विश्वकप छनोट : अष्ट्रेलियासँग भिड्दै नेपाल

इनेप्लिज २०७८ जेठ २८ गते २:१७ मा प्रकाशित

फिफा विश्वकप छनोट तथा एसियन कप छनोट अन्तर्गत आज नेपालले अष्ट्रेलियाको सामना गर्दैछ । दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

विश्व वरीयतामा आफूभन्दा निकै माथि रहेको अष्ट्रेलियासँग खेल्दै नेपालले छनोट चरणको खेल टुङ्ग्याउने छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अष्ट्रेलिया र नेपालबीचको खेल राति पौने दश बजे सुरु हुनेछ ।

नेपालले विश्वकप छनोटको तेस्रो चरण पुग्ने सम्भावना गुमाइसकेको छ । जसकारण आजको खेलमा प्रदर्शनमा ध्यान दिने प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताएका छन् ।

यसअघि पहिलो भेटमा नेपाल अष्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित भएको थियो । नेपालले अष्ट्रेलियासँग यस अघि एक खेल खेलेको छ । जारी विश्वकप छनोट अन्तर्गत नै नेपालले २०१९ को अक्टोबर १० मा अष्ट्रेलियासँग घरेलु मैदानमा पहिलो पटक खेलेको थियो ।

एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियासँग उत्कृष्ट प्रदर्शन गर्ने योजनामा नेपाल रहेको छ । प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने नेपालको बाँकी नै रहेको छ ।

अहिलेसम्म पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया भने नेपाललाई हराएर विश्वकप छनोटको तेस्रो चरणमा पुग्न चाहन्छ । समूह ’बी’ मा अष्ट्रेलिया १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अष्ट्रेलिया अपराजित रहने समूहको एक्लो टिम हो ।

नेपाल भने चौँथो स्थानमा रहेको छ । नेपालले ६ अंक जोडेको छ । जारी छनोटमा नेपालले यसअघि चाइनिज ताइपेईलाई २–० ले हराएको थियो । तर, नेपाल जोर्डनसँग ३–० ले पराजित भएको थियो ।

प्रतिक्रिया