यही बाच्छोको कारणले उसले त्यस गाईको दूध खाएर अझ बलियो हुन पाएको छ र त्यही दूध बेचेर धनी हुन पनि पाएको छ।उसले किन सोच्दैन आफुले पालेका जनावरलाई यसरी बाटोमा मिल्काउन हुन्न भनेर…?? वास्तवमा यसरी गाईका बाच्छा बाटोमा ल्याएर छोड्नु के उचित हो र ?
अझ त्यस मान्छेले बाच्छो फर्केर आउन नसकोस् भनेर गाडीमा हालेर कुनै टाढाको ठाउँमा लगेर छोड्छ।अनि घर फर्केर फेरि त्यही गाईको पूजा गर्छ र दूध लगेर मन्दिरमा चढाउँछ र धर्म गरें भनेर नाक फुलाउँछ।अनि अब त बाच्छाको भाग दूध समेत बेच्न पाएँ भनेर आम्दानीको समेत हिसाब गर्न थाल्छ।मनमनै सोच्छ, "भैसीको पाडो भएको भए काट्न दिन हुन्थ्यो,गाईको बाच्छो काट्न दिनु भएन बाटोमा नछोडेर के गर्नु त ?" उसलाई आफुले ठिक गरें भन्ने लाग्छ यता बाच्छोको रोदन भए जस्तै उता गाईको पनि क्रन्दन कम पिडादायी छैन होला।आफ्नै आँखा अगाडि आफ्नो बाच्छो लगेको देखेर "बाँ बाँ" गरेर कराउँदै टुलुटुलु हेर्नु शिवाय अरु के नै गर्न सक्छ र ? आफ्नो बाच्छो लगेको बाटो हेरेर दुई चार दिन कराउँदो हो।अनि दूध दिने बेलामा बाच्छो खोजेर दूध दिन मानेन भने दुई चार लठ्ठी पनि खाँदो हो।तर मान्छेको अगाडि त्यस निरीह प्राणीको के नै जोर चल्छ र ? ऊ जति नै कराएर आँसु झारे पनि उसले आफ्नो बाच्छोलाई कहिल्यै भेट्न पाउँदिन।यस्तो नियति उसले आफ्नो जीवनमा धेरै पटक भोग्न विवश हुन्छे।समय चक्रसँगै त्यही मान्छेले दिएको कुँडो, र घाँसमा
मख्ख पर्दै आफ्ना बाच्छाहरुलाई भुल्दै जान्छे।पछि त्यही गाई पनि बुढी भएर दूध दिन नसक्ने भएपछि उसले पनि एकदिन तिनै बाच्छाहरुको नियति भोग्नु पर्नेछ र उसको ठाउँमा अर्की गाई ल्याएर बाँधिन्छ।
-दुर्गा लोहनी
प्रतिक्रिया