आइतबार, चैत २९ २०७७
काठमाडौं २१:४६
वासिङटन डिसी 12:01

कविता अनि कविता र फेरि कविता

बसन्त श्रेष्ठ २०७७ चैत २३ गते २३:४५ मा प्रकाशित

कविता जीवन न हो
त्यसमा हाँसो हुन्छ
त्यसमा रोदन हुन्छ
त्यसमा प्रेम हुन्छ
त्यसमा मिलन हुन्छ
अनि बिछोड हुन्छ
सबै कविता मिठा हुन्छन
तर यथार्थमा
आम मान्छेको बोली बोल्ने
खुल्ला आकास समेट्न सक्ने कविता
झन् मिठा हुन्छन !!!

साहित्यका बिभिन्न बिद्या मध्ये कविता लेख्न, पढ्न र वाचन गर्न म अति मन पराउछु | मैले कविता बाट नै नेपाली साहित्यमा प्रवेश गरेको हुँ । मलाई कविता लेख्न मन पर्नुको मुख्य कारण हो समयको बचत । छोटो समयमै एउटा कविता कोर्न सकिन्छ । कविता धेरै शक्तिशाली हुन्छ । एउटा कविताले नै थुप्रै कुराहरु व्यक्त गर्ने सामर्थ राख्दछ । कविताको आकार जति सानो हुन्छ त्यसको त्यतिनै प्रभाब र ब्यक्तिने शक्ति प्रबल हुन्छ । त्यसैले म कविता लेख्न रुचाउने गर्दछु |
हालसालै केहि मित्रहरुले आआफ्नो पत्रिकाको लागि रचना माग्नु भयो । मैले आफुलाई सजिलोको लागि हुन्छ एउटा कविता पठाउने विचार गरेको थिएँ । तर मित्रहरुले कविता होइन कुनै लेखको लागि नै अनुरोध गरे । सजिलोको लागि कुनै बिषयमा भए पनि हुन्छ पनि भन्नु भो । सोचें कतै मित्रहरुले कवितालाई उपेक्षित दृष्टिले त हेर्नु भएको त छैन ? कारण थाहा भएन । तर दुवै मित्रले लेख नै माग्नु चैं संयोग थियो या के थियो थाहा भएन । खैर जे कारणले होस् । म एउटा लेख लेख्न शुरु गर्दैछु । तर कुन बिषयमा सोचेको छैन । म कहिलेकाहीं लेख त लेख्ने गर्छु तर जसरि सजिलो र धक फुकाएर कविता कोर्ने गर्छु त्यति सजिलो लाग्दैन लेख लेख्न | ।

आउनोस कविता कै बारेमा केहि चर्चा परिचर्चा गरौँ । कसो हुन्न र ?

हो साहित्यका बिभिन्न बिद्या मध्ये कविता धेरै लेखिने र थोरै पढिने बिद्या नै हो । कविताको दाँजोमा कथा, उपन्यास, संस्मरण अनि यात्रा निबन्ध धेरै बिक्ने पुस्तक हुन् । तर कविताको लोकप्रियता धेरै छ । यो शक्तिशाली पनि छ ।

कविताका शब्दहरुले थुप्रै बिभिन्न अर्थ समेट्न सक्छन । थोरै लेखेर धेरै भन्न सक्ने शक्ति भएको कविता नै हो | थोरै समयमा छोटो कविताले संघर्षको संखनाद गर्न सक्छ |

अव्यक्त भावनाको अभिव्यक्ति नै कविता हो
सारा ब्रम्हाण्डका सजिब निर्जीव बस्तुहरु
ती कति धन्य हुन्छन
ती कति खुशी हुन्छन
जसको
कथा ब्यथा
कविले कविताबाट
व्यक्त गरिदिन्छन !

कविता मनको सुन्दर अभिव्यक्ति हो । कविको भावना लाई जुन कुराले मनन गर्छ त्यसै मार्फत नै कविताको जन्म हुन्छ । कविताको क्षेत्र असीमितछ
। आँशुको होस् या हाँसोको । खुशीको होस् या दु:खको । आफ्नो मनको भावनाको उद्गार नै कविता हो । कविता एउटा पूर्ण एक दर्शन पनि हो । जिन्दगीको बिबिध पक्षलाई उजागर गरेर लेखिएको आफ्नो मन भित्रको उद्गार नै बास्तबमा जीवन्त कविता हो । सम्पूर्ण मानबको जिजीबिषा बारे लेखिएको कविताले नै जीवन्तता प्राप्त गर्दछ । कविताको उत्पति हाम्रो जीवनको उत्पति संगै मानिन्छ । त्यसैले यो आदिम साहित्य पनि हो ।

