कोभिडले स्वास्थ्य समस्यामा परेका पत्रकारको निःशुल्क उपचारका लागि काउन्सिलको ध्यानाकर्षण

इनेप्लिज २०७८ जेठ ३० गते १२:३१ मा प्रकाशित

सम्झना पौडेल ,काठमाडौँ-कोरोना (कोभिड–१९) महामारीले पत्रकार र मिडियामा पारेको प्रभाव सम्बन्धमा प्रेस काउन्सिल नेपालको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय ‘भर्चुअल’ कार्यक्रम आज सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले कोरोनाको अहिलेको महारीमा पत्रकारको पक्षमा काम गर्नु काउन्सिलको अहम जिम्मेवारी भएको बताउनुभयो।पत्रकारको अवस्था र आचारसंहिताको कार्यान्वयन सम्बन्धमा कार्यक्रम राखिएको भन्दै उहाँले कोभिडले समस्यामा परेका पत्रकारको निःशुल्क उपचार हुनुपर्ने,स्वास्थ्य सामाग्रीमा पहुँच पुग्नुपर्ने बताउनुभयो।

मिडिया विधेयकको विषयमा काउन्सिलको ध्यानाकर्षण भएको भन्दै अध्यक्ष बस्नेतले प्रेस मैत्री हुनुपर्नेमा जोड दिनुभयो।उहाँले लोककल्याणकारी विज्ञापन मार्फत मिडियाले पाउने सुविधा उपलब्ध गराउन सरकारसँग पहल गर्ने बताउनभुयो।उहाँले आचारसंहिताको पालना र कर्यान्वयनबाट स्वच्छ पत्रकारिताको विकास हुने भएकाले यसतर्फ सबै सचेत हुनुपर्ने,प्रदेशस्तरीय छलफलमा उठेका विषयलाई प्रतिवेदन अध्ययन गरी कार्यान्वयनमा लैजाने बताउनुभयो।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष तथा काउन्सिलका सदस्य विपुल पोख्रेल कोारेनाका कारण पत्रपत्रिका बन्द भएको,लोककल्याणकारी विज्ञापनमा समस्या भएको भन्दै तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भएको थियो।

कार्यक्रमका संयोजक एवं सदस्य शरद प्रसाद अधिकारीले देश संघीयतामा गएसँगै काउन्सिलका कामकारबाही विकेन्द्रिकरण भएको बताउनुभयो।उहाँले सातवटै प्रदेशमा काउन्सिलको प्रतिनिधि भएकाले पत्रकारको समस्यालाई नजिकबाट नियाल्ने अवसर पाएको बताउनुभयो।सदस्य अधिकारीले काउन्सिलको प्रदेशस्तरीय कार्यालय स्थापनाको लागि छलफल भएकाले यसलाई मूर्तरूप दिन पहल हुने बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल,वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालसहित कार्यक्रममा लुम्बीनि प्रदेशका ८ वटै जिल्लाका नेपाल पत्रकार महासङ्घका अध्यक्षको सहभागिता रहेकोउक्त कार्यक्रममा कोरोनाको कारण विज्ञापन पाउनु मुश्किल भएको,बिलहरूको भुक्तानी समयमा नभएको, पत्रिका प्रकाशनमा समस्या आएको लगायतका विषय उठाएका थिए।

तस्बिरः विपुल पाण्डे

 

 

प्रतिक्रिया