आमा ! म महाभारत देख्दैछु

शशी खड्का बूढानिलकण्ठ,काठमाडौँ २०७८ जेठ ११ गते २१:२९ मा प्रकाशित

आमा तिमीले सानोमा सुनाएको महाभारत कथा आज आँखाले देख्दैछु
तिमीले एउटा अहङ्‍कारी अन्धो धृतराष्ट्र सकुनीको वर्णन गरेकी थियौ
म त यहाँ असङ्‍ख्य तर कानो धृतराष्ट्रहरूको जमात देख्दैछु
अनि षडयन्त्रकारी,अधर्मी,कपटी सकुनीको झुण्डैझुण्ड देख्दैछु॥१॥

महामारीमा अलापविलाप गरी भन्दै छन् अक्सिजन देऊ धृतराष्ट्र सुन्दैन
ठेलामा छट्‍पटाउँदै जीवनको भिख मागेको अन्धो अहङ्‍कारीले देख्दैन
तिमी भनेकोमा चित्त दुखाएर रून्छ गरिबको लाश थुप्रिँदा आँसु झार्दैन
गान्धारीझैँ पट्टी बाँधेर काम हुन्छ राष्ट्रहित केमा छ उनमा विवेवक छैन॥२॥

आफू पखाला लाग्दा सिंगापुर,अमेरिका,बेलायत पुगी फर्के उपचार गराइ
गरिबलाई भने हाच्छ्यू गरी फाल अम्बाको पातमा बेसार राखी खाऊ पकाई
कहिले वैज्ञानिक,कहिले डाक्टर बनी ख्यालठट्‍टामा कोरोनालाई हाँसो बनाए
अस्पताल नबनाई तिम्रो छाती कुरू क्षेत्रको कहालिलाग्दो श्मशानघाट बनाए॥३॥

सुनाउँथ्यौ आमा सत्ताका लागि पाण्डवले द्रौपदीलाई दाउमा राखे
कौरवहरूले द्रौपदीलाई निर्बस्त्र पारी अहङ्‍कारको हाँसोमा उडाए
अहिले लेण्डुपहरूले सत्ताका लागि तिमीलाई नै दाउमा राखेको देखेँ
आमा तिम्रो बस्त्र उतारी निर्लज्जको हाँसोमा रमाएर नाचेको देखेँ॥४॥

आमा सुनाएकी थियौ कौरवले पाण्डवलाई लाहाको घरमा जलाए
म यहाँ देख्दैछु तिम्रा यी लेण्डुपहरूले सबैलाई एकैठाउँमा जलाए
अशिष्ट भाषा गाली गलौजको वर्षा हुँदैछ त्यो छिमेकीलाई होइन
घरमा आगो लगाई खुसीमा मादल कसले बजाउने भन्‍ने होडमा॥५॥

तिमीले भीष्मप्रतीज्ञाको सन्दर्भमा भीष्मको महानता सुनाएकी थियौ
मैले देख्दै गरेको महाभारतमा त एकजना पनि भीष्म देख्‍न पाइनँ
सत्य र मातृभूमिको रक्षणमा अग्निको ज्वालामा पस्ने भीष्म देखिनँ
खोजेँ मैले भीष्म चारैतिर तर अहङ्‍कारको हुन्डरीमा कतै भेटिनँ॥६॥

कत्रो शान थियो तिम्रो विश्‍वभूगोलमा कहिल्यै परतन्त्रमा परिनौ
भीमसेन,भक्ति जन्मायौ गोरालाई हराउन आफ्नो कहिल्यै हार मानिनौ
शस्त्रअस्त्रले सुसज्जित बैरीहरू परास्त भए तिम्रा शूरवीर सन्तान देखी
गरिब थियौ तर कुनै खेद नगरी खुसी थियौ सन्तानको मातृमोह देखी॥५॥

बिन्ती छ आमा सक्छ्‍यौ भने फेरि एउटा भीमसेन जन्माइदेऊ
तिम्रो सतित्व हरबखत बचाउन आफू सेरिने छोरो जन्माइदेऊ
आमालाई बेचेर आफू धनी हुन खोज्ने लेण्डुपहरू नजन्माऊ
सक्छ्‌यौ भने आमा एउटा मातृभूमिको रक्षक भीष्म जन्माऊ॥६॥

शशी खड्का
बूढानिलकण्ठ,काठमाडौँ

प्रतिक्रिया