कांग्रेस नेता एवं पूर्व मन्त्री नवीन्द्रराज जोशीको निधन

इनेप्लिज २०७७ चैत १३ गते १६:५१ मा प्रकाशित


काठमाडौं (जीएनएन)  : कांग्रेस नेता एवं पूर्व मन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ ।

अकस्मात मस्तिष्काघात भएपछि गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालको अति सघन कक्षमा उपचाररत नेपाली कांग्रेसका नेता जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए ।

५७ वर्षीय जोशी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उद्योग मन्त्री समेत थिए । जोशीको जन्म  वि.सं. २०२० साल पुस २४ मा भएको थियो ।

शालीन तथा भद्र ब्यक्तित्वका धनि जोशी  गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट  वामगठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसंग झिनो मतले  पराजित भएका थिए । पहिलो र दोस्रो सॅविधान सभा निर्वाचनमा भने जोशी सोही  क्षेत्रबाट निर्वाचित भएका थिए ।

२०३६ सालरो विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाएका जोशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बनेका थिए । २०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाको उप मेयरमा निर्वाचित भएका जोशी प्रचण्ड नेतृत्वको माओवादी-कांग्रेस गठबन्धन सरकारमा उद्योग मन्त्री बनेका थिए ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत रहेका जोशीका  श्रीमती र एक  छोरी छन् ।

प्रतिक्रिया