कालीको कचिंगल

डि. एन. पौडेल २०७८ असार २१ गते २०:४३ मा प्रकाशित

०५१ को मध्याबधी निर्वाचनको दौरान तत्कालीन एमाले पार्टीको चुनावी सभामा उक्त पार्टिका उमेदवार मोदनाथ प्रश्रीतले भाषण गर्ने कार्यक्रम थियो।लामो साईकल र्याली सकेर थकित अबस्थामा हामी पनि उक्त भाषण सुन्न तम्तयार थियौ।निकै कलात्मक तथा साहित्यिक पाराले भाषण सुरु भयो।मन्तव्यकै क्रममा काङ्ग्रेसले कोशी गण्डकी नदी भारतलाई सुम्पेको तर हामीले उक्त सन्धिलाई सच्याउन विभिन्न योजना तय गरेका छौ।कोशी र गण्डकी नदीका सहायक नदीमा बाध निर्माण गरि हजारौं मेघावाट बिद्धुत उत्पादन गर्ने र बाकी पानी तराईका फाटमा सिंचाइ गर्ने योजना बनाएका छौ।यसै अनुरुप कालीगण्डकीको पानी तिनाउमा झारेर ब्यबस्थित नहराद्वारा रुपन्देही कपिलवस्तु र नवलपरासीका हजारौं बिगाहा खेत सिन्चित गर्ने योजना रहेको भन्नुभो।त्यतिबेला यहाँका बासिन्दाले सिंचाइका निम्ति निकै कष्ट भोग्नुपरेको थियो।यति सुन्दर योजना सुन्न पाउदा तालीको पर्पराहट भो यद्यपि एक जना आस्कोट लगाउने बुवाले भन्नुभयो ” तिनाउको बाढीले त यो सास्ती छ अझ काली मिसाउदा के होला ? ”

म दस एघार बर्षको छदा देखी बुटवल बजार जादाको स्मरण छ।हामी त्यतिबेला तिनाउ र दानव बिचका बासिन्दा हरु नहरको बाटो हुँदै तिनाउ तरेर देबीनगर निस्किएर खस्यौली पुग्थ्यौ।कहिले सोही नहरको बाटो बुटवलको गढिटोल निस्कन्थ्यौ। गढिटोल जानेक्रममा बिचमा बरको रुख र चौपारी थियो।जहाँ बटुवाहरु थकित अबस्थामा विश्राम लिने गर्दथे।त्यसको पुर्वतर्फ तिनाउ खोलाको दुबैतिर पिधमा गिटिबालुवा माथि पट्टि ढुङ्गा बिच्छाएर अग्लो नहर बाधिएको थियो। फर्साटिकर,मोतिपुर,सेमलार,रानीगन्ज,पथरगन्ज लगायतका बासिन्दाहरु बजार वा विद्यालय जादा त्यही नहरको बाटो जाने गर्दथे।अहिलेको नहरपुरको नाम पनि सायद त्यही नहरबाट रहन गएको थियो।पाँचमौजा,खडवा र सौराहा तपाहाहरु आठफुटे हुदै नहरको समानान्तर भै बग्दथे।नहरको वारि पट्टि अग्लो स्थानमा एउटा मन्दिर थियो भने पारी पट्टी सिमेन्टले बनेको हात्तीको ठूलो मुर्ती थियो।बिचमा पाँच छ वटा बडेमानका फलामे ढोका सहितको ब्यबस्थित बाध बनाईएको थियो।जुन बाध भारत सरकारले नौतनवा फरेन्दा सम्म सिंचाइ गर्न बनाएको थियो रे।”कालीको पानी तिनाउमा झारेर पानी लैजाने सुर हो उता गन्डक नहरमा पानी सुक्छ भनेर छोड्यो।” त्यतिबेलाका बुढापाकाबाट उक्त भनाई सुनिन्थ्यो।हुनपनि भारतले त्यति ठूलो संरचना बनाएर वास्ता नगरी खंडहर छोडेको थियो। ०३८ सालपछि आएका पटक पटकका बाढीले ती संरचना क्रमशः कटान गर्दै लग्यो।उक्त स्थानमा भारतीय कम्पनीले बनाएका दुईवटा घर थिए जसको बोर्डमा कुनै कम्पनीको नाम अङ्ग्रेजी अक्षरमा लेखिएको थियो।ती घरहरु धेरै समयसम्म जिर्ण अबस्थामा थिए।पछि केही जग्गा अतिक्रमण भयो त केही जग्गामा अहिलेको भुपु सैनिकको सभाहल र आयुर्वेदिक अस्पताल बनाईयो।त्यस ठाउँलाई हात्तिको मुर्ती भएकोले हात्ती सुढ भनिन्थ्यो।अझैपनि उक्त स्थानलाई पाका पुरानाले हात्तिसुढ नै भन्ने गर्छन।

०४६ को राजनितिक परिवर्तन पछि देशका अन्य क्षेत्रमा जस्तै बुटवल क्षेत्रमा रास्ट्रीय तथा स्थानीय चुनाव सम्पन्न हुँदै गए।कम्युनिस्ट काङ्ग्रेस दुबै दलहरूले बुटवल पाल्पा सडक खण्ड अन्तर्गत सिद्दबाबा ( सुरुङमार्ग ) र कालीगण्डकी तिनाउ डाईभर्सन, लगायत अन्य योजनालाई चुनावमा भजाउदै आए।लामो समय सम्म रुपन्देहीको उत्तरी बेल्टको राजनीतिमा काङ्ग्रेस हावी भयो।बालकृस्ण खाड र स्व.सुर्य प्रसाद प्रधान पटकपटक यस क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित भए।उनिहरुले पनि यी दुई आयोजनाका बारेमा दुईचार थान बक्ततब्य र भाषण नपस्केका होईनन।यी आयोजनाको बारेमा पाल्पाका सांसद सोम प्रसाद पान्डेले निकै राम्रो व्याख्या विश्लेषण गरेको समाचार क्लिप्समा देख्न पाईन्छ।समय बित्दै जादा स्याङ्जा पाल्पा हुदै रुपन्देहीको राजनीतिमा बिस्नु पौडेलको प्रबेश भएपछि यहाँको राजनीतिमा अरु दलले टाउको उठाउन सकेनन।समकालीन रास्ट्रीय राजनीतिमा समेत चतुर खेलाडीको रुपमा उनको प्रभाव आजका दिन सम्म गहिरिदो छ।बुटवल क्षेत्रबाट निर्वाचित भएपछी बिस्नु पौडेलका प्रत्येक भाषणमा यी दुई योजना समाबेश भएकै हुन्छन र पटकपटक रातो किताबमा ती योजना लेखिन छोडेका छैनन।

