विराटनगर, २० चैत।हात्ती पाइले विरुद्धको चक्की खुवाउने अभियान शुरु भयो।जनस्वाथ्य कार्यालय मोरङद्वारा विराटनगरको ट्राफिक चोकमा आज आयोजित शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला,जिल्ला समन्वय समितिका संयोजक नरेशकुमार पोखरले र कोशी अस्पतालका प्रमुख डा चुमनलाल दासले सामूहिक रुपमा औषधि खाई अभियानको शुभारम्भ गर्नुभएको हो।
ट्राफिक चोकमा रहेको स्वास्थ्य केन्द्र औषधि खाने मानिसहरुको उल्लेखनीय सहभागिताले केही समय तछाँडमछाडको स्थिति पनि देखियो।
हात्ती पाइले विरुद्धको यो अभियान १०औँ चरणको हो।छवौँ पटकमा सकिने अभियान सबै मानिसहरुले औषधि नखाँदा यो अभियान लम्बिएको स्वास्थ्य कार्यालयका प्रवक्त्ता धरनीधर निरौलाले जानकारी दिनुभयो।यसपटक सबै जनाले खाएको सुनिश्चिच नभएसम्म औषधि खुवाउने अभियान जारी रहने र सम्भवतः चैत मशान्त सम्ममा सबै नागरिकलाई औषधि सेवन गराई सक्ने प्रवक्त्ता निरौलाले बताउनुभयो।
दुई वर्ष देखि पाँच वर्षकाले एक चक्की,छ देखि १४ वर्षकाले दुई चक्की तथा १५ वर्ष माथिकाले तीन चक्की सहित जुकाको एक चक्की खानु पर्ने र यो रोगको सङक्रमण भएकाले औषधि खाँदा सामान्य वाकवाकी लाग्ने,टाउको दुःखने र रिङ्गटाले लक्षण देखिने प्रवक्त्ता निरौलाले भत्रुभयो।
उहाँका अनुसार मोरङमा नौ लाख२४ हजार ५६२ जनालाई ७८९ केन्द्रबाट औषधि खुवाउन पाँच हजार स्वास्थ्यकर्मी परिचालन हुने भनिएको छ।मोरङको मझारे,दादरबैरिया र जहदामा अझै पनि हात्ती पाइले रोगी भेट्टिएको बताइएको छ।
शरीरको कुनै पनि भागमा मासु जस्तो डल्लो देखिनु,हाइड्रोसिल हुनु,गलगाँड हुनु, खातखुट्टा सुनिएर हात्तीको खुट्टा जस्तो देखिनु नै हात्ती पाइले रोग हो भनिएको छ।
प्रदेशमा १४ जिल्ला रहेपनि यो औषधि मोरङ, धनकुटा र झापा पनि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ।
जनस्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईका अनुसार यस जिल्लामा एक लाख २२ हजार मानिसलाई हात्ती पाइले चक्की तथा जुकाको औषधि खुवाउन ४०० केन्द्रमा ३४२ स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिनुभयो भने जनस्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरी पौडेलले छ लाख २७ हजार मानिसलाई हात्तीपाइले चक्की खुवाउन स्थानीय तहले आफ्ना सुविधा अनुसार स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिनुभयो।
प्रतिक्रिया