‘रेष्ट रुम’ स्थापनाबाट छात्राहरुको चारदिने तनाव अन्त्य

मनोज दाहाल २०७७ फागुन २४ गते २३:२२ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,२४ फागुन(रासस):महिनामा चार दिन तनाव व्यहोरिरहेका छात्राहरु ‘रेष्ट रुम ’स्थापनाले यसबाट छुटकारा पाएकी छन्।

सुनसरीको उत्तरी भेगका बराहक्षेत्र नगरपालिका–८ स्थित सालबन्दीमा रहेको जनक माध्यमिक विद्यालयका छात्राहरुका लागि अलग्गै ‘रेष्ट रुम’ स्थापना भएर पछि सो पीडाबाट मुक्त भएका हुन।

विद्यालयले ‘ महिनावारी कुनै समस्या होइन,यो त प्राकृतिक प्रकृया मात्र हो’ भन्ने नाराका साथ रेष्ट रुमको स्थापना गरेर छात्राहरुको विद्यालय नआउने समस्याको अन्त्य गरेको हो।

विद्यालयले महिनावारी हुंदा छात्राहरुलाई पेट दुख्ने र सेनेटरी प्याडको समस्यालाई समाधान गर्नका लागि विस.२०७५ देखि रुम स्थापनासँगै निःशुल्क प्याड उपलव्ध गराउँदै गएको छ।

विद्यालयका छात्राहरुले महिनाबारी हुदा धेरै कष्ट हुनुका साथै आफ्नो समस्या उजागर गाहे हुनाका कारण अध्ययनका लागि नआउने गरेको बताएका छन्।

छात्रा रामकुमारी मगरले निःशुल्क प्याड लगायत आराम गर्न उपलव्ध गराइएको रुमका कारण अहिले सधै विद्यालय आउने गरेको धारणा राखिन।

यस्तै अर्का छात्रा निर्मला कुमारी दाहालले आफूलाई परेको समस्या शिक्षिक(म्याम)का लागि भन्न सहज भएको र कपडाको सट्टा सफा प्याडले जोखिमलाई न्यूनिकरण गरेको विचार राख्नु भयो।

नगरपालिका,दातृ संस्थाको सहयोगमा उपलव्ध औषधि लगायत प्याड छात्राहरुको अध्ययनमा हुने बाधालाई अन्त्य गर्न वितरण गरिएको प्रधानाध्यापक तेजप्रसाद भट्टराईले बताउनु भयो।

उहाँले छात्राहरुलाई आइपर्ने समस्या सहज रुपमा भन्नका लागि विद्यालयकी आयामार्फत जानकारी प्राप्त भै समाधान गर्ने कार्य गरिरहेको विचार राख्नु भयो ।

विस.२०२५म निम्नमाध्यमिक विद्यालयको रुपमा स्थापना भै विस. २०५२ मा स्थापना भै विस २०५४ देखि माध्यमिके रुपमा सञ्चालन भएको विद्यालयमा अहिले २२८ जना विद्यार्थीहरु मध्ये ११२ जना छात्राहरु अध्ययन गरिएका छन्। विद्यालयमा शिशु कक्षा देखि १० कक्षासम्म अध्ययन हुने गरेको छ।

विद्यालयले विद्यार्थीहरुलाई लामो अध्ययनबाट झर्को नलागोस भन्नका लागि प्रत्येक दुई पिरियड पश्चात १० मिनटको व्रेकको व्यवस्था गरेको छ।

यसबाट उनीहरुलाई अध्ययनमा लगननशीलता जगाउनका साथै शिक्षकहरुलाई अध्यापनको समयमा कुनै बाधा समेत नहुने गरेको छ।

विद्यालयबाट परिसरबाट विद्यार्थी वाहिर नजाउँन तथा तथा अनुशासन कायम गर्न कक्षा सञ्चालन भएपश्चात गेटमा ताल्चा लगाउने गरिएको छ।

विद्यालयले विद्यार्थीहरुलाई विपद्का समयमा आफू,आफ्ना परिवार र समाजलाई बचाउँन व्यवहारिक शिक्षाका साथ तालीम दिने कार्यको व्यवस्था गरेको छ।

विद्यालयको हाताभित्र अलग्गै कक्षा कोठामा ‘चट्याङकबाट वाँच्न अपनाउनु पर्ने उपायहरु’साइनवार्ड राखी समय –समयमा विशेषज्ञ र शिक्षकको माध्यमकवाट यसप्रकार सैद्धान्ति तथा व्यवहारिक ज्ञान विद्यार्थीहरुलाई प्रदान गर्ने गरिएको छ।

