काठमाडौं।जनता समाजवादी पार्टी (जसपा) अब औपचारिक रुपमै फूटको प्रक्रियामा अघि बढेको छ।
निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी एकताको साटो फुटेर आ–आफ्नो बाटो लाग्न सहमत भएका हुन्।
सहमतिका लागि जसपाका दुबै पक्षलाई बोलाएर आयोगले छलफल गरेपनि दुबै पक्षले आफ्नो दावी नछाड्दै अलग भएर जाने भन्दै कानून अनुसार गरिदिन आयोगलाई आग्रह गरेका छन।
कुरा नमिलेपछि आयोगले उनीहरुलाई दल दर्ता सम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ।छलफल पछि नेता अनिल झाले आफूहरू मिलेर जान नसक्ने कुरा आयोग समक्ष बताएको जानकारी दिनुभयो।छुट्टिने सहमति गरेको र अब आयोगले निर्णय गर्ने झाले बताउनुभयो।
अब दुबै पक्षले आधिकारिकताका लागि दावी पेश गर्नेछन्।एकता हुन नसक्नुमा दुवै पक्षले एक अर्कालाई दोषारोपण गरेका छन।
यसअघि जसपा अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादव र यादव पक्षले ठाकुर पक्षका नेताहरू माथी कारवाही गरेर निर्वाचन आयोगलाई जानकारी गराएका थिए।तर दुवै पक्षले गरेको कारवाही प्रक्रियासम्मत नभएको भन्दै आयोगले जसपाको दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।
२०७७ वैशाख १२ गते तत्कालीन संघीय समाजवादी फोरम र जनता पार्टी मिलेर जसपा बनेको थियो।संसद विघटन र ओली सरकारको विकल्प खोज्ने नखोज्ने विषयमा जसपा दुई धारमा विभाजित भएको छ।र,त्यसैले फूटको अवस्थामा पुगेको छ।
प्रतिक्रिया