विराटनगर महानगरको बजेट रु चार अर्व १० करोड तीन लाख

मनोज दाहाल २०७८ असार १० गते १०:४१ मा प्रकाशित


विराटनगर,१० असार(रासस):विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७८ः७९ को नीति,कार्यक्रम लागि रु चार अर्व १० करोड तीन लाख ३८ हजारको अनुमानित बार्षिक बजेट आज प्रस्तुत गरिएको छ।

महानगरपालिकाको आजदेखि सञ्चालन भएको नगरसभाको आठौ अधिवेशनमा उपाध्यक्ष एवं उपप्रमुख इन्दिरा कार्कीले बजेट प्रस्तुत गर्दै कार्यालय सञ्चालन तथा प्राशासनिक खर्चतर्फ रु ४६ करोड ७० लाख ५२ हजार ९२५ तथा पुँजीगततर्फ रु तीन अर्व ५८ करोड ३२ लाख ८५ हजार १५ र वित्तिय व्यवस्थातर्फ रु पाँच करोड खर्च हुने अनुमान प्रस्तुत गर्नु भएको छ।महानगरपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ११ प्रतिशत र पूजीगततर्फ ८९ प्रतिशत रहेको छ।

पुँजीगत खर्चमध्य पूर्वाधार विकास क्षेत्रमा रु दुई अर्व चार करोड ३९ लाख ३४ हजार ४८,आर्थिक विकास क्षेत्रमा रु १७ करोड ८९ लाख,सामाजिक विकास क्षेत्रमा रु १ अर्व २६ करोड ६९ लाख एक हजार २७,सुशासन तथा अन्तर सम्वन्धित(बन वातावरण तथा विपद व्यवस्थापन समेत) क्षेत्रमा रु नौ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ।

यसैगरी आगामी बर्ष सञ्चालन हुने मुख्य आयोजनाहरुमा वडास्तरीय आयोजनाका लागि रु २६ करोड ७८ लाख पाँच हजार १७५,नगरस्तरीय गौरवका आयोजना अन्तर्गत मुख्य प्रशासननिक भवनका रु १७ करोड ३८ लाख र विरेन्द्र सभागृहको रु १९ करोड ५० लाख, ल्याण्डफिल्ड साइट जग्गा खरीदका लागि रु १० करोड,अन्तर्राष्ट्रिय सभाहलका लागि जग्गा खरीद रु पाँच करोड,विराट राजाको दरवारका लागि रु पाँच करोड, हिमालय रोड रु दुई करोड,महानगर आवास योजना रु ९० लाख,फोहोर पानी प्रशोधन केन्द्र दुई करोड,चार वटा आकाशेपुलका लागि रु दुई करोड ४५ लाख,प्रधानमन्त्री पार्क निर्माणका लागि रु पाँच करोड, सन्ध्याकालिन आरती निर्माण स्थलका लागि रु दुई करोड,अन्य नगरस्तरीय योजना रु ४० करोड रहेको छ।

यस्तै चालु आवको अनुसुचि ‘ख’ मा रहेको नगरस्तरीय योजना लागि रु १५ करोड, समपुरक कोषका लागि रु २० करोड १९ लाख २८ हजार ३७३ विनियेजना गरिएको छ।यसैगरी क्रमगत योजनाको भुक्तानीका लागि रु २५ करोड ३५ लाख ४७ हजार तथा शिक्षातर्फ रु ५५ करोड ७७ लाख ४९ हजार, युुवा तथा खेलकुद तर्फ रु एक करोड ६१ लाख, स्वास्थ्यतर्फ रु १८ करोड एक लाख २८ हजार र विपद व्यवस्थापन तथा महामारी नियन्त्रणतर्फ रु तीन करोड विनियेवजना गरिएको छ।

आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्नेे स्रोतमध्ये अन्तर सरकारी वित्तिय हस्तान्तरणतर्फ सङ्घीय सरकारबाट रु एक अर्व १९ करोड ५३ लाख, प्रदेश सरकारतर्फ रु चार करोड ९० लाख १५ हजार,राजश्व बाँडफाँड रु एक अर्व एक करोड ४७ लाख ८३ हजार,आन्तरिक आय रु ८३ करोड ९ लाख २५ हजार ३२५,अन्य अनुदान र ऋण रु ७० करोड ५५ लाख आठ हजार पाँच सय,अन्य संघसंस्था रु एक करोड ४४ लाख ५५ हजार तथा जनहसभागिता रु १० करोड र मौज्दात सहित कुल जम्मा रु चार अर्व १० करोड तीन लाख ३८ हजार अनुमान गरिएको छ।

