विदेशबाट फर्केका युवाहरु लागे मालभोग केरा खेतीमा

मनोज दाहाल २०७७ फागुन २९ गते १२:४२ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,२९ फागुन(रासस):मोरङका युवाहरु व्यवसायिक केरा खेती गर्ने अभियानमा जुटेका छन्।

विदेशमा १० नङ्ग्रा खियाउनका सट्टामा स्वदेशी माटोमै काम गर्ने उद्देश्यले व्यवसायिक केरा खेती लगाउन अभियान सञ्चालन गरेका छन्।

वैदेशिक रोजगारीका लागि कतार,संयुक्त्त अरब इमिरेट्स,साउदी अरब,कुवेत तथा मलेशिया लगायतका देशहरुमा पुगेका मोरङका १० जना युवाहरुले कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा ८५ बिघा जग्गामा मालभोग जातको केरा खेती लगाएका छन्।

उक्त्त केरा खेतीबाट वार्षिक रुपमा प्रति बिघा रु तीन लाख सम्म आम्दानी गर्ने लक्ष्यका साथ कार्य गरिरहेको सोम केराखेती कृषि फर्मका धनी सोमनाथ चापगाँईले बताउनु भयो।

वैदेशिक रोजगारीमा तीन वर्षदेखि पाँचवर्षसम्म काम गरी स्वदेश फर्केका यी युवाहरु व्यवसायिक केरा खेती गरेर केही गर्ने सोचमा देखिएका छन्।तातो घाममा काम गर्नु भन्दा स्वदेशकै अनुकुल हावापानी र वातावरण काम गर्नु नै उचित ठानेका यी युवाहरु कृषि क्षेत्रमा लागेका हुन्।

परनिर्भरता हटाउने,व्यापार घाटा कम गराउने र स्थानीय स्तरमा रोजगार पनि सिर्जना गर्न सकिने भएकोले यसमा यी युवाहरु आकर्षित भएका हुन्।

अनेक सम्भावना रहेको हाम्रो मुलुकमा जाँगर नभएपछि विदेशिने गरेको र विदेशमा दुःख पाएपछि स्वदेशमै केही गर्न हिम्मत गर्नु सकारात्मक पक्ष रहेको कृषि निर्देशनालय विराटनगरका प्रमुख प्रकाश डाँगीले बताउनुभयो।यो पेशामा शिक्षित युवाहरुको सहभागी हुने निकै सुखद पक्ष हो,यसले गर्दा देशमा आवश्यकता पर्ने वस्तुहरुको अभाव टर्छ भन्नुभयो।

‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारको घोषणालाई अब युवाहरुकै काँधमा रहेको टिप्पनी गर्दै प्रमुख डाँगी भन्नुहुन्छ, पछिल्लो समयमा कृषिमा युवाहरुको आकर्षण बढ्नु राम्रो हो ।” केरा खेतीबाट केही नभएपनि वार्षिक प्रति िबिघ रु.तीन लाख आम्दानी गर्न सकिन्छ युवा कृषक सोमनाथ चापागाँईले जानकारी दिनु भयो।

सुन्दर हरैचा नगरपालिका निवासी चापाँगाई मोरङकै कानेपाखरीमा वार्षिक रु.५० हजार तिर्ने गरी लगाइएको केरा खेतीमा ३० जना युवाहरुले रोजगारी पाएका छन् ।केरामा सबैको सजिलै पहुँच छ,तर उत्पादनमा कमजोर रहेको हाम्रो मुलुकमा केरा खासगरी भारतबाट आयात हुने गरेको छ।पछिल्लो समयमा केरा खाने उपभोक्ता बढेपछि यसको आपूर्तिमा मोरङ,कैलाली, नवलपरासी र सुनसरी जिल्ला अघि सरेको छ।मोरङको होक्लाबारीमा लालुमाया कृषि फर्म,प्रगति कृषि फर्म,सोम केरा खेती कृषि फर्म,अम्बरमणि कृषि फर्म मार्फत व्यवसायिक केरा खेती शुरु भएको छ।

सोम केरा खेती कृषि फर्मका धनि चापागाँईले केराको बिरुवा प्रदेश नं २ को निजगढबाट ल्याएका हुन्।बिरुवा र रोप्ने समेत गरी एक बोटमा रु.४२ खर्च भएको जानकारी दिँदै केरा रोपेको १८ महिना पछि उत्पादन दिन थाल्छ।एक बोटमा १२ दर्जन सम्म केरा फल्छ,बजारमा मालभोग केराको माग पनि रहेकोले बिकी गर्न कुनै समस्या नभएको कृषक चापागाँईको भनाई छ।

रोग नलागेको अवस्थामा एक पटक रोपेको बिरुबाले १२ वर्षसम्म उत्पादन गर्न सकिने उहाँले बताउनु भयो।केराको घारी काटिसकेपछि सोही स्थानमा पुनःकेराको बोट उम्रिन्छ।यो नै केराखेतीको मूल विशेषता भएको कृषक चापागाँईको भनाई छ।केरा गर्मी हावापानीमा हुने बाली भएपनि बढी आद्रतादेखि लिएर धेरै कम आद्रता भएको हावापानीमा पनि यसको खेती गरेको भेटिन्छ।

कम तापक्रममा केरा खेती फस्टाउँदैन।यसका लागि गर्मी चाहिन्छ।यसका लागि औषत तापक्रम २६ दशमलव सात डिग्री सेल्सियस तापक्रम र प्रति महिना १० मिली.सिँचाईको आवश्यकता पर्ने पानी जम्ने ठाउँमा केरा खेती हुँदैन कृषि प्राविधिकहरु बताउँछन्।

