किन योगेशले आफू नगएर पहाडीलाई सरकारमा पठाए ?

इनेप्लिज २०७८ जेठ २७ गते १३:२४ मा प्रकाशित

पछिल्लो समय नेकपा एमालेमा माधवकुमार नेपाल पक्षमा भए पनि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीप्रति सफ्ट कर्नर राखिरहेका नेता योगेश भट्टराई बिहीबार प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तार गरेपछि फेरि चर्चामा आएका छन् ।

तर, यसपटक उनी मन्त्री भएकाले चर्चामा आएका होइनन् । यो प्रतिनिधिसभाको बैठकपछि प्रत्येकपटकजसो मन्त्रीमण्डल बन्दा चर्चामा आइरहन्छन्, योगेश ।
उनी बारम्बार चर्चामा आउनुको कारण चाहिँ २०७४ सालको निर्वाचनको समयमा प्रधानमन्त्री ओलीले ताप्लेजुङमा भाषण गर्दै उनलाई मन्त्री बनाउँछु भन्ने वाचा गरेकाले हो ।

यसपटक भट्टराई चर्चामा आउनुको कारण चाहिँ उनीनिकट गणेश पहाडी मन्त्रीमण्डलमा सहभागी भए । मन्त्रिमण्डलमा पहाडी सहभागी भएपछि भट्टराईले आफू ओली पक्षमा खुलेर लागि नसके पनि आफूनिकटलाई ओली सरकारमा सहभागी गराएको चर्चा चल्न थालेको छ ।

यो भट्टराई र पहाडीको निकट सम्बन्धका कारण चलेको चर्चा हो । पहाडी २०५४ सालमा एमाले विभाजन हुँदा मालेमा लागेका थिए । ‘पहाडी र भट्टराईको सम्बन्ध कति निकट छ भने भट्टराईले एक्लै नयाँ पार्टी खोले भने पनि पहाडीले भट्टराईको नै साथ दिनेछन्,’ उनीहरु निकट एक नेताले बताए ।

पहाडीलाई मन्त्री बनाउने भएपछि ओलीले योगेश भट्टराईको प्रतिनिधिलाई मन्त्री बनाएको चर्चा पनि चल्न थालेको छ । यसअघि ओलीले जारी गरेको ६ बुँदे प्रस्तावलाई सकारात्मक प्रतिक्रिया दिएका योगेश भट्टराईले पनि माधव नेपाल समूह छाडेर ओली समूहमा लागेको हुनसक्ने अनुमान गरिएको थियो ।

तर, अहिले सम्म उनी नेपाल समूहमा नै छन् । २७ गते संसदमा विश्वासको मत दिन पहाडी अनुपस्थित थिए । तर, नेपाल समूहले राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएपछि भने पहाडीले असन्तुष्टि पोखेका थिए ।

२०७० सालमा पनि उनी सिन्धुलीबाट निर्वाचित भएका थिए । यसपटक मन्त्रिमण्डल गठन गर्दा ओली पक्षमा खुलेमा भट्टराईले पनि मन्त्री पद पाउने निश्चित थियो ।

भट्टराई यही साता नेकपा एमाले एकता आह्वानका लागि ओलीले जारी गरेको ६ बुँदे प्रस्तावको पनि खुलेर स्वागत गरेका थिए । यसअघि समिट होटलमा भएको नेकपा एमालेको दोस्रो तहका नेताहरुको छलफलमा चाहिँ उनी सहभागी भएका थिएनन् ।

यसअघि बेलाबेलामा प्रधानमन्त्री ओलीका अभिव्यक्तिको समर्थन गरेकाले भट्टराईले माधव नेपाल पक्ष छोडेको पनि बताउन थालिएको थियो । ‘पहाडी मन्त्री बन्नु भनेको भट्टराई नै सरकारमा सहभागी हुनु जस्तै हो,’ नेकपा एमाले माधव पक्षका एक केन्द्रीय सदस्यले बताए ।

प्रतिक्रिया