तिजाली—पच्नाली खानेपानी योजनाको ठेक्का दुई जनालाई बिक्री गरिएको खुलासा, ठेक्का पट्टामा हुने दलालीका कारण गुणस्तर घट्दै

वीरेन्द्र रावल २०७८ असार २४ गते १०:१८ मा प्रकाशित

धनगढीे,असार २४÷विकास निर्माणका कार्यमा ठेक्का सम्झौता भएको कम्पनीले अन्य पेटी ठेकदारहरुसंग कमिशन खाएर ठेक्का बिक्री गर्ने जस्ता घिन लाग्दो कार्यले ईमान्दा निर्माण व्यवसायीहरुको बदनाम हुने गरेको पाइएको छ।

कुनैपनि निर्माण कार्यको टेन्डर आव्हान भएपछि ठेक्का पार्न सफल हुने व्यवसायीले सरकारी कार्यालयसंग सम्झौता गरेर अन्य पेटी ठेकेदारबाट मनग्य पैसा असुलेर ठेक्का बिक्रि गर्ने र दालली गर्ने परिपाटी हावी हुँदै जान थालेपछि कामको गुणस्तरमा गिरावट आउनुका साथै राज्यको सम्पतिमाथी समेत चरम चुहावट आउने गरेको पाइएको छ।

त्यस्तै,डोटी जिल्लाको शिखरनगरपालिका अन्तरगत पर्ने तिजाली, पच्नाली मुडभरा खानेपानी आयोजनाको ठेक्का पाएको निर्माण कम्पनीले आफूले काम नगरी पेटी ठेकेदारलाई विक्रि गरेर काम गराउँदा कम गुणस्तरको काम भैरहेको तथ्य बाहिर आएको छ।

ठेक्का पाएको नागार्जुन जेभिआर कम्पनीले उक्त योजनाको काम पेटी ठेक्कामार्फत गराउँदा कामको गुणस्तरहीन कार्य भैरहेको पाइएको
छ।

ठेक्का पाएको निर्माण कम्पनीले भ्याट बाहेक दुई करोड ९१ लाख ४९ हजार ६४ रुपैयाँ १५ पैसामा ठेक्का सम्झौता गरेको थियो।सो कम्पनीले संघीय खानेपानी तथा ढल व्यवस्थापन विभागको क्षेत्रीय कार्यालय धनगढीसंग छ महिनामा काम सम्पन्न गर्ने गरी मिति २०७७÷०६÷९ गते सम्झौता गरेको थियो।निर्माण कम्पनीले सम्झौता गरेको उक्त योजनाको काम मिति २०७७÷१२÷०८ गते सम्पन्न गर्ने गरी सम्झौता गरेको भएपनि सम्झौता अवधी भित्र काम सम्पन्न हुन नसकेको स्थानीयले बताएका छन्।स्थानीयका अनुसार ठेक्का सम्झौता अनुसारको काम गर्नुपर्ने निर्माण कम्पनी जेभिआरले पेटी ठेकेदारलाई काम बेचेकाले समयमै काम सम्पन्न हुन सकेको देखिदैन।

ठेक्का पाएको सो कम्पनीका प्रतिनिधि धनश्याम पाठकले उक्त योजना जोरायल गाउँपालिका वडा नम्बर १ घण्टेश्वर बस्ने खेमबहादुर मगरलाई विक्रि गरेको तथ्य बाहिर आएको छ।पाठक पहिलो पक्ष बनेर दोस्रो पक्ष खेमबहादुर मगरलाई ठेक्का रकमको ६० प्रतिशत पाउने गरी विक्रि गरको लिखित प्रमाण फेला परेको छ।

त्यसैगरी खेमबहादुर मगरले आफूले पाएको ठेक्का पनि कमिशनको आधारमा तेस्रो व्यक्तिलाई विक्रि गरेको पाइएको हो।यसरी निर्माण कम्पनीले ठेक्का सम्झौता अनुसार काम नगर्दा र कमिशनको आधारमा पेटी ठेकेदारलाई काम बेच्दा समयमा नसकिने र काममा पनि गुणस्तरहीन हुने देखिन्छ।जसले गर्दा निर्माण सम्पन्न विकास निर्माणका कामहरु निर्माण सम्पन्न भएको केहि महिनामै बिग्रिने गरेको पाइन्छ।