यसैगरी विद्यालयले विशेष शिक्षा अन्तर्गत सुस्त श्रवण विद्यार्थीहरुका लागि आवासीय रुपमा अध्ययनको व्यवस्था गरिरहेको छ।

विद्यालयमा यस्ता फरक क्षमता भएका विद्यार्थीहरु कक्षा छ,पाँच,चार र दुई गरी छात्रा छ जना र छात्र चारजना गरी १० जनाले आवासीय रुपमा अध्ययन गरिरहेको प्रअ भट्टराईले जानकारी दिनु भयो।

सङ्घीय सरकारले फरक क्षमता भएका आवासीय विद्यार्थीका लागि प्रति विद्यार्थी रु चार हजार उपलव्ध गराउदै आएको र सोही रकमको माध्यममाट उनीहरुले अध्ययन गरिरहेका उहाँले बताउनु भयो।

विद्यार्थीका लागि प्राप्त हुने उक्त रकमबाट खाना, लगायत अन्य सम्पूर्ण सामानको जोहो गर्नु पर्ने भएकाले प्राप्त रकम न्यून रहेको छ।

साथै सोही रकमबाट अध्यापन गराउका लागि राखिको एक शिक्षकको पारिश्रमिक समेत भुक्तानी गर्ने गरेको प्रअ भट्टराईले बताउनु भयो।

फरक क्षमता भएका विद्यालयहरुलाई अध्यापन गराउने शिक्षकलाई रु आठ हजार मात्र पारिश्रमिक उपलव्ध गराउने कार्यबाट निजको श्रम शोषण नै भएपनि वाध्यता रहेको छ उहाँले भन्नु भयो।

यस सम्वन्धमा नगरपालिका लगायत सम्वन्धित निकायको ध्यानाकर्षण गराए पनि अहिलेसम्म समस्या समाधान हुन नसकेको गुनासो प्रअ भट्टराईको छ।

यसैगरी विद्यालयको प्राङ्गणमा अपाङ्ग विद्यार्थीहरुलाई‘अपाङ्ग मैत्री ’शौचालयको निर्माण कार्य द्रुत गतिमा शुरु गरिएको छ।

‘समूदायको विपद् उत्थानशीलताको लागि सुरक्षित विद्यालय परियोजना’ अन्तर्गत प्लान इन्टरनेशनल र गैर सरकारी संस्था फरवार्डको सहयोगमा रु १३ लाख ७५ हजार ८३५ को लगानीमा गएको पुस २५ गतेदेखि निर्माण कार्य शुरु गरिएको हो।

विद्यालयमा अध्ययनरत अपाङ्ग विद्यार्थीहरुलाई मैत्री शौचालय उपलव्ध नुहँदा ज्यादा कठिनाई उत्पन्न भई अध्ययनमा वाधा एवं समस्या पर्ने भएकाले निर्माण गर्न सहयोग गरिएको फरवार्डकी गनिता चौधरीले जानकारी दिनु भयो।

उहाँले फागुन २५ गतेसम्म निर्माण सम्पन्न गर्नु पर्नेमा अहिले छत ढलान कार्य सम्पन्न भैसकेकोले आउँदो चैत महिनाभित्र सम्पूर्ण कार्य सम्पन्न भै सञ्चालनमा आउने बताउनु भयो।

स्थानीय नागरिकका बालबालिकालाई सामुदायिक विद्यालयतर्फ अध्ययनका लागि आकर्षण गर्न विद्यालयमा कक्षा तीनसम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन शुरु गरेको विद्यालयका शिक्षक सरोज दाहालले जानकारी दिनु भयो।

उहाँले सामुदायिक विद्यालयको अध्ययनबाट विद्यार्थीहरुले भविष्यमा उच्च शिक्षामा प्राप्त छात्रवृत्ति लगायन अन्य सुविधाका सम्वन्धमा अभिभावकलाई जानकारी गराउनाले यस तर्फ आकर्षणमा वृद्धि भएको बताउनु भयो।

शिक्षक दाहालले विद्यालयले अङ्ग्रेजी माध्यमबाट प्रत्येक वर्ष एक कक्षा थप गदै जाने नीति लिएको बताउनु भयो।

उहाँले अग्रेजी माध्यमको कक्षा अझ व्यवस्थित रुपमा सञ्चालनका लागि थप निजी शिक्षकको व्यवस्था गर्नुपर्ने आवश्यक्ता रहेको महशुस गर्दै आगामी दिनमा थप गर्ने जानकारी दिनु भयो।

हाल विद्यालय परिसरको क्षेत्रफल दुई विघा रहेपनि व्यवस्थित रुपमा खेलकूद सञ्चालनका लागि बजेटको अभावका कारण खेलमैदान क्षेत्रमा पर्खाल नलाउन नसकिएकोे उहाँले बताउनु भयो।

विद्यार्थीहरुलाई खेलकुदमा दक्ष बनाउन खेल मैदानमा पर्खा नलगाउन सकेकोमा अहिले गौचरणको रुपमा परिणत हुन गएको छ।

प्रदेश नं १ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुशियतको पहलमा विस. २०७६ मा स्थापना भएको विज्ञान प्रयोगशाला विगत छ महिनादेखि शिक्षक अभावका कारण सञ्चालन हुन सकेको छैन।

प्रयोगशाला शिक्षकको गएको असोजमा अन्य स्थानमा सरुवाका भएका कारण विद्यार्थीहरुले उचित अध्ययन,अनुसन्धान एवं प्रयोगात्मक शिक्षा आर्जन गर्न नपाएकोले यस सम्वन्धमा सम्वन्धित निकायमा जानकारी गराएको प्रअ भट्टराईले बताउनु भयो।

यसै गरी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट विद्यालयका चार शिक्षकलाई प्रदान गरिएको आईसिटी तालीमबाट प्राप्त ज्ञान विद्यार्थीमा प्रदान गर्न कम्प्युटरको कमीका कारणले समस्या भएको विद्यालयले जनाएको छ।

विद्यालयमा कम्प्युटरको कमीले शिक्षकहरुले विद्यार्थीहरुलाई यस सम्वन्धी ज्ञानको समुचित प्रयोग हुन नसकेकोमा प्रअ भट्टराईले चिन्ता व्यक्त्त गर्दै सरकारले चाँडै उपलब्ध गराउन आग्रह समेत गर्नु भयो।

विद्यालयले प्राविधिक शिक्षाको आवश्यक्ता वोध गरेपनि भौतिक पूर्वाधारको,दक्ष शिक्षकको कमीको कारण सञ्चालन गर्न नसकेकोमा प्रअ भट्टराईले दुखेसो व्यक्त गर्नु भयो।

उहाँले शिक्षालाई रोजगारीसँग जोड्न प्राविधिक शिक्षा आवश्यक रहेको बताउँदै यस सम्वन्धमा प्रदेश सरकारको ध्यानाकर्षण हुनु पर्नेमा जोड दिनु भयो।

प्राविधिक शिक्षा विद्यालयले प्रदान गर्न सकेमा स्थानीय स्तरमा रोजगारी उपलब्ध भै यस क्षेत्रका युवायुवतीको विदेश पलायनमा न्यूनीकरण हुने विश्वास यस क्षेत्रका स्थानीयवासीकोे छ।

अहिले विद्यालयमा पुस्तकालय र शौचालयको समुचित व्यवस्था रहे पनि खानेपानीको उचित व्यवस्थापनमा समस्या देखिएको छ।

यसैगरी विद्यालय परिसरमा निर्माण गरिएको पक्कि मञ्चमा छाना छाउनका लागि आवश्यक जस्तापाता(ट्रष्ट) र साइकल पार्क निर्माणका लागि आर्थिक अभावका कारण सम्पन्न गर्न नसकिएकोे प्रअ भट्टराईले बताउनु भयो।

उहाँले विद्यालयमा धेरै वर्ष अगाडि रङ्रोगन गरेकोमा अहिले त्यो खुइलि सकेकेको हुनाले विद्यालय चिन्हको रुपमा रहेको पहेलो रङ लगाउने पर्ने आवश्यक्ता औल्याउनु भयो।

विद्यालयले दलित एवं आदिवासी छात्रालाई छात्रवृत्तिको रकम प्रत्येक वर्ष रु ४०० सुचारु रुपले वितरण गरेको उहाँले बताउनु भयो।

ग्रामीण क्षेत्रमा स्थापित विद्यालयले यस क्षेत्रका विद्यार्थीहरुलाई जीवनउपयोगी ज्ञान प्रदान गरि उनीहरुलाई भविष्यमा राष्ट्रको मेरुदण्डको बनाउने कार्यमा लागेकोमा स्थानीयवासी खुशी र प्रशन्न रहेका छन्।

मनोज दाहाल

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया