मुलुकलाई औद्योगिकरण गर्न स्वदेशी सामग्री उपभोग गर्नुपर्ने–प्रधानमन्त्री ओली

मनोज दाहाल २०७७ चैत १३ गते २२:३३ मा प्रकाशित

विराटनगर,१३ चैत।प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई औद्योगिकरण गर्न स्वदेशी सामग्री उपभोग गर्नुपर्ने बताउनु भएको छ।

उद्योग सङ्घठन मोरङका नव निर्वाचित कार्य समितिका पदाधिकारीहरुको पदस्थापना समारोह तथा ‘ मेरो देश मेरो उत्पादन’अभियानको प्रधानमन्त्री ओलीले आज अपरान्ह भर्चुवलद्वारा शुभारम्भ गर्दै वर्तमान राष्ट्रिय आकाँक्षा पुरा गर्न सरकार उद्यमी एव सहकारीसँग सहयात्री भै कार्य गरिरहेको र त्यसबाट मुलुक अगाडि वढिरहको धारणा राख्नु भयो।

प्रधानमन्त्री ओलीले अभियान भित्र सरकारको दृष्टिकोण समेटिएकोले यसले समग्र मुलुकको आर्थिक विकास गर्नुका साथै औद्योगिक क्षेत्र स्थापना,रोजगारी सिर्जना गर्ने,उत्पादन वृद्धि र उपभोग्यवस्तुमा आत्मनिर्भर बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भयो।

उहाँले आफ्नो उत्पादनको प्रयोगको अभ्यास देशबासीमा अभिवृद्धि गर्ने कुरा, उपभोग्य भन्दा वढी उत्पादन गर्ने,विदेश निर्यात गर्नुपर्ने कार्यमा अभियानले बल पुरयाउने विचार व्यक्त गर्नु भयो।

प्रधानमन्त्री ओली मुलुकमा राजनैतिक हिसाको मार्ग अवलम्वन गर्ने राजनैतिक दलले त्यो कार्य अन्त्य गरेको कारण लामो समयपछि मुलुकमा औद्योगिक बातावरणको अवस्थामा राम्रो रहेको छ भन्नु भयो।

उहाँले हामीले स्वदेशीे कच्चा पदार्थ, स्वदेशी श्रम,निक्षेप, तथा आवश्यक भए विदेशी कच्चा पदार्थ आयात गरी वस्तु उत्पादन गरी तयारी वस्तुको निर्यात गर्नु पर्नेमाजोड दिदै रोजगारी सिर्जना,नागरिक आम्दानी वृद्धि उत्पादनको माध्यमवाट अन्तर्राष्टिय क्षेत्रमा व्यापार बढाउने,व्यापार घाटा न्यून गरी सकारात्मक दिशामा पुरयाउन उद्यमीहरु लाग्नु पर्ने बताउनु भयो।

उहाँले स्वदेशी उत्पादन अभिवृद्धि,उपभोग्य आफ्नै उत्पादन, व्यापार सन्तुलन गर्ने,आयात व्यापार कम गर्न,अनावश्यक वस्तुको आयात त्याग गर्नु पर्ने लगायत दिशामा जान सबै नागरिकहरुले संकल्प लिनु पर्नेमा जोड दिनु भयो।

प्रधानमन्त्री ओलीले सरकारको तर्फवाट गर्नुपर्ने कार्य कारण विगत तीन वर्षको अवधिमा मुलुकको व्यापार घाटा कम भै सन्तुलनतर्फ वढेको चर्चा गर्दै निर्यात वृद्धि भै आयात घटको छ भन्नु भयो।

प्रधानमन्त्री ओलीले सरकारको औद्योगिक मैत्री नीतिका कारण उद्योग मैत्री बातावरण निर्माण भएको चर्चा गर्दै,श्रमिक उद्योमी,सरकार यी तीन वीचको सम्वन्धमा व्यवस्थित सुधार आएको बताउनु भयो।

उहाँले सरकारले हालै आठ बटा ठूलो औद्योगिक क्षेत्र शिलान्यास गरेको स्मरण गर्दै मुलुक औद्योगिक दिशातर्फ फर्केका छ भन्दै सेजहरु,नयाँ औद्योगिक क्षेत्रहरु र पालिकाहरुमा औद्योगिक ग्रामहरु निर्माणले साना, मझौला घरेलु उद्योग स्थापनाबाट उद्यमी प्रवित्तिको विकास भएको विचार व्यक्त गर्नु भयो।

प्रधानमन्त्री ओलीले सरकारका लागि जनताको जीवन रक्षा पहिलो प्राथमिकता रहेको छ भन्दै विगतमा कोरोना महामारीमा निशुल्क उपचारको व्यवस्था गरिएको स्मरण गर्दै र अहिले निःशुल्क खोप उपलव्ध गराइरहेको जानकारी दिनु भयो।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय अर्थतन्त्रको विकास तथा आयात प्रतिस्थापन कार्यमा अभियानको भूमिका सकारात्मक हुने बताउनु भयो।

उहाँले प्रदेश सरकार,संगठन र सङ्घ वीच सहकार्यमा कोभिड– १९ रोकथाम, नियन्त्रण र उपचारमा महत्वपूर्ण सहकार्य भएको चर्चा गर्दै आगामी दिनमा निर्माण हुने प्रर्दशनी स्थलमा निर्माणमा साझा अभियान प्रदेश सरकार जोडिने छ भन्नु भयो।

संगठनका निवर्तमान अध्यक्ष भीम घिमिरेले वर्तमान प्रधानमन्त्रीको कारण उद्योगका कर,श्रम समस्या समाधान भएको चर्चा गर्दै अहिले औद्योगिक मैत्री वातावरण निर्माण भएको अनुभूति गरेको बताउनु भयो।

सो अवसरमा संगठनका पूर्व अध्यक्षहरुले नव निर्वाचित अध्यक्ष सुयेश प्याकुरेललाई सपथ ग्रहण गराउनु भएको थियो भने अध्यक्ष प्याकुरेलले अन्य सदस्यहरुलाई गराउनु भएको थियो।विसं २०२४ मा संगठन निर्माण भएको हो।

मनोज दाहाल

 

 

 

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया