चरीको सन्देश

शशी खड्का काठमाडौँ २०७७ चैत १९ गते ९:५८ मा प्रकाशित

 

मृग शावकहरू वनवन डुली रमाउँदै आमासँग
घरी घाँस शीतल घरी वृक्ष लतिका छेकिँदै घाम
कलिला मुनासँग लडीबुडी खेल्दै आनन्दको भावमा
उफ्री नाच्दै खाँदै दूध छिरी आमाको टाङमा ॥१॥

कुहुकुहु गरी कोइलीले मिठो स्वर घन्कायो रनवन
मयूर पङ्‍ख फिँजाई नाच्न थाल्यो पुलकित तनमन
पुतली नौरङ्‍गी सुन्दर यताउता फिरफिर गर्दै डुली
बघिनी डमरूको खेलमा रमाई सबै दुख पीडा भुली॥२॥

जरायो,खरायो,दुम्सी,सर्प,मुसा,थारल,घोरल पनि
जम्मा भई रमाउँदै थिए यो हाम्रो साझा घर हो भनी
फूलका रस लिई मौरी घारभित्र पस्यो मह बनाउँछु भनी
भुनभुन गर्दै भमरो फन्को मारी बस्यो सुन्दर फूल छानी॥३॥

डाँफे,मुनाल,कालिज,भँगेरा जुट्दै वसन्तको स्वागतमा
रमाउँदै थिए सबै गाँसी माला अनेकताको एकतामा
वयस्कहरू घरजम गरी छिटै सन्तान हेर्ने चाहनामा
प्रेमी प्रेमिका जोडी खोज्दै थिए जमघटको बहानामा ॥४॥

आगो दनदन दन्कियो चारैतिर कोलाहल मच्चियो
लालाबालाको शरीर क्षण भरमै खरानीमा बदलियो
निमेषमै हराभरा त्यो सुन्दर बस्ती उजाड बनिदियो
यत्रतत्र छरिएका लाशहरूका विभत्स दृश्य देखियो॥५॥

मेरा सन्तान सबै जलिगए यो आगोको रापमा
कतिदिन बाचूँ म भन मानव हो तिम्रो सन्त्रासमा
के प्राथना गरूँ म यी विवेकहीन स्वार्थी मानवसँग
आफ्नै घरमा आगो लगाई छिमेकी खुसी पार्ने सँग॥छ॥

तिम्रो निजी स्वार्थ पूर्ति गर्न जलाउँछौँ हामीलाई किन
नआओस् मैले जस्तै तिमीले सन्तान जलेको हेर्ने दिन
हे मानव हो ! दया गरी वन्यजन्तुलाई स्वतन्त्र बाँच्नदेऊ
महामूर्ख बनी तिमी हाम्रो घरमा वर्सेनी आगो नझोसिदेऊ॥७॥

सके संरक्षण गरिदेऊ सक्दैनौ त्यसै छोडिदेऊ
गर्दैनन् तिम्रो कुनै हानी भुरूरू उडेर रमाउँछन्
तिम्रा सन्तान जस्तो होइन मेरा आफैँ घर बनाउँछन्
आफ्नै रगत,पसिनाले आफ्नो सन्तति हुर्काउँछन्॥८॥

शशी खड्का
काठमाडौँ

 

 

प्रतिक्रिया