देशमा राजनीतिक परिवर्तन पश्चात् अन्य राजनीतिक घटनाक्रम घट्दै गए।खासगरी ०७२ को संविधानको उपज संघीयता अन्तर्गत केन्द्र सरकार र प्रदेश सरकारको अभ्यास अनुरुप देश अगाडि बढेको छ।देशमा दलीय प्रतिस्पर्धा छ।दलीय ब्यबस्थामा बिकासका निम्ति स्वस्थ प्रतिस्पर्धा हुनु त स्वभाबिकै हो । अझ प्रदेश प्रदेश बिचमा बिकासका निम्ति प्रतिस्पर्धा र सहकार्य हुन जरुरी छ।साझा स्रोत र साधनलाई दुई पक्षीय हितमा कसरी प्रयोग गर्न सकिन्छ भनी बृहत छलफल हुन आबस्यक छ।स्रोत र साधनका निम्ति कचिंगल हुनु समग्र मुलुकका निम्ति शुभ होईन तर व्यबहारमा अस्वस्थ प्रतिस्पर्धा देखिन थालेको छ जसको ज्वलन्त उदाहरण कालीगण्डकी डाईभर्सन हो।हाल बर्तमान सरकार द्वारा बिकास योजानाका बाढी नै बगाईएका छन।डिपिआर बिनै योजनाका शिलान्यास भएका थुप्रै कार्यक्रम छन।यसै बिचमा रुपन्देहीबाट निर्वाचित तथा प्रभाबशाली नेता बिष्नु पौडेलबाट ड्रीम प्रोजेक्ट भनेर केहि योजना यस क्षेत्रमा अगाडि बढाएका छन।जनताबाट निर्वाचित भएपछि त्यस क्षेत्रको बिकास गर्नु जनप्रतिनिधिको कर्तव्य र उत्तरदायित्व पनि हो तर त्यस्ता बिकासे योजना भोट तान्ने ललिपप हुन हुदैन।बुटवल पाल्पा सडक खण्ड सिद्धबाबा सुरुङमार्ग र कालीगण्डकी तिनाउ डाईभर्सन योजना त्यस्तै ललिपप बन्न पुगेका छन।यी दुई योजनाका चर्चा सुन्न थालेको दशकौं भयो तर प्रगती भने हालै कार्यलय मात्र उद्घाटन भयो।त्यो पनि गर्भैमा बिबादास्पद हुन पुग्यो । हाल देशमा बलियो सरकार छ।उक्त बलियो सरकारका बलिया मन्त्रीले अघि सारेको ड्रीम प्रोजेक्ट यति विधि कमजोर हुन हुदैनथ्यो।सिद्धबाबा सडक खन्डमा सुरुङमार्ग निर्माणका निम्ति बिगत दसौ बर्षदेखि बजेट परिरहन्छ तर उपलब्धि चाहिँ शून्य छ । बर्षा होस वा हिउद उक्त सडक खण्डको यात्रा गर्नु मृत्युनगर पार गरे जस्तै हुन्छ।

कालीगण्डकी तिनाउ डाईभर्सन प्रोजेक्टको खास बठ्याई भोटको राजनीति हुन पुगेको छ।उता नारायणी नदीमा पानीजहाज चलाउने सम्भाब्यता अध्ययन पूरा भै सक्यो भनिन्छ।यता काली- तिनाउ डाईभर्सन आयोजनाको शिलान्यास गरिन्छ अनि कालीको पानी तिनाउमा खन्याएपछी नारायणीमा जहाज चल्छ ? नारायणीको पानीको मुख्य स्रोत भनेकै कालीगण्डकी हो।यसै गरि बुटवलमा यो ड्रीम प्रोजेक्टको कार्यलय बडो तामझाम सहित उद्घाटन गरिन्छ लगत्तै गण्डकी प्रदेशका भुपु मुख्य मन्त्री पृथ्वी सुब्बा र मन्त्री किरण गुरुङको आक्रोश सहितको बिरोध आउँछ।यो नाटक हो कि नौटन्की हो ? यसैलाई भन्छन कालीको कचिंगल दुबैको हातमा लड्डु।दुबै प्रभाबशाली नेता एउटै पार्टीको अनि एउटै गुटका बलिया खम्बा।यता बुटवलका नेताबाट ड्रीम प्रोजेक्टको थालनी भएपछि यता कार्यकर्ताको हाईहाई उता आफ्नो प्रदेशको सास्कृतिक सम्पदा अर्को प्रदेशको हरणबाट जोगाउनुमा गुरुङको बहादुरीता उतै हाईहाई।दुबै तर्फ ताली पिट्नेको कमी छैन।ताली पिट्न माथीबाटै निर्देशित छौ।यो कचिंगलको प्रत्यक्ष फाईदा आगामी निर्वाचनमा चुनाबी एजेन्डा त्यो पनि पौडेल र गुरुङ दुबैका निम्ति ।यदि यो प्रोजेक्ट गर्नैका निम्ति हुन्थ्यो भने दुबै प्रदेशका हस्थीहरु सहित बिज्ञलाई राखेर छलफल हुन्थ्यो होला।कालीगण्डकी तटिय क्षेत्रका बासिन्दा र सास्कृतिक महत्वलाई पर्ने असर र त्यसलाई न्यूनीकरण गर्ने उपायका बारेमा गम्भीर बहस गर्न सकिन्थ्यो होला । यी पुर्ववत कार्यक्रमका बारेमा कुनै चासो र दिगो सोचाई भएन।दिगो सोच भैदिएको भए यो किसिमको बिरोधको नाटक छताछुल्ल हुने थिएन।पछिल्ला दिनमा गण्डकी प्रदेशका सबै राजनीतिक दल सरोकारवालाहरुबाट एक पछि अर्को हुँदै तिब्र बिरोधका स्वरहरु बाहिर आइरहेका छन।यो परिदृश्यले आयोजना सम्पन्न त के एक कोदालो माटो उप्काउन समेत नपाईने अबस्था छ।त्यसैले यो योजना पूरा गर्नका निम्ति भन्दा प्रचारका निम्ति हो कि भन्नेमा दुबिधा छ।