साहित्यका अरु बिद्या भन्दा कविता धेरै र अति लोकप्रिय मानिन्छ । ठुला ठुला शहरका थुप्रै मेट्रो रेलहरुमा “पोएट्री फर मोसन” भनेर कविताका टुक्रा जताततै लेखिएको हुन्छ । शुभ कामको लागि शुभ कामनाका कार्ड दिनलाई होस् या दु:खका कुरा बाड्न लाई समबेदनाका कार्ड नै किन न होस । या कहीं मन्दिरमा होस, या चिहानमा होस् जहाँ तहीं छोटो मिठो कविताका टुक्राहरुले त्यहाँ आफ्नो भाबना / विचार ब्यक्त गरिरहेका हुन्छन् । कथा निबन्ध लेख्ने त्यहाँ न त स्थान नै हुन्छ न त त्यहाँ पढ्ने कसैको समय नै हुन्छ । कथा, कहानीले दिने संदेश कविताले एक पन्नामा दिने समर्थ राख्दछ । त्यसैले त कविता / गजल र गीतको लोकप्रियता अति नै धेरै छ । कविता गीत बन्न सक्छ । कथाको अंश बन्न सक्छ र उपन्यासको एक हिस्सा बन्न पनि सक्छ । त्यसैले त डा. तारा नाथ शर्मा भन्नु हुन्छ “साहित्यिक कलाको विशिष्ट उत्पादन नै कविता हो” । उहाँ अझ अगाडी बढेर भन्नु हुन्छ “कुनै पनि गतिशील राष्ट्रको कविता निरन्तर अगाडी बढिरहनु पर्छ । यसरी अगाडी बढिरहने कविता राष्ट्रिय र अन्तरास्ट्रिय दुवै फाँटमा उन्मेशोंमुख हुन्छ । तन्नेरी कविता यस्तो उन्मेशोंमुख यात्रामा अग्रगामी, उत्साहबर्द्धक र प्रेरणादायी हुन्छ” ।

धेरैले भन्ने गर्छन् कविता बुझ्नै गाह्रो । नबुझेको कविता सुनेर दिक्क लागेर आँउछ । हो कसै कसैले यस्तै भन्ने पनि गर्छन् । तर सबै कविता क्लिष्ट हुदैनन् । सबै कविता नबुझिने पनि हुदैनन् । थोरै शब्दहरुले धेरै कुरा बोल्नु पर्ने भएको कारणले अलिक सन्दर्भ बुझ्न कठिन त होला । तर सबै कविता त्यस्ता हुदैन । त्यसो त यो पनि भनिन्छ कि जुन पाठकको स्तर हुन्छ त्यसरी नै कविताको पनि स्तर हुन्छ । कविले कविताको बारेमा प्रकास पारिरहनु पर्दैन आफैमा मर्मशील हुन्छ । कवितामा ठुलो शक्ति हुन्छ । जसमा एउटा गहन विचार, अन्तर्निहित भाबना र गतिलो संदेश दिने शक्ति राख्दछ | कविता बुझ्न समयचेत र सान्दर्भिकतालाई मनन त गर्ने पर्ने हुन्छ ।

हो बरिष्ठ कबि मोहन कोइरालाका कविता बुझ्न धेरै कठिन छ | उनको “फर्सीको जरा” कविता त मै हुँ भन्नेले पनि बुझेको छ जस्तो लाग्दैन | हो अरु पनि बरिष्ठ कवि छन् जसका कविता बुझ्न अलिक गाह्रो नै हुन्छ | हो त्यो पनि एक समय थियो होला | कविता अलि कठिन र क्लिष्ट लेखेर अनि कसैले नबुझिने लेख्दा अलिक ठुलो र विशिष्ट कवि भईन्छ भन्ने भ्रम पनि थियो कि ? तर जे लेख्दा पनि कविता हुन्छ भन्ने सोचाई एक प्रकारको परिकल्पना मात्र हो | कविता साश्वत हुनुपर्छ, क्षणिक हुनु हुदैन | बास्तबमा कविता सबैले लेख्न सक्ने बिषय पनि हो तर सबैले लेख्न नसक्ने कार्य पनि हो | कसैले भनेका छन् “कविता लेखन एउटा आविष्कार हो | कुनै कविता लेख्नु भनेको एउटा नभनिएको र पहिले कहीं नबनेको संरचना तयार गर्नु हो | यस अर्थमा कविता लेखन एक धेरै महत्वपूर्ण कुरा हो | युद्ध, हिंसा, पीडा र यातनाको बिरोधी स्वर पनि कविता नै हो” |

