शेरवहादुर देउवाको नेतृत्वमा सरकार वन्ने संभावना छैन : कांग्रेस नेता अमरेश कुमार सिंह

इनेप्लिज २०७७ चैत २४ गते १५:११ मा प्रकाशित

नेपाली कांग्रेसका नेता डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापन गरेर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरवहादुर देउवाको नेतृत्वमा सरकार वन्ने कुनै संभावना नभएको वताएका छन् ।

कार्यक्रम नेपाल तस्विरमा पत्रकार प्रकाश गिरीसंग कुरा गर्दै नेता सिंहले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विघटन नै प्रमुख प्रतिपक्षी दलका नेता देउवासंग परामर्श गरेर नै गरेको समेत खुलासा गरे ।

संसद विघटनलाई असंवैधानिक भन्दै संघर्षमा उत्रिएको नेपाली कांग्रेसका नेता देउवाले नै संसद विघटन गर्न सहमति दिएको पहिलो पटक खुलासा भएको हो । अर्को निर्वाचन भएमा ठुलो राजनीतिक दलको रुपमा स्थपित हुने र प्रधानमन्त्री हुने लालसा नेता देउवामा रहेकोले गर्दा पनि अहिले उनी पनि प्रधानमन्त्रीका लागि इच्छुक नभएको र प्रधानमन्त्री वन्ने अवस्था समेत नरहेको नेता सिंहको विश्लेषण थियो ।

यो संसदलाई कोमामा पुर्याउन प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै क्रियाशिल भएको उनले आरोप लगाए ।

नेपाली कांग्रेसका नेता डा. सिंह सशस्त्र विद्रोह गरिरहेको तत्कालिन नेकपा (माओवादी)लाई शान्ति प्रक्रियामा ल्याउने १२ वुंदे सहमतिदेखि नेपाली राजनीतिमा सक्रिय छन् र नेपाली राजनीतिलाई गहिरोसंग विश्लेषण गर्ने क्षमता राख्छन् ।

संसद सुरु भएको छ तर अहिलेसम्म प्रधानमन्त्री ओली, विपक्षी नेता देउवा र प्रचण्ड कोही पनि संसदमा उपस्थित भएर वोल्नु भएको छैन, नेता सिंहले भने, नेपालको संसद अहिले कोमामा छ, यसले काम गर्न सक्दैन । यो संसदले काम गर्न नसकेपछि देश अर्ली इलेक्सनमा गएर छाड्छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावमा जानका लागि डराएर अहिलेको सरकारलाई समर्थन दिइरहेको उनको विश्लेषण थियो ।

प्रचण्डले यो सरकारलाई एक दिन पनि समर्थन गर्न हुंदैनथ्यो तर चुनावमा जांदा १० सिट पनि नआउने भएकोले समर्थन दिइरहेका छन्, नेता सिंहले भने ।

नेता सिंहले कांग्रेसले प्रधानमन्त्री ओली विरुद्ध नेपाली कांग्रेसले आफैं अविश्वास प्रस्ताव पनि नल्याउने र तत्कालै सरकारको नेतृत्व गर्न पनि सक्षम नहुने उनको विश्लेषण थियो ।

सरकार परिवर्तनका लागि प्रमुख प्रतिपक्षी नेता देउवा तात्नु भएको छैन किनकी उहांको प्रधानमन्त्री ओलीसंग अर्ली इलेक्सनमा सहमति छ, नेता सिंहले भने, कांग्रेस नेता रामचन्द्र पौडेल वा कृष्ण सिटौला सरकार परिवर्तनमा लाग्नु भएको छ जो संसदमा समेत हुनुहुन्न । संसदीय भूमिका नहुने नेताहरुको क्रियाशिलताले सरकार परिवर्तन हुन सक्दैन ।

सत्ताको सांचो जनता समाजवादी पार्टीसंग भएको र जनता समाजवादी पार्टी आफैं विभाजित अवस्थामा भएको विश्लेषणका साथ नेता सिंहले तत्कालै सरकार परिवर्तन नहुने र केपी शर्मा ओलीको सरकारले नै चुनाव गराउने दावी गरे ।

जनता समाजवादी पार्टी एकतावद्ध छैन, त्यो भित्र एक समुहको अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली हुन् भने अर्को तर्फको नेता पुष्पकमल दाहाल प्रचण्ड हुन्, त्यसैले जनता समाजवादी पार्टीको सहयोगमा अर्को सरकार वन्ने अवस्था नै छैन, सिंहले भने ।

राजनीति अवैधानिक ढंगले चलिरहेकोले गर्दा नै नेपाल सही ढंगले अगाडि वढ्न नसकेको उनको विश्लेषण थियो ।

संसद विघटनलाई अदालतले वदर गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री केपी ओलीसम्मले राजीनामा दिनुपथ्र्यो तर त्यसका लागि दवाव दिन अरु कोहीसंग पनि नैतिक अधिकार छैन, सिंहले भने, प्रमुख प्रतिपक्षी दलका नेता देउवादेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमेत पार्टी विधानले तोकेभन्दा वढी समय अध्यक्ष भइरहेका छन् र अवैधानिक ढंगले पार्टी चलाइरहेका छन्, यस्ता नेताहरुले अरुलाई कसरी नैतिकताको दवाव दिन सक्छन् र ?

नेता सिंहको लाइभ अन्तर्वार्ता यो लिंकमा क्लिक गरेर हेर्न सकिन्छ :

https://fb.watch/4IcRVIjFse/

प्रतिक्रिया