राई हत्याका दोषीलाई कारवाही नगरेसम्म शव नवुझ्ने

इनेप्लिज २०७७ चैत ८ गते १४:०५ मा प्रकाशित

विराटनगर,८चैत।विराटनगर–३ निवासी नितेशकुमार राईको मृत्यु सम्वन्धमा प्रहरीले सत्यतथ्य एवं दोषीलाई कारवाही नगरेसम्म शव नबुझ्ने परिवारका सदस्यहरुले आज यहाँ माग गरेका छन्।

राईकी धर्मपत्नी लक्ष्मी राई सहित परिवारका सदस्यहरुले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गएको चैत ५ गते बिहीबार साँझ ६ बजे वडा नं १९ बैजनाथपुरको धनपुरामा महेश थानदारकोमा भोज खान जान्छु भन्दै गएकोमा चैत ७ गते रुखमा झुण्डिएको अवस्थामा लास फेला परेकोमा हत्या भएको हो भनी दावी गर्दै प्रहरी समक्ष आवश्यक अनुसन्धान गर्न माग गरिएको छ।

धर्मपत्नी राईले सधै घरमा बोलाई लैजाने साथी भोला शर्मा र ठेकेदार मनीत गुप्ताले समेत मृतक स्कुटरमा धनपुरा गएको मात्र जानकारी दिएको भन्दै शव भेटिएको ७२ घण्टा भैसकेको अवस्थामा अहिलेसम्म कुनै ठोस जानकारी प्रहरीबाट प्राप्त नभएको आरोप लगाउनु भयो।भाउजु पुनम राईले मृतक राईको शरीरमा नीलडाम रहेको,दाँत भाच्चिएको र कपडा धुलोमैलो लागेको अवस्थामा भेटिएको यो सुनियोजित हत्या भएकोले चाँडो सत्यतथ्य प्रहरीले सार्वजनिक गर्नुपर्नेमा जोड दिनु भयो।

मृतक राईको आम्दानीबाट ९० वर्षिय वृृद्ध आमावावु र एक चार वर्षिय छोरा पालनपोषण हुने गरेको अहिले ज्यादै कठिनाई अवस्था सिर्जना भएको सासु दिलमाया मगरले बताउनु भयो।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले मृतक राईका सम्वन्धमा आवश्यक अनुसन्धान भैरहेको अहिले नै के हो भन्न नसकिने भन्नु भयो।

मृतक राई ठेक्का पट्टा कार्य गर्ने गरेका थिए।

प्रतिक्रिया