कोरोना खोप सम्वन्धमा भ्रामक समाचार प्रकाशित–मुख्यमन्त्रीका प्रेस सल्लाहकार सुवेदी

इनेप्लिज २०७८ जेठ १६ गते १३:०७ मा प्रकाशित

विराटनगर,१६ जेठ।प्रदेश नं १ का मुख्यमन्त्रीको कार्यालय एवं निवास विराटनगरमा यही जेठ १४ गते कोरोना खोपको विषयलाई लिएर केही सञ्चार माध्यमहरुमा आएको समाचार प्रति खण्डन गरिएको छ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब सुवेदीद्वारा आज यहाँ प्रकाशित विज्ञप्तिमा विभिन्न स्रोतको हवाला दिएर मुख्यमन्त्री निवासमा खोप लगाउने योजना रहेको, मुख्यमन्त्री कार्यालयमा खोप लगाउने कार्यक्रम रहेको,अझ मुख्यमन्त्रीको सचिवालयको दबावमा खोप लगाएको भन्ने जस्ता अर्नगल एवं प्रायोजित रुपबाट गरिएको प्रचार र लेखिएका समाचारहरु प्रति खेद प्रकट गर्दै त्यस्ता भ्रमपुर्ण र प्रायोजित समाचारहरुको हामी खण्डन गर्दछौं उल्लेख गरिएको छ।

कोरानोको पहिलो डोज खोप लगाएका सबैलाई प्रोटोकल अनुसार मौज्दात खोपबाट दोस्रो डोजको खोप लगाउँदै थप खोपको व्यवस्था गर्न र बाँकी सबै नागरिकका लागि खोपको शीघ्र व्यवस्था गर्न अहोरात्र जुटिरहनु भएका मुख्यमन्त्रीलाई सोच्नै नसकिने तहको आरोप लगाएर भ्रमपूर्ण प्रचार गरिनु आश्चर्यजनक र निन्दनीय रहेको स्पष्ट पार्न विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रदेश सरकार प्रदेशका नागरिकलाई कोभीड –१९ को भाइरसबाट बचाउन, त्यसको रोकथाम,नियन्त्रण र उपचारमा सबै उपाय,स्रोत र सामर्थय जुटाएर अहोरात्र सक्रिय रहेको छ विज्ञप्तिमा उल्लेख गर्दै प्रदेशका सबै नागरिकका लागि खोप लगाउन सङ्घीय सरकार सँग समन्वय गर्दै खोप खरिदका बारे परामर्श गरिरहेको समेत जानकारी गराउँदछौं जनाइएको छ।

यसप्रकार प्रायोजित ढंगबाट गरिएका प्रचार र लेखिएका समाचारहरुमा कुनै सत्यता नरहेकोले भ्रममा नपर्न सबैमा हार्दिक अनुरोध गर्दछौं विज्ञप्तिमा सुवेदीले उल्लेख गर्नु भएको छ।

प्रतिक्रिया