अरु थुप्रै बरिष्ठ कविका कविताहरु धेरै सरल र सरस छन् । झन् छन्दोबद्ध कविता त संगीतको धुन झैं गित बनेर कानमा बज्छन् । माधब प्रसाद घिमिरे अनि कृष्ण प्रसाद पराजुली केही नाम हुन् जो छन्द कविताका हिमायती हुन् । सिद्धिचरण, केदारमान व्यथित, भूपि लगायत त्यस समयका थुप्रै कविका कविताहरु धेरै सरल र मिठा छन् । कबि मन्जुल, उषा शेरचन अनि दुर्गालालका कविता त पटक पटक सुन्न मन लाग्छन । भूपिका कविता र मुक्तक त धेरैले कण्ठस्त सुनाउन सक्छन् ।

अहिलेका चर्चित धेरै युवा कविहरुका कविता मिठा सरल, सरस र सशक्त छन् । बुझ्न सजिलो छ । सुन्दा अति मनोञ्जन प्रदान गर्दछ । अधिकांश कविहरुका कविताले जिबन्तता प्रदान गरेका छन र गरिरहने नै छन् । समय परिबर्तन भएको छ । छोटो, मिठो सरल र सरस कविता ले नै दर्शक र पाठकको मन खिच्न सक्छ । यो निर्बिबाद छ ।

कबि तुलसी दिवस भन्छन् “आजको कविता स्वरबद्ध, दृश्य र तरङ्ग पैदा गर्ने हुनुपर्दछ । अबको कविताले लिपिबद्ध मात्र नभएर ध्वनिमा उच्चारित बनेर मन्त्रोचारण झैं तरँग बनेर कानमा ठोकिन आईपुग्नु पर्छ” । त्यसैले आजको कविता सिडीमा, अल्बममा अनि ध्वनिमा अझ ससक्त र लोकप्रिय बनेका छन् । धेरै अघि नेपाल साहित्यिक पत्रकार संघ, नेपालले त्यस समयका लोकप्रिय कविहरुको स्वरमा कविताको क्यासेट निकालेको थियो । धेरै लोकप्रिय पनि भयो । तर त्यसको निरन्तरता हुन् सकेन । आज थुप्रै साहित्यिक अनलाईन पत्र पत्रिकाले कवितालाई स्वरमा कविता भनेर प्रकाशन गर्ने गर्दछ । त्यसको धेरै चर्चा र परिचर्चा हुने पनि गर्दछ र प्रभावकारिता पनि हुने गर्छ ।

आजको संचार माध्यमको बिकसित प्रारूपले कम्प्युटरको माध्यम बाट संसारभरका श्रोतालाई एकै छिनमा समेट्न सक्दछ । एकैछिनमा त्यसको नतिजाको उत्पादक र प्रत्योपादक बुझ्न सकिन्छ । त्यसैले कबि दिवसले भने झैं अबको कविता लिपिबद्ध मात्र होइन स्वर र धुन बनेर कानमा गुन्जिनु पर्छ ।

समाज बिकासको लागि नेपाली भाषा र साहित्यको कविता बिद्या एक सशक्त मध्यम हो । आज संसारभर छरिएर रहेका थुप्रै नेपाली लाई जोड्ने एक माध्यम नै आफ्नो साहित्य, कला, संस्कृति र भाषा नै हुन् । त्यो नै आफ्नो पहिचान हो । आफ्नो साहित्य र भाषाको बिकासको लागि धेरै शहरहरुमा बसोबास गरेका धेरै नेपालीहरुले कोठे कविता गोष्ठीको आयोजना गर्ने गरेको समाचार हामी सुन्दैछौं र देख्दै पनि छौं । प्रत्येक महिनामा आफ्नो समयानुकुल आयोजना गरिने यस्ता गोष्ठीले सामुदायिक सहयोग आदानप्रदान र सम्बन्ध प्रगाढ हुने कुरामा दुइ मत हुदैन ।
धन्यबाद !

बसन्त श्रेष्ठ
भर्जिनिया, अमेरिका

प्रतिक्रिया