नेपालमा मालभोग, विलीयम हाईब्रिड, चिनीया चम्पा, हरिछाल,रोवस्टा र डवार्फ क्याविन्डीज जातको खेती गरिदैँ आएको पाईन्छ।नेपालमा हरियो केराको तुलनामा पहेंलो केराको बढी मूल्य पाईने हुँदा पहेंलो केरामा मालभोग केरा नै कृषकहरुले बढी रुचाएका छन्।

अर्का व्यवसायी हरिनारायण श्रेष्ठले राम्रो आम्दानी हुने यो खेती गर्दा बीमा पनि गरेको छु भन्नु भयो।कही कुनै कारणले बाली नोक्सान भएमा बीमा कम्पनीले क्षतिपनि व्यहोर्ने भएकाले जोखिम छ उहाँले भन्नभयो।

उहाँले केरा खेतीका लागि रु तीन देखि पाँच लाखसम्मको जोखिम व्यहोर्ने गरी प्रति बिघा रु पाँच हजार २०० बीमा रकम भुक्तानी गरेको जानकारी दिनुभयो ।उहाँले केराखेतीमा आवश्यक पर्ने मल नेपालमा उलब्ध नहुने भएकोले भारतबाट मगाउने गरेको समसइा बताउनुभयो।यस खेतीका लागि आवश्यक पर्ने युरिया, डिएपी,स्ल्फेट,पोटास, क्यालसियम,वोरेक्स र वोमप्लावर चाहेको बेलामा नेपालमा नपाउने भएकोले भारतबाट मगाउने गरेको जिकिर उहाँको छ।

यसैगरी केरामा लाग्ने गवारो रोगबाट जोगाउनका लागि सुपर डि किटनाषक औषधि प्रयोग गर्ने गरिएको छ।रोग र किराबाट जोगाउन निकै चनाखो भएर गर्नु पर्ने यो खेतीमा लाग्नेले पछुताउनु पर्ने समस्या नरहेको कृषक चापागाँईको भनाई छ।

सरकारले कृषिमा व्यवसायीकरण भनिए पनि हालसम्म सङ्घीय तथा प्रदेश सरकारबाट कुनै सहयोग नपाएको उहाँहरुको गुनासो रहेको छ।उत्पादित केराको बजारको कुनै समस्या नरहेको चापगाईले बताउनु भयो।

केराको मुख्य बजार भनेको काठमाडौको बल्खु रहेको छ भने अन्यमा पोखराज, दाङ,विराटनगर,धरान,काकरभिट्ट छन्।उहाँका अनुसार बजारमा केराको कोशा अनुसार रु तीन देखि रु पाँचसम्ममा कमिशनको आधारमा थोक बिक्रेतालाई आफ्नो उपस्थितिमा बिक्री गर्ने गरेको जानकारी दिनु भयो।

केराको बोटपिच्छै मल लगायत औषधि छर्किनुका पर्ने र समय समयमा झारपातका गोडमेल आवश्यक रहेको छ।यसको राम्रो उत्पादनका लागि कात्तिक देखि चैतसम्म १० देखि १२ पटक माटोको अवस्था हेरि सिँचाई उपलव्ध गराउन वोरिङको व्यवस्था गरिएको अर्का व्यवसायी मणिराज तामाङले बताउनु भयो।

उहाँका अनुसार खेती लगाएको स्थानमा आवश्यक्ता अनुसार निःशुल्क पाकेको केरा उपलव्ध गराउने हुनाले चोरी हुने अवस्था नगण्य रहेको विचार व्यक्त्त गर्नु भयो।रोजगारी प्राप्त गरेका स्थानीय युवा नारायणबहादुर भण्डारीले बगानका कारण ग्रामीण क्षेत्रमा आर्थिक रुपमा केही वृद्धि भएको प्रतिक्रिया दिनुभयो।

उहाँले विगतमा वैदेशिक रोजगारीका लागि अरब गएपनि स्वदेशमै रोजगारी उपलव्ध हुँदा परिवारसँग बस्न पाउँदा खुशी लागेको बताउनु भयो।

भण्डारीले केराखेती सम्वन्धमा अनुभव हासिल गरी भविष्यमा यसको खेती गर्ने सोच रहेको धारणा व्यक्त्त गर्नु भयो।

राम्रो सिँचाईको व्यवस्था भएको ठाउँमा जाडो महिना बाहेक जुनसुकै समयमा पनि केरा रोप्न सकिन्छ । मलहरु केरा पसाउनु अघि दिनु पर्दछ।अग्ला केराको बोटहरुलाई बाँस र अन्य काठबाट टेका दिएर बोट ढल्नबाट जोगाउनु पर्छ। केरा पकाउन सकिने फल भएकोले उच्च आम्दानीका लागि बजार मूल्य बुझेर ढिलो वा चाँडो बालीबाट नाफा लिन सकिन्छ।

स्वास्थ्यको दृष्टिकोणले केरा उपयोगी फल हुनुका साथै यसमा भिटामीन ‘ए’, ‘वी’ र ‘सी’ जस्तो आवश्यक पोसिलो पर्दाथ पाईन्छ।दुब्लो पातलो मानिसहरुले दुग्धमा खेरा खानाले छिट्टै तौल बढ्ने र हस्टपुष्ट देखिने डा आबिद हुसेनले बताउनुभयो।

मानिसको आम्दानी बढेसँगै जीवनशैलीमा आएको परिवर्तनले पछिल्लो समयमा फलफूलको बिक्री बढेको पाइएको छ।

मनोज दाहाल

 

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया