कथा-न्याय मर्‍यो

शशी खड्‍का बूढानिलकण्‍ठ, काठमाडौँ। २०७८ वैशाख १५ गते १०:२५ मा प्रकाशित

ऊ झ्यालखानाको चारदिवार भित्रबाट बाहिरको उज्यालो संसार चिहाउने कोसिस गर्दैछ।अँध्‍यारो र गन्‍हाउने ठाउँमा बसेर आफ्‍नो भाग्य लेखिदिने छैटी देवीलाई सराप्‍छ।मैले के बिगारेको थिएँ र तिम्रो देवी ? तिमीले मेरो भाग्‍यमा कहिल्यै नमेटिने कालो मसीले पोतिदियौ ? मैले कत्रो सपना सजाएको थिएँ आज ती सबै सपनाहरू कोशीको भेलले सात समुद्रपारि लगेर सामुद्रिक ज्वारभाटाले तितरवितर पारिदियो जसलाई अब एकत्रित गरी सजाउन सक्ने अवस्था रहेन।मेरो सपना आकाशको फल आँखा तरी मर भनेझैँ भयो।आज म गन्तव्यहीन पथमा रूमल्लिएर प्रहरीका अश्‍लील शब्‍दलाई कृष्‍ण भजन सुनेर मन्त्रमुग्ध भएझैँ आनन्दित हुन बाध्य भएको छु।“दु:खीको घरमा मात्र तेरो बास हुने भए,हे ईश्‍वर ! दया राखी अझ मलाई दु:ख दे” भनेर महान व्यक्ति अब्राहम लिङ्‍कनले त्यसै भनेका रहेनछन्।गरिबको घरमा भगवान आउन खोज्दा रहेनछन्।यो मलाई अहिले महसुस भइरहेको छ।मैले के पाप गरेको थिएँ र नखाएको विष लागिरहेको छ भन्दै ऊ भुतभुताउँदै थियो।

आफ्नो पीडा र कर्म देखेर निराश भएको ऊ साथीहरूको वार्तालापले झन् रिसायो।उसका कैदी मित्रहरू भन्दै थिए,आज प्रजातन्त्र दिवसका दिनमा पाँच सय कैदीहरूलाई आममाफी दिँइदै छ रे।ती हत्या,बलात्कार,मानव र वन्यजन्तु तस्करीको आरोपमा सजाय पाएका व्यक्तिहरू हुन् रे।उनीहरूले आचरणमा सुधार गरेको बहाना बनाई माफी दिँइदै छ रे।ती कोही नेताका आफन्त र कोही पार्टीका गुन्डा नाइके हुन् रे।अर्का दुई जना कैदीहरू आपसमा कुराकानी गरी भन्दै थिए।हाम्रा नेताहरू अन्यायमा परेका जनतालाई न्याय दिने न्यायाधीश हुन् रे।अब यस मुलुकमा अन्याय, अत्याचार,हत्या,हिंसा,जातीय विभेदको अन्त्य हुन्छ।गरिबले भोकै मर्न पर्दैन।नेपालले विकासको फड्को मारिसकेको छ।अब युरोप अमेरिकाबाट पर्यटक लिएर आउने आधुनिक रेलले लिपुलेक, लिम्फियाधुरा र कालापानीबाट जडीबुटी, फलफूल र अनाज युरोप, अमेरिका लिएर जान्छ।आफ्नो थैलो भर्न अनेक नारा र कुरा बनाउँछन् उनीहरू नेतालाई गाली गर्दै थिए। ती साथीहरूको कुराले उसले नशा नशामा रगत उम्लिएर पोलेको महसुस गर्‍यो र मुरमुरिँदै चिच्यायो, हातमा लालपूर्जा लिएर जग्गा अरूले भोगचलन गर्‍यो भनेर न्याय माग्न जाँदा शरीरमा लाठी बजार्ने, कलिला मुना निमोठ्ने अपराधीलाई उन्मुक्ति दिने, बोक्सीको आरोप लगाई गाउँले सोझा, निमुखा ,गरिब महिलालाई मलमुत्र खुवाउने अपराधीलाई महान् समाजसेवी भनी सम्मान र पुरस्कार दिने अनि आमाको छातीमा लात हानी घसारेर जबरजस्ती आफ्नो बनाउन खोज्ने छिमेकीसँग विद्रोह गर्न नसक्ने यी लाछीहरू आफूलाई न्यायाधीश भन्‍ने ? हुन त न्याय पनि पैसामा बिकेको देशका नेता पनि पैसे न्यायाधीश नै हुन्।यस्तै झोले र पैसामा बिकेका न्यायका हिमायतीले गर्दा नै मजस्ता व्यक्तिका लागि न्याय मरेको छ।ऊ भित्तामा टाउको ठोकी ठोकी चिच्यायो।प्रहरीले गाली गर्दै समातेर कोठाको कुनामा लगेर थचारिदिए।

ऊ थकित भएर सुँक्‍क सुँक्‍क गरी धेरै बेर रोयो र केही पनि नखाई त्यही निदायो।उसकी आमा आएर बाबु तिमी भोकै सुत्यौ ? म तिमीले पेटभरि खाएको, राम्रो लुगा लगाएर काम गर्न गएको देख्‍न चाहन्थेँ।घरमा खानेकुरा नहुँदा पनि मागेर तिम्रो पेट भरिदिन्थेँ।बाबु तिमीले आफ्नो के हातल बनाइ राखेको ? उसले आमा तपाईँ आउनुभयो ? तपाईँलाई देख्‍न नपाएको दुई वर्ष भयो। मलाई धेरै नियास्रो लागेको थियो।आज म सबै कुरा बेलिबिस्तार लगाउँछु,सुन्‍नुहोस् है आमा।उसले आमाको काखमा आफ्नो शिर राख्दै भन्यो।आमा मलाई नखाएको विष लागेको छ, म निर्दोष छु, मैले केही अपराध गरेको छैन। मेरो सबै कुरा सुन्‍नुहोस् है बिन्ती छ आमा।आमा ! आमा ! भनेर आफ्ना कुरा भन्दै थियो।ढोकामा प्रहरीको आवाजले झसङ्‍ग भई हेर्दा उसकी आमा त्यहाँ थिइनन्।ऊ डाको छोडेर रोयो।

उसले आफ्नी आमाको सङ्‍घर्ष सम्झियो।उसका आमाबुबा ललितादेवी र लतित साह तराईको भूमिहीन किसान भएकाले जीविकोपार्जन गर्नका लागि जमिनदारकहाँ बसेका थिए।उनीहरू दिनरात कडा मिहिनेत गर्थे।ललितादेवी असाध्यै सुन्दर थिइन्।जमिनदारका छोराहरू उनको सौन्दर्य र जवानी देखेर घुटुक्‍क थुक निल्थे।ललितादेवीले बिहे भएको एक वर्षमा नै छोरो जन्माइन्।ललितादेवीले आफ्नो प्रसव पीडा, गरिबी, अभाव सबै बिर्सिइन्। आफ्नो फरियालाई च्यातेर दौरा, सुरूवाल, टोपी, ओड्ने, ओछ्‍याउने सबै बनाई हुर्काउँदै थिइन्। छोराको राजकुमार नामाकरण गरियो।छोरो एक वर्ष पूरा भएर दुई वर्षमा प्रवेश गर्दै थियो।धेरै पटक जमिनदारका छोराहरूले ललितादेवीको अस्मिता लुट्ने असफल प्रयास गरेका थिए।ललित हरसमय श्रीमतीसँगै काम गर्न जाने भएकाले उनको अस्मिता जोगिएको थियो। गरिबको घरमा सुन्दर नारी हुनु पनि अभिशाप नै हुँदो रहेछ।एक रात ललितादेवीलाई जबर्जस्ती गर्न लागेको देखेपछि ललितले छानोमा रहेको लठ्‍ठी झिकेर हिर्काउन गए तर ती दाजुभाइले ललितको घाँटी थिचेर मार्न लागेपछि ललितादेवीले त्यसो नगर्न अनुरोध गरिन्।उनीहरूले ललितादेवीलाई लात्तीले हानेर पर हुत्याइदिए।ललितलाई मारेर नजिकैको जङ्‍गलमा रहेको सालको रूखमा झुन्‍ड्याइ दिए।ललितादेवीले सबै देखेकी थिइन्। भोलिपल्ट प्रहरीलाई जमिनदारले गरिबी र अभावका कारण आत्महत्या गर्‍यो भनी हत्यालाई पैसा दिएर आत्महत्यामा परिणत गरी घटना मिलाए र ललितालाई अरूसँग मुख खोले छोरोलाई पनि रूखमा झुन्ड्याइदिने धम्की दिए।उनले छोरोको जीवन रक्षाका लागि आँखामा पट्टी र मुखमा कहिल्यै नखोलिने ताल्चा ठोकिन्।उनका लागि न्याय सदाको लागि मर्‍यो।जाने ठाउँ र पैसा नभएको कारण चार वर्षसम्म उनी दिनभरिको कठोर परिश्रम र राति मासु लुछ्‍न आउने गिद्धको सामना गरिरहिन्।

