सञ्चारगृहलाई दक्ष पत्रकारको आवश्यक–सात दिने पत्रकारिता तालिम सम्पन्न

इनेप्लिज २०७७ चैत २ गते २२:२७ मा प्रकाशित

विराटनगर,२चैत।सञ्चारगृहलाई आवश्यक पर्ने दक्षजनशक्तिको पूर्तिका लागि पत्रकारिता सम्वन्धि सात दिने आधारभूत तालीम आज यहाँ सम्पन्न भएको छ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय काठमाडौ र मोरङ शाखाले संयुक्त रुपमा सञ्चालित तालिममा मोरङ,सुनसरी,झापा,धनकुटा,सप्तरी,सिरहा र उदयपुरका ३० जना महिला सहित ४२ जनाको सहभागिता रहेको थियो।

तालिमका प्रशिक्षाथीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञानका लागि स्थलगत रुपमा समाचार सङकलन गराइएको थियो।एक देखि दुई वर्षसम्म विभिन्न सञ्चार गृहमा कार्य गरिरहेका प्रशिक्षार्थीहरुलाई महासङ्घका पूर्व सभापति धर्मेन्द्र झा लगायतले प्रशिक्षण दिनु भएको हो।

महासङ्घका प्रदेश नं १ का सभापति बिक्रम लुईटेलले प्रमाणपत्र वितरण गर्दै समाज,भुगोल,जातजाति लगाएतका क्षेत्रमा राम्रो अध्ययन गरी कार्य गरेमा अगाडि वढ्न सकिने बताउनु भयो।उहाँले वर्तमान अवस्थामा पत्रकारिता पेशाबाट निरासा हुने अवस्था नरहेको चर्चा गर्दै पत्रकारिता क्षेत्रमा सत्य,तथ्यका साथै प्रविधिको प्रयोग गर्न आग्रह गर्नु भयो।

प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले मिडिया क्षेत्रमा दक्ष जनशक्तिको खाँचो टड्कारो रुपमा रहेको बताउदै समाजमा रहेको कुरिति नियन्त्रणका लागि आफ्नो क्षेत्रबाट भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो। महासङ्घका मोरङ सभापति बन्धु पोखरेल, महाप्रसाद खतिवडा र महासङ्घ काठमाडौकी सङ्घर्ष पन्तले लोकतन्त्र,सङ्घीयतालाई वलियो बनाउन र मुलुकमा सुशासन कायम राख्नका लागि प्रशिक्षार्थीहरुले कलम चलाउनु पर्नेमा जोड दिनु भयो।

प्रतिक्रिया