रोमेलु लुकाकु चम्किएपछि बेल्जियमले युरो कप फुटबलमा विजयी सुरुवात गरेका छ । १६औँ संस्करणको युरो कप फुटबलको आफ्नो पहिलो खेलमा बेल्जियमले रुसलाई पराजित गरेको हो ।
गएराति सेन्ट पिटर्सवर्गमा भएको खेलमा बेल्जियमले घरेलु टिम रुसलाई ३–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
रुसविरुद्ध बेल्जियमलाई जित दिलाउन लुकाकुले दुई गोल गरे । यस्तै थोमस मुनिएरले अर्को एक गोल गरे । खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
लुकाकुले आफ्नो गोल खेल दौरान हृदयघात भएर अस्पताल भर्ना भएका इन्टर मिलानका सहकर्मी तथा डेनमार्कका क्रिस्टियन एरिक्सनलाई समर्पण गरे । फिनल्याण्ड विरुद्धको खेल दौरान एरिक्सन अचेत भएर ढलेका थिए ।
यससँगै खेलको ३४औँ मिनेटमा थोमसले गोल गर्दै बेल्जियमलाई २–० को अग्रता दिलाए । खेलको ८८औँ मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३–० गोल अन्तरको शानदार जित दिलाए ।
प्रतिक्रिया