यो आयोजनाको बारेमा यस क्षेत्रका केही बुद्धिजीवी र गण्डकी प्रदेशका सभासदहरुले आशंका गरे जस्तो भारतको स्वार्थमा नबनोस।उनिहरुले भारतले रिभर लिन्किङ परियोजना सङ्ग जोड्न यो प्रोजेक्ट अघि बढाईएको भन्ने जिकिर गरेका छन।भारतले पहिले नै तिनाउबाट नहर लगेर गोरखपुर सम्मको जमिन सिंचाइ गर्न प्रयास गरेको थियो तर अविरल बहने पानीको अभावमा असफ़ल भएको थियो जसको प्रमाण खंडहर बनेर लामो समय रहिरहेको नहरले दिन्छ।भारतले नेपालको अस्थिर राजनिती परिवेशबाट फाईदा उठाउन मौका पर्खेको हुन्छ त्यो मौका अहिले छ।हाम्रा राजनेताहरु सत्ता स्वार्थमा बिदेशीलाई रिझाउन होडबाजी नै गर्छन।यसैको निरन्तरता कसैले कोशी र गण्डकी बुझाए त कसैले महाकाली सुम्पिन पुगे।हालै मात्र नागरिकता अध्यादेश र गिटिबालुवा भारत निकासी नीति त्यसै आएको होईन।कतै यो प्रोजेक्टमा पनि नेपाल ठगिने हो कि भन्ने बुद्धिजीवीको आशंकालाई निराधार ठान्न मिल्दैन किनकि तातो दूध पिउदा पोलेको मुखले महि पिउन खोज्दा फुकेर पिउन खोज्नु अस्वभाबिक होईन।

अन्यमा,म यहि बुटवल आसपास बस्ने बासिन्दा हु।म लगायत यहाँका लाखौ बासिन्दाका निम्ति यो आयोजना गौरवको बिषय हो।यस आयोजनाको निर्माण मध्य पश्चिम तराई खासगरी लुम्बिनी प्रदेशकै पहिचान र अन्य प्रदेशका निम्ति अनुकरणीय हुनेछ।यो आयोजनाको बिरोधमा एक शब्द लेख्नु म जन्मेको माटो प्रतिको अपमान हुनेछ तर आयोजनाको पृष्ठभुमि र बिज्ञबाट भएका आशंका माथि आफ्नो दृष्टिकोण ब्यक्त गर्नु नागरिक कर्तव्य ठानेको छु।यो आयोजना सम्पन्न भएछ भने तीन जिल्लाका कृषकलाई बर्षे र हिउदे कृषि उत्पादनमा निकै सजिलो हुनेछ।यो आयोजना साच्चै सम्पन्न हुन्छ भने तिनाउको बर्षे भेल र बाढि नियन्त्रण हुनुका साथै नहरको सुन्दरता र पर्यावरणिय हरियाली सहित बुटवल आसपासमा पर्यटन क्षेत्रको बिकासले फड्को मार्दै यस क्षेत्रमा सुनमा सुगन्ध थपिने छ। त्यसैले यो आयोजना सम्पन्न होस।हामी जनताले आफैलाई बधाई तथा शुभकामना दिन पाऔ।आयोजनाको अवधारणा पस्कने मोदनाथ प्रश्रीत , सप्पन्न गर्न मुख्य भुमिका खेल्ने बिस्नु पौडेल लगायत सबै नेतृत्वहरु लाई धन्यवाद दिन पाईयोस।सुभम।

-डि. एन. पौडेल

प्रतिक्रिया