केपी ओली पार्टीको अध्यक्षबाट हट्ने शर्तमा एकता गर्नुपर्छ : रामकुमारी झाँक्री (भिडिओसहित)

इनेप्लिज २०७८ असार २५ गते १०:४९ मा प्रकाशित

काठमाडौं, २५ असार । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले एकता भन्नुको अर्थ लम्पसार हुनु नभएको भन्दै राजनीतिक जमिन र बास्तविकतामा आधारित भएर एकता हुनुपर्नेमा जोड दिएकी छिन् । उनले आफूहरुले कहिल्यैपनि एमाले फुटाउन नचाहेको जिकिर गरिन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले अध्यक्ष केपी शर्मा ओली पक्षधरसँग वार्तामा रहेका आफ्नो तर्फबाट नेताहरुले सार्वजनिक खपतको लागि मिडियामा बोल्नु गलत भएको पनि टिप्पणी गरिन् । उनले अध्यक्ष केपी शर्मा ओली स्टेप–डाउन नभएसम्म एकता असम्भव रहेको पनि जिकिर गरिन् । उनले प्रधानमन्त्री ओलीले राजनीतिक अपराध गरेकोले यसप्रति ओली जवाफदेही हुनुपर्ने बताईन् । उनले पार्टी एकताको लागि ओलीले अध्यक्षबाट हट्नुपर्ने बताएकी छिन् ।

उनले कार्यदलमा रहेका आफू पक्षधर सदस्य सुरेन्द्र पाण्डेले भन्दैमा आफूहरुको हस्ताक्षर फिर्ता नहुने दाबी गरिन् । उनले भनिन्,‘हस्ताक्षर फिर्ता लिनको लागि केपी ओलीले दिएको अल्टिमेटम सकिसकेको छ । शेरबहादुर देवालाई दिएको समर्थन यथावत छ । यो भोलिपनि रहन्छ ।’ देउवालाई किन समर्थन गरेको र कहीँ नभएको जात्रा हाडीगाउँमा देखाएको ? भनेर पत्रकार धमलाले प्रश्न सोध्दा उनले आक्रोशित हुँदै भनिन्–‘तपाईँले पनि जात्रा नदेखाउनु, अदालत जाने बेला हामी गैरसांसद भयौं ? हामी सांसद होईनौं भनेर अदालतमा मुद्दा हाल्नुहोस । तपाईँ व्यक्तिगत कुरामा किन जानुहुन्छ ?’ मिडियाले पनि एमालेको कार्यदलको बैठकलाई यति धेरै महत्व नदिएको भए हुन्थ्यो भन्ने उनको भनाई छ ।

प्रतिक्रिया