छोरो पाँच वर्षको भएपछि उनी तराईको सुन्दर भूमि सदाका छोडेर मकवानपुरको हेटौंडा आइपुगिन्।उनले बालुवा चाल्दै छोरोलाई पढाउनका लागि सरकारी स्कुलमा भर्ना गरिदिइन्।एउटा टहरोमा कोठा लिइन्।अनेक दु:ख र कष्‍ट रहेर पनि छोराको लालनपालन गरिरहेकी थिइन्।छोरोले राम्रो पढेकाले उनी सबै दु:ख बिर्सिन्थिन्।राजकुमार तीन कक्षामा पढ्दै थियो उनको घरपटीले काठमाडौँमा साथीले खान, बस्नका साथै पढाइदिएर सरकारी जागिर पनि लगाइदिन्छन् भने।त्यहाँ खासै धेरै काम गर्नुपर्दैन तिम्रो छोरो पठाइदेऊ। सुरूमा ललितादेवीले आनाकानी गरिन् तर छोराको भविष्य उज्ज्वल बनाउनका लागि भनेर मटुमाथि ढुङ्‍गा राखेर पठाइन्।काठमाडौँमा थापाकाजीको घर दरबारजत्रो थियो।थापाकी श्रीमती र एक छोरो किरण थियो।थापाजी सरकारी उच्चपदस्थ कर्मचारी थिए।उनी समाजसेवी थापाजी भनेर पनि चिनिन्थे।उनी धार्मिक कार्यक्रममा सहभागी भई नगद सहयोग गर्थे।उनको अथाह सम्पत्ति थियो। राजकुमार उनीहरूलाई मालिक, मालिक्नी र छोरोलाई दादा भनेर बोलाउँथ्यो भने उसलाई राजु भनेर बोलाउँथे।उसले बिहान सबेरै उठेर फूलमा पानी राख्‍ने, गाडी धुने, घर सफा गर्ने र भाडा माझ्ने काम गर्नुपर्थ्यो। ऊ सबै काम सकेर पढ्ने गर्थ्यो।किरण राजुलाई भन्दा कुकुरलाई राम्रो खानेकुरा दिनुपर्छ भन्थ्यो भने थापा परिवार उसलाई त्यति माया गर्दैनथे। आफूहरू बाहिर खान जाने दिन बिहानको खाना राखिदिन्थे। बाहिरबाट खाना मगाएको दिन तँ चिउरा खा है भनेर दिन्थे भने अघिपछि बेलुकाको बासी खाना दिन्थे।घरमा पाहुना आउने दिन भने उसले सबैको माया र मिठो खानेकुरा खान पाउँथ्यो। पाहुनाले तिमीले त नोकरलाई पनि छोरोजस्तै माया गरेर राखेकी छौ है माया भनेर सोध्दा मालिक्‍नी राजुतिर हेरेर मुसुक्‍क मुस्कुराउँथिन्।राजुले धेरै पढेर आफ्नो भाग्‍य आफैँ बनाउने अठोट गरेकाले उसलाई नराम्रो शब्द र बासी खाना पनि राम्रो र मिठो लाग्थ्यो।राजुले अति दु:ख कष्‍ट सहेर एस. एल. सी. उत्तीर्ण गर्‍यो।

एस. एल. सी. उत्तीर्ण गरेपछि राजुले क्याम्पस पढ्ने मनसाय व्यक्त गर्‍यो।उसको मालिकले गाडी चलाउन सिकाइदिएर इजाजतपत्र बनाइदिई छोराको गाडी चलाउने चालक बनाइदिए।ऊ किरणलाई क्याम्पस पुर्‍याउने, ल्याउने, बिदाका दिन घुम्न लैजाने अनि बचेको समयमा घरको काम गर्थ्‍यो।एकपटक राजुले आमासँग घर छोडेर आउँछु भन्यो तर ललितादेवीले सरकारी जागिर लगाइदिन्छन् कि बाबु अलि समय दु:ख गर न भनेर सम्झाइन्।राजु किरणको बानी व्यवहारले दिक्‍क भइसकेको थियो।रक्सी, गाजा र केटी उसको दैनिकी थियो।किरणको बानी व्यवहारलाई उसका बाबुआमाले आधुनिकताको नाम दिएका थिए। हुन त परिवारमा तीन जनाको आआफ्नै व्यक्तिगत जीवनशैली थियो।उनीहरू देखावटी रूपमा एउटै छानामुनि बसे पनि वास्तविकता फरक थियो। किरण त्यसैको फाइदा उठाउँथ्यो र आमाबुबा केही भन्‍न सक्दैनथे।किरण कहिलेकाही बाहिर नै रात बिताउँथ्यो केटीको साथमा भने राजु गाडीमा नै सुत्थ्यो।किरण महिनैपिच्छे नयाँ केटी साथी लिएर हिँड्थ्यो।

एकदिन अचानक किरण घरबाट बेपत्ता भयो।त्यसपछि राजुलाई उनीहरूले माया गर्न थाले।मालिकले राजुलाई भने,राजु तँलाई आमाको नियास्रो लाग्यो होला ? हामी पनि तेरो आमालाई भेट्न चाहन्छौँ।राजु दङ्‍ग पर्‍यो सपना हो कि विपना उसलाई छुट्‍याउन गाह्रो परिरहेको थियो।ऊ खुसी हुँदै आमालाई भेट्न मालिक र मालिक्नी लिएर हेटौँडा गयो।त्यहाँ उसकी आमालाई बस्नका लागि एउटा घर बनाइदिने कुरा सुन्यो।उसकी आमासँग मालिकले भने,राजुले हाम्रो धेरै सेवा गरेको छ।हामीले उसको मासिक तलब जम्मा गरेर राखिदिएका थियौँ। यसमा केही पैसा थपेर हामी तपाईँलाई बास बस्ने ठाउँ बनाइदिन्छौँ।राजुले एकपटक भगवानलाई धन्यवाद दियो।आमाले राजुलाई बाबु म घर बनाउँछु अनि बुहारी भित्र्याउनुपर्छ भनिन्।राजु खुसी भयो।उनीहरू काठमाडौँ फर्किएको दस दिनमै आमाले सानो घर किनेर सरेको कुरा फोनमा सुनाइन्।राजुका खुट्‍टा भुइँमा थिएनन् उसका सपना पूरा हुँदै गएको थियो।२०७५ साल फागुन सात गते प्रजातन्‍त्र दिवसको दिन बिहानै प्रहरीको गाडी राजुको घरअगाडि आएर रोकियो र चारजना प्रहरी ढोकाभित्र पसे। राजुले सोच्यो मालिक आजै सेवानिवृत्त हुँदै छन् मलाई प्रहरीमा जागिर लगाइदिन लागेकी के हो ? केही समयको भलाकुसारीपछि राजुलाई बोलाएर प्रहरीको गाडीमा राखे।ऊ गाडीमा बसेर चौकी जाँदै गर्दा मेरो अनुमान सही रहेछ म त प्रहरी पो हुने भएँ।ऊ मनमनै खुसी हुँदै भन्‍नथाल्यो, ‘आमा तपाईँको छोरोले सरकारी जागिर खाओस् भन्‍ने चाहना पूरा हुने भयो।‘ प्रहरी चौकीमा पुगेपछि एकजना प्रहरी जवानले ल भन् तैँले किन हत्या गरिस्? ऊ छक्‍क परेर सोध्यो, हत्या कस्को? अझ लाज लाग्दैन तँलाई चारजनाको बलात्कार र एकजनाको बलात्कारपछि हत्या गरेर पनि मैले कसको हत्या गरेँ भन्‍न ? ऊ छागाबाट खसेझैँ भयो। बल्‍ल उसले थाहा पायो किरण बेपत्ता हुनु, मालिकले आमालाई घर किनिदिनुको रहस्य।मैले एउटा केटी साथी त बनाएको छैन,म कसरी बलात्कार र हत्या गर्न सक्छु ? उसले आफूमाथि लागेको आरोप अस्वीकार गरिरहयो।उसलाई अनुसन्धानको लागि थप समय लिएर यातना दिइयो।उसको मालिक आएर तेरो आमालाई चाहिने खर्च हामी दिन्छौँ तँ अपराधी होइनस् त्यो मलाई थाहा छ तर के गर्नु किरणलाई जेल चलान गरियो भने मेरो बेइज्जत हुन्छ।म कही पनि मुख देखाउन लायक हुनेछैन।तँ अपराध स्वीकार गर होइन भने तँलाई जेल पठाउन सक्‍नेले तेरी आमालाई मारिदन पनि सक्‍छु भनेर धम्क्याए।उसले आमाको जीवनरक्षाका लागि अपराध स्वीकार्‍यो।ऊ आजीवन काराबासको सजायँ तोकिएर जेल चलान भएको भोलिपल्ट आमाले घरभित्रै झुन्डिएर आत्महत्या गरिन् भन्‍ने थाहा पायो।जसको जीवन रक्षाका लागि उसले आफूलाई जबरजस्ती अपराधी बनाएको थियो उनैले संसार छोडिन्।उसकी आमाको लागि पहिल्यै मरेको न्याय अब उसका लागि उसकी आमासँगै सदाको लागि मर्‍यो …………………….. सदाको लागि…….।

-शशी खड्‍का
बूढानिलकण्‍ठ, काठमाडौँ।

प्रतिक्रिया