नगरपालिकाहरुले वैज्ञानिक आधारमा योजना तर्जुमा गर्नु पर्छ– मुख्यमन्त्री राई

इनेप्लिज २०७७ चैत १८ गते ९:४७ मा प्रकाशित

विराटनगर,१८ चैत।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नगरपालिकाहरुले वैज्ञानिक मापदण्डको आधारमा अवधिक योजना तर्जुमा गरि कार्य गर्नु पर्ने बताउनु भएको छ।

नगर विकास कोषद्वारा आज यहाँ आयोजित ‘ऋण लगानीमा पूर्वाधार÷समृद्ध नेपालको आधार ’नाराका साथ नगरपालिका वित्त तथा क्षमता विकास प्रादेशिक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले कृषि ,पर्यटन,उद्योग,खेलकूद, सामाजिक र आर्थिक क्षेत्रमा गरेको कार्यका सम्बन्धमा समीक्षा गरि जनतालाई प्रष्ट जानकारी दिनु पर्नेमा जोड दिनु भयो।

मुख्यमन्त्री राईले कोषले नगरपालिकाको संस्थागत आर्थिक अभिवृद्धि र पूर्वाधार विकास क्षेत्र लगायतमा गरेको दीगोपनका लागि श्रोत व्यवस्थापन उपलव्धी मूलक रहेको धारणा राख्नु भयो।

उहाँले सङ्घीय,प्रदेश र स्थानीय सरकारको एउटै लक्ष्य भनेको नयाँ नेपाल निर्माण गर्नु हो भन्दै प्रदेश सरकार योजनावद्ध ढंङ्गबाट आधुनिकरुपले सुन्दर प्रदेश नेपाल निर्माणका लागि नगरपालिकासँग साझेदारीरुपमा कार्य गर्ने विचार व्यक्त गर्नु भयो।

उहाँले ढल,बाटो लगायतका अन्य पूर्वाधारमा निर्माण योजनावद्ध ढंगले निर्माण नभएकोले हाल समस्या उत्पन्न भएको गुनासो व्यक्त गर्नु भयो।

मुख्यमन्त्री राईले प्रदेश सरकारले १८ पालिका समेटेर ‘वृहत विराट क्षेत्र’ कार्यलाई आगाडि वढाएको जानकारी दिदै यसवाट यी क्षेत्रको शहरी विकास हुनुका साथैका पर्यटन,खेलकूद क्षेत्रको उचाई वढाउन सहयोग पुग्ने बताउनु भयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिकालाई नयाँ शहर विकास अभियानमा कोषको सहयोगले अगाडि वढाउने बताउदै शहरीकरणलाई व्यवस्थित गर्न कोषको आर्थिक र प्राविधिक सरहानीय रहेको छ भन्नु भयो।

नेपाल नगरपालिकाका सङ्घका अध्यक्ष एवं भक्तपुर नगरपालिका प्रमुख अशोककुमार व्यञ्जु श्रेष्ठले २९३ नगरपालिका क्षेत्रमा ६४ प्रतिशत नागरिकको बसोवास रहेकोले आर्थिक रुपान्तरण क्षेत्रमा ऋण लिएमा कोषलाई सवलीकरण गर्नुका साथै रोजगार र समृद्ध कायम हुने धारणा राख्नु भयो।

कोषका सञ्चालक समिति सदस्य एवं दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीले पालिका सक्षम भएमा राज्यले समृद्ध हासिल गर्ने विश्वास व्यक्त गर्दै कोषले आयमुलक योजना क्षेत्रमा कार्य गर्नुपर्नेमा जोड दिनु भयो।

कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले सङ्घीयतालाई वलियो बनाउन जनप्रतिनिधिहरुले गरेको योगदानको प्रशंसा व्यक्त गर्दै गाउँपालिका क्षेत्रमा कोषले आगामी दिनमा कार्य क्षेत्र वढाउने जानकारी दिनु भयो।

नगर विकास कोषले शहरी खानेपानी तथा सरसफाई आयोजना, मझौला शहर ,एकीकृत शहरी वातावरण सुधार आयोजना, सह लगानी(खानपानी)आयोजना, शहरी पूर्वाधार विकास आयोजना,तेश्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना,नगर विकास कार्यक्रम दोश्रो तेस्रो चरण र एकीकृत शहरी पूर्वाधार आयोजनामा कार्य गरिरहेको छ।

कोषले आगामी चार वर्षका लागि रु २० अर्व लगानी गर्ने लक्ष्य राखेको।कोषले स्वपूँजी,नेपाल सरकार र दातृ निकायहरुको प्रतिवद्धताका आधारमा वित्तीय स्रोत परिचालन गर्ने भएको सोही अवधिमा जानकारी दिइयो।

कोषको सहयोगमा प्रदेशका १ हजार २०० योजना सञ्चालित रहेको छन्।यस अघि कोषले चार प्रदेशमा यस प्रकारको गोष्ठी सम्पन्न गरिसकेको छ।

गोष्ठीमा प्रदेशका नगरपालिकाका प्रमुख,उपप्रमुख,कार्यकारी अधिकृत,योजना शाखाका प्रमुख र इन्जिनियरहरुको सहभागिता रहेको छ।

प्रतिक्रिया