महानगरपालिकाले आगामी आर्थिक बर्षमा ‘हामी सबैको रहर शिक्षित , सफा, सुन्दर,सुन्दर ,सुरक्षित र सक्षम विराटनगर’ नाराका साथ विराटनगरको शहीद रंगशालालाई सुविधासम्पन्न निर्माण गरी अन्तर्राष्ट्रिय स्तरको खेलकूद गतिविधि सञ्चालन गर्ने,हाटखोला मैदानमा खेलकुद एकेडमीको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

यसैगरी कोभीड–१९ महामारीको रोकथाम, उपचार र नियन्त्रणका लागि ठोस कार्यक्रम लागु गर्ने,गर्भवती महिला र जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने,राष्ट्रिय खोप अभियानलाई वडास्तरमा प्रभावकारी रुपमा सञ्चालन गर्ने, वडा नं १५ र १९ मा १५ शैय्याको अस्पताल निर्माण गरि सञ्चालन गर्ने रहेको छ।

यस्तै अन्य कार्यक्रमहरुमा नगरका विभिन्न स्थानमा सिटी रिक्सा चाजिङ स्टेशन स्थापना गरिने,धरान–विराटनगर करिडोर(बलभद्र राजर्माग)मा चार बटा आकाशे पुल निर्माण सम्पन्न गर्ने, वडा नं २ र ७ मा प्रधानमन्त्री पार्कको निर्माण कार्य शुरु गर्ने,गरीव र विपन्न वर्गका लागि वडा नं ५ मा जनता आवास तथा वडा नं १२ मा महानगर आवास योजनालाई सम्पन्न गर्ने नीति रहेको छ।

हिमालय रोडलाई जिरो पार्किङ जोन सहित रात्रीकालिन मनोरञ्जनस्थलको विकास गर्ने,विजुलीको तारलाई अण्डर ग्राउण्ड गर्न सम्भाव्यता अध्ययन गर्ने, साइकल लेनको विकास गर्ने,नीजि क्षेत्रसँगको समन्वयमा सार्वजनिक शौचालन निर्माण गर्ने,सङ्घीय र प्रदेश सरकारसँगको समन्वयमा औद्योगिक प्रदर्शनी स्थलको निर्माण गर्ने,दीगो र भरपर्दा रुपमा फोहेरपानी प्रशोधन केन्द्र र ढल प्रणाली सञ्चालन गर्ने,नेपाल सरकारको सहयोगमा विराटनगर –१९ मा सुविधा सम्पन्न सिटी हल सम्मेलन केन्द्रको निर्माण गर्ने कार्यक्रममा उल्लेख गरिएको छ।

यस्तै अन्य कार्यक्रममाहरुमा अण्डर ग्राउण्ड पार्किङको भवनको नक्सा पास सो क्षेत्रको घरनक्सा दस्तुर छुट दिने,विराटनर महानगरपालिको पर्यटन गुरुयोजना निर्माण गर्ने,महेन्द्र चोकदेखि ट्राफिक चोकसम्म रात्रिकालिन बजारको रुपमा विकास गर्ने,युवाहरुलाई रोजगारमूलक तालीम प्रदान गरि रोजगारी प्रवद्र्धन गर्ने ,मासुको उत्पादन वढाउन उन्नत जातको बोका साझेदारीमा वितरण गर्ने,कौशी तरकारी खेतिलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यहरु रहेका छन्।

नगरसभाका अध्यक्ष एवं महानगरका प्रमुख भीम पराजुली,सचिव एवं कार्यकारी अधिकृत उमेश वस्नेत, न्यायिक समितिका सदस्य तीर्थेन्द न्यौपानेले न्यायिक समितिको बार्षिक प्रतिवेदन तथा सार्वजनिक जग्गा संरक्षण समितिका संंयोजक विनोद वस्नेतले नगरमा ५४३ विघा जग्गा सार्वजनिक रहेको जानकारी दिनु भयो।

मनोज दाहाल

 

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया