बिदेशमा काम शुरू गरेको लगभग ६ वर्ष जति भयो अनिरूद्र र उनको श्रीमती रूपाको।अनिरूद्र देशलाई साँच्चै माया गर्थे।बिदेशमा बसे पनि नेपालको बारेमा सोची रहन्थे।उनले नेपाल लगायत अन्य सबैजसो राजनैतिक दलको दस्ताबेज अध्ययन गरेका थिए।यसै क्रममा नेपालको एउटा राजनैतिक दलसँग उनको निकटता बढ्यो।विदेशमा बस्ने नेपालीहरूको तर्फबाट उनी आफ्नो दल निकटको केन्द्रीय सदस्य बने पनि।उनले अध्ययनलाई अझै समय दिए।नेपाली जनतालाई कसरी उन्नत बनाउने भन्नेमा उनले धेरै खोज गरी दस्ताबेज बनाए।त्यो दस्ताबेज मार्फत् उनि आफ्नो दलमा परिचित हुँदै गए….
समय बित्दै गयो।अब स्थिति यस्तो बनीसकेको थियो कि उनी उक्त देश लगायत अन्य देशमा रहेका नेपालीहरूलाई सङ्गठित गर्नमै लागीसकेका थिए।वर्षमा ३ महिना जति उनी नेपालमै आएर आफ्ना दस्ताबेजबारे व्याख्या गर्थे,आफ्ना दल निकटकाले उनलाई एउटा पूँजीको रूपमा त बुझेका थिए नै,अन्य दलकाले पनि उनको कुरालाई काट्न हम्मे-हम्मे पर्थ्यो।….
नेपालमा निर्वाचनको चहल पहल शुरू भईरहेको थियो।अनिरूद्रलाई घोषणा-पत्र बनाउने जिम्मा दिईएको थियो।अनिरूद्र लगायत नेपालका अन्य साथीहरू मिली घोषणा-पत्र तयार भयो।चुनावमा उक्त घोषणा-पत्रबारे बुझाउने काम भयो।नभन्दै उक्त दलले एकल सरकार बनाउने बहुमत ल्यायो।अनिरूद्रको भिजन,मिसन र उद्देश्यहरूबाट बनेको दस्ताबेजबाट चुनाव जितेकाले उनि धेरै खुशी देखिन्थे।उनलाई मन्त्री बन्ने धोको पनि थिएन,धोको थियो त केवल नेपाली र बिदेशिएका नेपालीको उन्नयन।
मन्त्रीमण्डल बन्यो।अब कार्यक्रम बनाएर सुख पाईन्छ,बिदेशमा रहेकी जीवन साथीलाई पनि बोलाउन पाईन्छ,नेपाली जनताको त्याग र तपस्यालाई मूल्याङ्कन गरी उनीहरूका सपनाहरूलाई मूर्तरूप दिन सकिन्छ भन्नेमा उनी ढुक्क झैँ देखिन्थे।तर,बिडम्बना,सरकारको नीति तथा कार्यक्रम बनाउने बेलामा उनलाई थाहा पत्तो दिईएन,बाहिर-बाहिर सुने अनुसार उनलाई आफ्नै पार्टीको अर्कै गुटको भनेर बिल्ला लगाईएको रहेछ।
त्यही पनि उनले हरेस खाएनन् र पार्टीको मुखियालाई भेटेर आफ्नो घोषणा-पत्रमा भएको तर यी-यी बुँदा नपरेको भन्न उनि शीर्ष नेतृत्व कहाँ पुगे र भन्ने जमर्को गरे।यसै क्रममा उनि द्वारा घोषणा-पत्र देखाउने बेलामा शीर्ष नेताले यति मात्रै भने: “त्यो पर्दैन”।
— कोमल अधिकारी, टिकापुर-१,कैलाली।
प्रतिक्रिया