लकडाउनको उपहारभित्र नियाल्दा

अरुणबहादुर खत्री “नदी” २०७७ चैत ३१ गते २१:५२ मा प्रकाशित

 

“लकडाउनको उपहार” नामक कविता सङ्ग्रह साहित्यकार एवं कवि मित्र उराठी गौतमको २०७७ सालमा दोस्रो कृतिको रुपमा प्रकाशित भएको छ। यस संग्रह भित्र कविताक्रममा म मान्छे भएको छु,आहा!कस्तो गजब छ लकडाउन, कोसँग बताउँ म यो दुःखको सवाई ?,सँगै हाँसौ,सँगै बाँचौ,विजय भयोविजय भयो!!लगायत विभिन्न शीर्षकका २७ वटा कविताहरु रहेका छन्।उनको पहिलो कृति गुल्मी अमरपुर र सत्तिम्लाका गौतम वंशको चिनारी २०६९ सालमा प्रकाशित भएको थियो।कवि मित्र उराठको यस सङ्ग्रहभित्रको कवितामध्ये झण्डै आधा दर्जन जति कविता कोरोना प्रभावित छन् र अरु केही कविताले पनि कोरोनाको झल्को दिएका छन्।लकडाउनले मानवजातिलाई मात्र प्रभाव पारेको हो,सपनामा पनि तर्साउने गरेको हो तर अन्य प्राणी र प्रकृतिका लागि त बरदानसिद्ध भएको छ लकडाउन।हिमाल हाँसेका छन्,मयुर नाँचेका छन्,कोकिल गाना गाएका छन्, आकाशले नुहाउन पाएको छ, पन्छीले कावा खान पाएका छन्,वनचरहरु स्वच्छन्द विचरण गर्न पाएका छन्।सँगै हाँसौ,संगै बाँचौ शीर्षकको कवितामा आउ तोडौ यी जञ्जिर जसले हाम्रा हात खुट्टा बाँधेको छ आउ पखालौ यो मैलो जसले हाम्रो आत्मामा स्वार्थको लेप लगाएको छ भनिएको छ।

झिसमिसेमै उठेर बाटो लागे
म भने यसलाई बोकेर
कहाँ सक्थे त्यो दुरी नाप्न
लाग्यो अत्यासले जिउ थरथरी काँप्न।।

कवि मित्र उराठको कवितामा पाएको मूल कुरा काव्यिक इमान्दारिता र मौलिक बिम्बको खोजी हो।यस्मा समावेश गरिएका कविताहरु पढिसकेपछि पाठकलाई धेरै समयसम्म कोरोना र लकडाउनको झझल्को आइदिन्छ।कोरोना र लकडाउनको बारेमा यसभित्र सङ्ग्रहित प्रत्येक कवितामा राखेका छन्।यसले विविध किसिमका मननीय र विचारणीय विचार संप्रेषण पनि गर्न सकेको छ। कवि मित्र उराठ आफ्ना सृजनाहरुमा जहिले पनि कोशिस गरिरहेका हुन्छन् कि बिचारहरु निरासावादी नभएका सकारात्मक सन्देशमूलक हुन्।आगो ओकल्छ मान्छे शीर्षकको कवितामा युगौ युुगदेखि दासताको जाँतोमुनि पिसिरह्यो शताब्दियौ देखि साङ्लोले बाँधेर पशुजस्तै बेचिरह्यौ भनिएको छ।च्यातेर पाठेघर आमाको शीर्षकको कवितामा टुक्रन्छन् कोषिकाहरु र थपिदै जोडिदै जान्छन् जाइगोट, भु्रण हुँदै मेरा अङ्ग प्रत्यङ्ग बन्छन् सुन्दर गोल गोल आँखा बन्छन् नाक,मुख र कान बन्छन् मेरा हात खुट्टामा साना साना औँला बन्छन् बढ्दै र हुर्कदै जान्छु भनिएको छ।

हिजो जनताको बीचबाट
उसलाई लगेर
अध्यारो खोरभित्र
भोटे ताल्चा लगाउर राखियो
बाहिर काँडे तार लगाइएको थियो।

यस सङ्ग्रहभित्रका कविताहरु २०७६ चैत ३० देखि २०७७ भाद्र २७ सम्म कविद्वारा रचिएका छन्।कवितामा उनी यति कारुणिक बिम्बहरुसँग खेल्दै बगेका छन् एउटा साचो मनका कोमलता र संवेदनशीलता थोरै शब्दहरुमा सम्पूर्ण अभिव्यक्ति पोखेर प्रवाहित भएका छन्।कविको वर्णन असाध्यै राम्रो छ कविको कल्पनाको उडान अत्यन्तै वेगवान् छ।गाउँको माया गर्ने कविलाई आफ्नो प्रदेशको माया त हुने नै भयो।त्यसै भएर कवि मित्र उराठले सिस्ने हिमालदेखि रामग्रामसम्मको गाथा गायका छन्।हे भगवान!उज्यालो नहोस् भोलि बिहान शीर्षकको कवितामा म माथि सौतेनी आमाको टोकसो,भुत्ल्याँई,जगल्ट्याँई र लछारपछार लाचार भएर हेरिरहन्थे सायद विवश थिए पत्नीको सामु ती मेरा बाबा भनिएको छ।

भोक लागेर हैन घडी हेरेर खाने
निद्रा लागेर हैन समय हेरेर सुत्ने
निद्रा पुगेर हैन घडीको अर्लामसँग उठ्ने
एउटा समय तालिकामा जीवन बाँधेको म।

मलाई माफ गर प्रिय म हारेको छु कवितामा ती सुनौला केश,ती काला नयन त्यो पुष्ट छाती त्यो गोरो बदन मिलेका ती दन्त लहर आहा!कति सुन्दर देखेर सोह्र वर्षे जवानी मोहित भएँ म,बनयो कहानी!!भनिएको छ।भयङ्कर आवाजसँगै चट्याङ पर्यो बिजुली चम्क्यो एक्कासी हुण्डरी तुफान आयो कविले भनेका छन्् ।आहा!कस्तो गजब छ लकडाउन शीर्षकको कवितामा न आवत् जावत् यताउती छ न कसैसँग झैझगडा छ नसँधियारले साँच मिचेको छ न घुस्याहाले घुस मागेको छ कविले भनेका छन्।यो कृतिको मूल्य र स्तर पनि यिनै आधारमा आधारित रहेर निर्धारण गरिनुपर्ने हुन्छ।उनका कविता ज्यादै मार्मिक र पढ्न योग्य नै छन्।

 

पुस्तकः लकडाउनको उपहार
विधाः कविता
लेखकः मित्र ‘उराठी’ गौतम
प्रकाशनः प्रथम,२०७७ असोज
प्रकाशकः दायित्व वाङ्मय प्रतिष्ठान नेपाल
पृष्ठः १०२
मूल्यः रु.२००।–

सामाखुसी साहित्य समाज
ईमेल– [email protected]

-अरुणबहादुर खत्री “नदी”

 

 

 

 

 

 

 

 

प्रतिक्रिया