प्रदेशको आर्थिक सम्वृद्धिका लागि सम्पर्क कार्यालय स्थापना गरिएको– मुख्यमन्त्री राई

मनोज दाहाल २०७८ असार २५ गते २२:१८ मा प्रकाशित

विराटनगर,२५ असार (रासस):प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले काठमाडौमा रहेको मुख्यमन्त्री सम्पर्क कार्यालय प्रदेशको आर्थिक सम्वृद्धिका लागि निजी क्षेत्र र वैदेशिक लगानीका व्यक्तिहरुसँग भेटघाटका लागि लिएको बताउनु भयो।

प्रदेश नं १ को प्रदेश सभाको आठौंं तथा बजेट अधिवेशनको आजको २१ औंं वैठकमा प्रदेश सभा नियमावली,२०७४ को नियम ११८( ७ ) बमोजिम आव २०७८ः७९ को विनियोजना विधेयक २०७८ मा निर्दिष्ट गरि राखिएको मुख्यमन्त्री तथा मन्त्रि परिषदको कार्यालय सँग सम्वन्धित शीर्षक माथि सांसदहरुले राखेको प्रश्न तथा जिज्ञासाको जवाफ दिदै सो कुरा भन्नु भएको हो।

उहाँले प्रदेश इज्जत र प्रतिष्ठाका लागि विगत १८ महिना अगाडि सम्पर्क कार्यालय वहालमा लिएको जानकारी दिदै उक्त कार्यालयको सम्झौता सकिन लागेकोले त्यसको नविकरण हुने संभावना नरहेको बताउनु भयो।

मुख्यमन्त्री राईले सङ्घीय सरकारले काठमाडौमा मुख्यमन्त्रीको लागि निवासको व्यवस्था गरेको गरेकाले सम्पर्क कार्यालय निवास नभएको प्रष्ट पार्नु भयो।

उहाँले मितव्ययिता अपनाउने सोच अनुरुप सवारी खर्चमा कटौती गरेको भन्दै आफूले अढाई वर्ष २१ वर्ष पुरानो सवारी साधन प्रयोग गरेको र हाल प्रयोग गरेको नयाँ सवारी साधनको मुल्य भने थाहा नभएको विचार व्यक्त गर्नु भयो।

मुख्यमन्त्री राईले प्रदेश सरकारले कोरोना महामारीको दुवै लहरमा नागरिकको स्वास्थ्य उपचारमा सचेत रहदै निशुल्क सेवा उपलव्ध गराएको दावी गर्नु हुदै कोरोना खोप निशुल्क रुपमा सवै नागरिकको पहुँच पुर्याउने बताउनु भयो।

उहाँले प्रदेशको चालु बजेट कटौती हुने तर पूर्जीगत खर्चको रु एक पनि कटौति नहुने प्रतिवद्धता व्यक्त गर्दै बहुवर्षिय योजना,मुख्यमन्त्री ग्रामीण सडक,पुल लगायत पूर्वाधार निर्माणबाट यस प्रदेशले आगामी दिनमा छ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने विश्वास व्यक्त्त गर्नु भयो।

यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले रोजगारी र आर्थिक उत्पादकत्व वृद्धि गर्न सुरक्षाका लागि प्रहरीलाई बलियो बनाउनु पर्छ भन्नु भयो।

प्रदेश सभाको आजको २१ औंं वैठकमा प्रदेश सभा नियमावली, २०७४ को नियम ११८( ७ )बोजिम आव २०७८ः७९ को विनियोजना विधेयक २०७८ मा निर्दिष्ट गरि राखिएको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गत सांसदहरुले राख्नु भएको प्रश्न एवं जिज्ञासाका जवाफ दिदै उहाँले जनताले शान्तिसुरक्षाको अनुभूति नगरेसम्म विकासले फड्को नमार्ने स्पष्ट पार्नु भयो।

मन्त्री कार्कीले विपद व्यवस्थापनमा थोरै बजेट छुट्याए पनि कार्य गर्न रकमको अभाव हुन नदिन अर्थ मन्त्रालय रकम राखेको जानकारी दिनु भयो।

उहाँले एकद्वार प्रणाली अनुसार कानून एवं कार्यविधिको मापदण्ड अनुसार विपद राहत,पुनर्स्थापना कार्य भैरहेको बताउँदै कहि कतै केहि कमजोरी भए पनि पक्षपातपूर्ण व्यवहार नभएको दावी गर्नु भयो।

मन्त्री कार्कीले १४ जिल्लालाई एम्वुलेन्स,एक शव वाहन व्यवस्था गरिने बताउँदै जनताको धनजनको क्षति रोक्न तीन थान वारुणयन्त्र खरीदका लागि बजेटको व्यवस्था गरेको बताउनु भयो।

आर्थिक मामिला तथा योजनामन्त्री टङक आङुबुहाङगले प्रदेशमा व्यवहारिक बजेट ल्याएको बताउनु भयो।

प्रदेश सभाको आजको २१ औंं वैठकमा प्रदेश सभा नियमावली, २०७४ को नियम ११८( ७ )बोमोजिम आव २०७८ः७९ को विनियोजना विधेयक २०७८ मा निर्दिष्ट गरि राखिएको आर्थिक मामिला तथा योजना मन्त्रालय मन्त्रालय अन्तर्गत सांसदहरुले राख्नु भएको प्रश्न एवं जिज्ञासाका जवाफ दिदै उहाँले प्रदेशलाई ठिक ढङगले परिचालन गर्न राजश्व अभिवृद्धि गर्न कार्य आगाडि वढीरहेको जानकारी दिनु भयो।

मन्त्री आङबुहाङगले बजेटमा धेरै पुराना योजनालाई निरन्तरता दिएको जानकारी दिदै मन्त्री परिवर्तन हुनासाथ सवारी साधन परिवर्तन नहुने स्पष्ट पार्नु भयो।

उहाँले सांसद निर्वाचन क्षेत्र विकास कोष कार्यान्वयन हुने विश्वास दिलाउदै भत्ता कटौती विगतलाई निरन्तरता दिएको बताउनु भयो।

मन्त्री आङबुहाङगले प्रदेशमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नु हामी सवैको जिम्मेवारी हो भन्दै प्रदेशलाई उत्कृष्ट बनाउने जिम्मेबारीका लाग्नुपर्नेमा जोड दिनु भयो।

उहाँले प्रदेशमा सङ्घबाट अनुदानबाट होइन आफ्नै बार्षिक राजश्व वृद्धि गरि आफ्नो खट्टामा उभिन बनाउनु कार्यमा लाग्नु पर्ने बताउनु भयो।

विनियोजन विधेयक छलफलमा जयराम यादव,धीरेन्द्र शर्मा,मोहन कुमार खड्का,राजेन्द्रकुमार राई र लिला सुव्वाले मुख्यमन्त्री कार्यालय,आन्तरिक मन्त्रालय र आर्थिक मन्त्रालयका काम कारवाही,बजेट आदि विषयमा प्रश्न एवं जिज्ञासा राख्नु भएको थियो।

प्रदेश सभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सभामुख भण्डारीले सदनलाई जानकारी दिनु भयो।

मनोज दाहाल

 

 

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया