आज बिश्व मानव समुदाय अदृश्य कोरोना माहामारीको चपेटामा आक्रान्त छन । करिब सत्र महिना देखि मानव समुदायले भोग्दै आएको यो पिडादायी रोगले आजको मिती सम्ममा बिश्वको सैत्तिस लाख नब्बे हजार तिन सय बिस जनाको मृत्य भै सकेको छ । यहाँ अमेरिकामा छ लाख चौध हजारले आफ्नो ज्यान गुमाईसकेक छन् । आज बिश्व कोभिड १९ को नामले कुख्यात यो महामारी रोग देश बिदेशमा दोश्रो र तेश्रो लहरको सिर्जनाको भय आक्रन्त छन् । यस रोगको उपचारको बिधी प्रविधिले विकास गरिसकेको उपचार सुइँ ( भ्याक्सिन) विकास गरिसकेको भए तापनि सबै देशमा प्राप्त गर्न यथेष्ट अनि प्रयाप्त भै नसकेको अवस्था छ । बिभिन्न देशमा यस रोगको नया नया बिकसित रोगहरुको लक्षण देखा पर्नाले विश्वको समग्र ध्यान यस महामारी रोगको उन्मुलनमा केद्रित बनेको छ ।
नेपालमा यस रोगको दोश्रो लहरले अहिले देशका बिभिन्न शहर, बजार र गाउँ सबै आक्रान्त छन् । कोरोना रोगको भिन्न भिन्न स्वरूप र बिकसित रोगको लक्षणले चिकित्सक हरु दिन रात संघर्षरत छन् । नेपालमा आज सम्मको तथ्यांक अनुसार यस रोगबाट करिब आठ हजार तिन सय पांच जनाको निधन भै सकेको सरकारले पुष्टि गरिसकेको छ । हाम्रो जस्तो सानो मुलकमा यति ठुलो जनसंख्याको मृत्यु निकै ठुलो क्षती भएको मान्नु पर्छ ।
अमेरिका र नेपाल दुई बिपरित ध्रुबमा स्थित भएका देशहरु हुन् । यहाँ अमेरिकामा दिन हुँदा नेपालमा रात हुन्छ । पोहोर साल हामि यहाँ कोरोनाको चपेटमा आक्रान्त बनेको बेला नेपालमा पहिलो लहरले खासै केहि असर या भनौ त्यति क्षति पुर्याएन । अहिले यहाँ अमेरिकामा कोरोनाको आतंक धेरै मात्रामा मत्थर भै सकेको अबस्थामा त्यता नेपालमा यस रोगले ताण्डब नृत्य मच्चाई रहेकोछ । आज हामि दिनहुँ नेपालको समाचार सुनेर “शीघ्र स्वास्थ लाभको कामना” र “हार्दिक श्रद्धान्जली” लेख्न बिवस तथा बाध्य भएका छौं । यस्तै कुराले आजित बनेर मैले संचारको लोकप्रिय माध्यम फेसबुक नहेर्ने कोशिस नगरेको पनि होईन । तर आफ्ना आफन्तहरु आफ्ना शुभेच्छुकहरुको चिन्ता र चासोले फेसबुक खोल्न बाध्य पार्छ । मदन कृष्ण दाई अनि दीप श्रेष्ठ जी शकुशल घर फर्केको समाचार देख्दा मन हलुका बन्छ अनि खुशी हुन्छ । यस्तै समाचारको प्रतिक्षामा खोल्ने फेस बुकले संधै यस्ता खुशी बाँड्दैनन । अहिलेको अनुपातमा धेरै नराम्रा र थोरै खुशी बाड्ने समाचार पढ्न हामि बाध्य भएका छौं ।
यस पंक्तिकार पनि पोहोर सालको कोरोनाको महामारीले आक्रान्त बनेर दुई हप्ता अस्पताल बसेर घर फर्कन सकेको हुँ । मलाई थाहा छ कोरोनाको रोगले जितेर फर्केकाको आफन्त हरुको आँखामा बगेको खुशीका आँशुको मुल्य अनि महत्व । कोरोना रोगले ग्रसित बिरामीलाई हेर्न, भेट्न र देख्न पनि नपाईने अबस्थामा कस्तो होला परिवारको मनोदशा र आफन्तको चिन्ता । सहि नसक्ने र सम्हाली नसक्नुको पिडा । यस भोगाई र पिडा बाट गुज्रिसकेको कारणले म आजको दिन सम्म पनि बाहिर सबै संग ढुक्कले भेट्न र घुलमिल गर्न सकिरहेको छैन । निर्धक्क बन्न सकेको अझै छैन । लाग्छ र कामना गर्छु यस्तो पिडा कसैले भोग्न नपरोस । तर हामीले सोचेको र कामना गरेको जस्तो कहाँ हुन्छ र ?
गत सालको कोरोनाको प्रकोप बढ्दै गए पछि देशर शहर सबै बन्दा बन्दीको अवस्था भएको थियो । समयको सदुपयोग गर्नुको लागि हो क्यारे सिद्धिस्वर दाई ले प्रत्येक बिहान “गुड मर्निङ्ग’ को ईमोजी पठाउने गर्नु हुन्थ्यो । सिद्धिस्वर दाई मेरो साँहिला बुबाको छोरा । हजुर बुबा लोकमान श्रेष्ठका सात भाई छोरा र एक छोरी मध्ये वहाँ संहिलाको र म ठुलो कान्छाको छोरा । म भन्दा चार बर्षले जेठा । त्यसैले मेरो दाई ।
वहांको मेसेंजर्को मेसेज सकभर मैले पनि उत्तर पठाउने गर्ने गर्थें । बर्षौं चल्दै गएको यो सिलसिला या भनौ जीवनको लय मई महिनाको छ तारेख देखि भत्कियो । वहांको “गुड मर्निङ्ग” संदेश आउन छोड्यो । तर पनि मैले आफ्नो प्रकाशित सस्मरणका लेखहरु पठाउदै गरें । तर कुनै प्रत्युत्तर पाउन नसके पछि मनमा खुलदुली निकै बढ्दै गयो । मई महिनाको १० तारेखमा सावित्री भाउजु ले सिद्धि दाई बिरामी भएर भेन्टिलेटर हुनुहुन्छ क्रमिक सुधार हुदैछ भनेर खबर पठाउनु भो । भेन्टिलेटरमा भन्नु भए पछि निमोनियाले निकै ग्रस्त बनाएछ भन्ने लाग्यो तर आत्तिहाल्नु पर्ने केहि देखेको थिइन् । न्यु योर्कमा साठी बर्षको एउटा कोभिडको बिरामी एक सय बिस दिन भेन्टिलेटर बसेर कोरोना लाई जितेर फर्केको समाचार पढेको । त्यसैले सिद्धि दाई भेन्टिलेटरमा हुँदाको अबस्थाले मलाई चिन्ता पारेन । मईको तेह्र तारेखमा सावित्री भाउजुले दाईको अवस्था जटिल भएको र अहिले केहि भन्न नसकिने जानकारी फोनमा रुँदै भन्नु भो । त्यही भाब विह्वल स्थितिमा फोन राखिदिनु भो । सम्झे स्थिति निकै जटिल भै सकेछ । त्यसपछि प्रत्येक दिन दाईको स्थिति बुझ्नको लागि कहिले नेपालमा शरद र दिदीहरु लाई कहिले टेक्सास मा त्रिभुवन दाई र बहिनी कल्पना त कहिले बिराटनगरमा भाई शुरेश लाई फोन गर्न थालें । संधै सबै संग फोन गर्दा कामना गर्थे राम्रो खबर सुन्न पाउँ । अस्पताल बाट सकुशल घर फर्केको खबर सुन्न पाउँ भन्ने लाग्थ्यो ।
तर आफ्नो चाहना र कामना बिपरित खबर प्राप्त भो जुन महिनाको १० तारेख । मानब चोलाको अन्त्यको खबर सिद्धि दाईको देहावसानको खबर पाएँ । खबर अप्रत्यासित, अति पीडादायी र धेरै दुखद थियो । सिद्धिस्वर दाईले आफ्नो उनन्सत्तरी बर्षको उमेरमा यो भौतिक देह लाई त्याग गरेर सबैलाई छोडेर जानु भयो ।
सिद्धिस्वर दाई अर्थात् सिद्धिस्वर मान श्रेष्ठ बर्षले म भन्दा चार बर्ष जेठा भए पनि हामि साथि भाई जस्तै भएर अक्ष लोक परिवारमा हुर्केका थियौं । साहित्यिक, सांस्कृतिक अनि खेलकुदमा पनि हामि संगै संधै साथै हुनुहुन्थ्यो । कबि बिश्व बिमोहन र मैले साहित्यिक हस्त लिखित पत्रिका “तीनजुरे” निकाल्दा आफ्नो रचना दिएर मात्र होईन हामीलाई हर तरहले सहयोग गर्नु भएको थियो । दाई व्यंग लेख लेख्नुमा माहिर हुनुहुन्थ्यो । वहांको व्यंग लेख “कुकुर सम्मेलन” सायदै कसैले बिर्सेको होला । कविता, कहानी लेख्न, सुनाउनु र भन्न हामीलाई उक्साउनु हुन्थ्यो । घरमा स्थापना भएको “स्टुडेन्ट सप” मा आउने बिभिन्न पत्रपत्रिकाका समाचार हरु पढेर हामीलाई सुनाउन कहिले पनि बिर्सनु भएन । मेरो बुबा संग सिद्धि दाईले गरेको बैद्धिक र तार्किक छलफल सुनेर हामि दंग पर्ने गर्थ्यौं । सिद्धि दाइले नै सुझाएर भद्रपुर बाट निस्कने पत्रिकामा मैले पाठक प्रतिक्रिया र कविता पठाएको अझ याद ताजा छ । भन्ने नै हो भने अक्ष लोक परिवारको हामि साना भुरा हरुको नाईके नै सिद्धि दाई हुनुहुन्थ्यो । यी सब २०२४ साल अघिका कुरा हुन् ।
बिक्रम सम्बत २०२६ सालको एसएलसी को नतिजामा मैले राम्रो अंकमा दोश्रो श्रेणीमा उतिर्ण भए पछि मलाई बुबाले काठमाण्डौमा उच्च अध्ययन गर्न पठाउनु भएको थियो । बुबा निर्माण ब्यबसायी भएको कारणले त्रिचन्द्र कलेजमा आई एस्सी पढेर ईन्जिनियर बनोस भन्ने बुबाको ठुलो ईच्छा थियो । संहिला बुबाको छोराहरु ईश्वर दाई, बिशेस्वर दाई र सिद्धिस्वर दाई अनि काँईला बुबाको छोरा रमेश दाई उच्च अध्ययन गर्न काठमाण्डौको लगन टोलमा बस्ने गर्नु हुन्थ्यो । म पनि त्यहीं बस्न आएको थिएँ । सिद्धि दाई ले नै मलाई कलेजको भर्ना, पाठ्य पुस्तकको जोहो देखि काठमाण्डौका गल्ली गल्लीमा डोर्याउनु भएको थियो । प्रगतिशील बिद्यार्थी राजनीतिको गढ हाम्रो डेरामा संधै जसो भेला भै नै रहन्थ्यो । बिद्यार्थी राजनीतिमा पोष्टर टास्न होस् या जुलुसमा होस् दाई र म संग संगै हुने गर्दथ्यौ । विसं २०२९ सालमा साहित्यिक पत्रिका “पूर्वेली धुन” पत्रिकाको प्रकाशनमा पनि सिद्धि दाईले हामीलाई धेरै साथ् र सहयोग गर्नु भएको म सम्झने गर्छु । सिद्धि दाई सरल, सहज र निरन्तर संघर्षशिल व्यक्तित्वका धनि हुनुहुन्थ्यो । काठमाण्डौमा वहाँ संगको बसाईको पछिल्लो चरणमा क्षेत्रपाटीमा बस्दा पनि मलाई आफ्नो अभिभाबकत्व प्रदान गर्न कहिल्यै पछि पर्नु भएन ।
तेह्रथुम जिल्लाको सदरमुकाम म्याङ्ग्लुङ्ग बजारको ब्यबस्थापनमा शैक्षिक, संस्कृतिक र सामाजिक सुधार र बिकासको लागि हाम्रो हजुर बुबा लोकमान श्रेष्ठ र हजुर आमा अक्षय कुमारी श्रेष्ठको योगदान अतुलनीय छ । त्यहि योगदानको संरक्षण र प्रबर्द्धनको लागि सिद्धिस्वर दाईले नेपाली भाषाको साहित्यीक पत्रिका “अक्ष लोक” को प्रकाशन आरम्भ गर्नु भएको थियो । वहाँ कै अथक प्रयासले आफ्नै सम्पादन र प्रकाशनमा निरन्तर रुपमा धेरै बर्ष देखिको यो प्रकाशन नेपाली साहित्यको ईतिहासमा दर्ज भएको छ । त्यसको साथै वहाँले स्नात्तकोत्तर बिध्यार्थिका लागि उपयोगी बिभिन्न पाठ्य पुस्तक पनि प्रकाशित गर्नु भएको छ । सादा जीबन र उच्च विचार बोक्नु हुने सिद्धि दाई लोकतन्त्रको लागि लड्ने एक प्रगतिशील योद्धा हुनुहुन्थ्यो ।
अवकासको उमेर भए तापनि आज पर्यन्त लेखन, प्रकाशन र बिश्व बिद्यालयमा कार्यरत सिद्धि दाई एक संघर्षशिल जुझारु योद्धा हुनुहुन्थ्यो । प्राध्यापन पेशामा रहनु भएका वहाँ एक सामाजिक अभियन्ता हुनुहुन्थ्यो ।
तर विधिको बिधान यस्ता योद्धा भएर पनि यो कोरोना महामारीको रोग संग हार स्विकार्नु पर्यो । आफ्नो भौतिक शशरीर यस लोकमा नभए तापनि वहाँ प्रत्येक जन जन मा मन मन मा अजर अमर भएर रहिरहनु हुनेछ । वहाँले गर्नु भएका ति बिभिन्न सामाजिक संस्कृतिक अभियानले वहाँ अमर रहिरहनु हुने छ ।
अन्तमा –
आयौ तिमी कहाँ बाट त्यो पनि कसैलाई भनेनौ
गयौ तिमी कहाँ कहाँ त्यो पनि कसैलाई भनेनौ
यस जगतमा आएर यो कस्तो खेल रचायौ
सम्झी सम्झी तिमी लाई धुरु धुरु रुने बनायौ !!!
सम्झनामा सिद्धिस्वर दाई लाई सम्झदै अति भारी अनि गर्हुङ्गो मन लिएर भन्न म बाध्य छु वहांको दिबंगत आत्मा प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु ।
भर्जिनिया, अमेरिका
जुन ११, २०२१
प्रतिक्रिया