असार १५ भन्ने साथ मलाई “दही चिउरा “ खाने दिन हो भन्ने थाहा छ। तर खासमा कसैले किन खाने रहेछ भन्ने राम्रो सॅंग नबुझाईदिएको हुनाले किन खानु पर्ने रहेछ त्यति प्रष्ट थाहा छैन। बुझ्नै चाहेमा आजकल गुगलमा सर्च गर्दा थरीथरीका उत्तरहरू भेटिन्छ । तर खाने कारण जे जस्तो भएपनि, हामी प्रत्येक बर्ष “दही चिउरा” चाहीं खान्छौं नै।
असार १५ सम्झॅंदा दही चिउरामात्र खाने हैन की धान रोपेको पनि सम्झन्छु। हुन त म काठमाडौं बानेश्वर, शहरमा जन्मे, हुर्केको मान्छे, आफ्नै धान खेत त थिएन र आफैले खेतमा धान रोपेको अनुभव छैन। तर हामी सानो केटाकेटी हुँदा हाम्रो घर रहेको वरीपरीको केही खाली जग्गा खेतमा धान रोपाईं गरेको देखेको छु।
हाम्रो टोलमा एक जना ज्यापु ( सबैले त्यहि भन्थे) बुढा बाको सानो काठमाडौंमा हुने पुरानो सैलीको घर थियो। अरू त प्राय: नॅंया घर थिए। घरमा बा आमा, एक छोरा, बुहारी र दुई स्कुल पढ्ने नातीनातिना बस्थे। उॅंहाको ३-४ रोपनी जग्गामा प्रत्येकबर्ष असार १५ मा धान रोपाईं हुन्थ्यो। सुनेको, वरीपरी उॅंहाको अरू आफन्तको नै सबै जग्गा थियो र अरूहरूले चाहीं बेचेर गएका रहेछन्। त्यो बेला उॅंहाहरू एक परिवारमात्र पुरानो बासिन्दा हाम्रो टोलमा बाँकी थियो।
अझ रमाईलो त उहांका अरू संतानहरू रोपाईं गर्न आउॅंथे । कोही गाडी चढेर र कोही मोटर साइकलमा आएका हुन्थे। सबै आफुले लगाएका आधुनिक कपडाहरू बदलेर धानको मुठा बोकेर रोपाईं गर्न खेतमा पस्थे ।
हिलो छ्यापेर रमाइलोपनि गर्थे। दिउॅंसो भरी धान रोपिसकेपछि बेलुका सफा भएर सबै मिलेर खान बस्थे। दही, चिउरा, केरा, तरकारी, अचारआदी । ओहो, सबै परिवार एकै ठाउॅं जुटेर खाएको हेर्दै रमाइलो देखिन्थ्यो। फेरी धान काट्ने बेला कात्तिक, मंसीर तिर पनि सबै यसरी नै भेला हुन्थे।
अहिले त सोसलमिडियाको जमाना छ। जताततै असार १५ मा धान रोपेको फोटो, भिडियोहरू देखिन्छ। कति शहर बस्ने केटाकेटीहरू पनि रोपाईं गरेको ठाउॅंमा गएर , धान रोपेर, हिलोमा खेलेर रमाईलो गरेको देखिन्छ । यी सबै देख्दा मलाई त्यो बाल्यकालमा धान रोपाई गर्ने “ज्यापु परिवार” याद आयो। परापूर्वकाल देखि काठमाडौंमा कृषि, खेती किसान पेशा गर्ने प्राय: “ज्यापु समुदाय” नै हुन्। अहिले सोच्दा, शायद उॅंहाहरूले आफु सॅंधैं तेही पेशा गर्न नसके पनि बर्षको एकपटक“असार १५” मा धान रोपाईं गरेर आफ्नो पुस्तैनी पेशालाई सम्मान गर्नु भएको होला।
अत्यमा, अहिले “नेपाली” नेपालमा मात्र छैनौं। संसारको १४८ देशमा नेपाली बसोबास गर्छन्। नेपाली नेपालको नागरिकता भएकोलाई मात्र मान्नु गलत हो। “एक पटकको नेपाली सॅंधैको नेपाली” ! भलै बिभिन्न कारणले नेपाल छोडेर हिँडे पनि नेपाली त नेपाली नै हो नी। बिदेशिएकालाई पनि नेपालको उत्तिकै माया लाग्छ।
बिदेश बस्नेले आफुमा “नेपाल” बचाउने र बिदेशमा हुर्कदैं गरेका पछिल्ला पुस्तालाई नेपाल चिनाउने भनेको नेपालमा मनाईने चाडपर्व, धर्म संस्कृति, भाषा, साहित्य आदीबाट हो।
अझ खाना त झन् मुख्य लाग्छ। म आफुले जानेसम्म नेपालमा सानोमा बिभिन्न चाडपर्वमा बिभिन्न किसिमको खाना खाएको सम्झेर “त्यो चाड” आउॅंदा तेही मुख्य परिकार बनाउॅंछु।दशैंमा खसीको पक्कु मासु, काक्रा खल्पीको अचार, तिहारमा सेल,अनर्सा, माघ एक गते, तरूल, सुठुनी, तिलको लड्डु, खिचडी, साउन १५ मा खीर, तिजमा दर, क्वाटीं पुर्णेमा गेडागुडी, यमरी, सातु सर्वत, एकादशीमा पानी रोटी आदी।
ल है, आज चाहीं “असार १५” दही चिउरा खाएर मनाऔं !
लेखिका
प्रतिक्रिया