सो ठेक्कालाई फेरी जोरायल गाउँपालिकाको सरस्वतिनगर बस्ने लिला ओलीलाई दोस्रो पक्ष बनाएर खेमबहादुर मगरले विक्रि गरेको प्रमाण पनि फेला परेको छ ।
उनीहरु बिच २०७७ कार्तिक १ गतेको दिन लिखित कागज भएको हो।खेम मगरले लिला ओलीलाई उक्त योजना एक करोड ३० लाखमा विक्रि गरेको देखिन्छ।

मगरले पनि ठेक्काको ६० प्रतिशत पाउनेगरी तिजाली,पच्नाली मुडभरा खानेपानी आयोजना बेचेको पाइएको छ।खेमबहादुर मगरले पाएको ठेक्का फेरी कमिशनका आधारमा तेस्रो व्यक्तिलाई समेत विक्रि गरेको पाइएको हो।दुई करोड ९१ लाखको ठेक्कालाई एक करोड ७० लाखमा विक्रि गरेर काम गर्दा कस्तो काम भएको होला भन्ने प्रश्न चिन्ह्र खडा भएको छ।यसरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले कमिशन लिएर काम बेच्दा र कमिशनै कमिशनमा योजना निर्माण हुँदा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरेर काम भएको हुनसक्ने बुझ्न सकिन्छ।

सो खानेपानी आयोजनाका अध्यक्षको मृत्यु भएकाले हरेक आर्थिक गतिविधिहरुलाई सुचारु गर्न नसकिएका कारण ठेकेदारले अन्य उपभोक्तालाई हातमा लिएर काम गरेकोले गुणस्तरमा खस्किदो अवस्था देखिएको स्थानीयहरु बताउँछन।यस विषय निर्माण कम्पनीका प्रतिनिधि धनश्याम भुषालसंग बुझ्दा उहाँले आफूले उक्त योजनाको काम पेटी ठेक्का मार्फत ४० प्रतिशत निर्माण कम्पनीको हुने र ६० प्रतिशत पेटी ठेकेदारको रहनेगरी काम दिएको स्वीकार गर्नुभएको छ।उहाँले भन्नुभयो,काम पेटी ठेक्कामार्फत दिएको भएपनि लाग्ने सामग्रीहरु निर्माण कम्पनीलेनै खरिद गरेर दिदै आएको छ।

अनुगमन र ठेक्का सम्झौता अनुसारको काम किन भएन भन्ने विषयमा संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय धनगढीका प्रमुख प्रकाश रावलसंग बुझ्दा उहाँले काम सम्झौता अनुसार नभए र गुणस्तरिय काम नभए बिल पास नहुने बताउनु भयो।उहाँले भन्नुभयो,उक्त योजनाको अनुगमनका लागि मंगलबार दुई जना कर्मचारीहरु फिल्डमा छन।उहाँहरुले तयार पारेको प्रतिवेदनकाआधारमा कामको मुल्याँकन हुने समेत बताउनु भयो।

शिखरनगरपालिका अन्तरगत पर्ने तिजाली, पच्नाली मुडभरा खानेपानी आयोजनाको १२ हजार लिटरको फिल्टरेशन ट्यांकी निर्माणका लागि उक्त बजेट विनियोजन गरिएको थियो।बजेट अनुसारको काम नहुँदा स्थानीयहरु आक्रोसित भएका छन।

पछिल्लो समय विकास निर्माणमा निर्माण कम्पनीहरुले काम पेटी ठेक्का मार्फत गराउँदा गुणस्तरहीन निर्माण सामग्रीहरुको प्रयोग गरेर काम गर्ने गरेको बताइन्छ ।यो त एक उदाहरण मात्र हो।

यस्ता थुप्रै निर्माण कम्पनीहरु छन,जो पेटी ठेक्का मार्फत काम गराइरहेका छन ।जसले गर्दा गुणस्तरिय काम हुन सकेको छैन।गुणस्तरिय काम नहुँदा र गुणस्तरहीन निर्माण सामग्रीहरुको प्रयोग गरेर विकास निर्माण गरिदा निर्माण कार्य सम्पन्न नहुँदै र निर्माण कार्य सम्पन्न भएको महिना दिन नपुग्दै तहसनहस हुने गरेको देखिन्छ।

-वीरेन्द्र रावल

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया