माइतीलाई चिट्ठी

अलका मल्ल,काठमाडौं २०७७ फागुन २१ गते १०:४६ मा प्रकाशित

पराइ घर अन्माइ दिए माइतीले
छोरी माइती बस्न हुन्न भनेर
माइती घरले रोजेको केटो
शिष्ट,नम्र अनि भलादमी बुझ।

ससुरा मेरा देबता झै छन्
सासु लक्ष्मीले बास गरेकी
जेठाजु मेरा दाजु झै छन्
जेठानी साह्रै मायालु छिन्।

मेलो पात,गोठाला धाउनु पर्दैन
तातो,मिठो खान दिएका छन्
छाउपडीमा छाउ गोठ राख्दैनन्
कर्म घर महल लाग्न थाल्दै छ।

नन्द मेरी संस्कारी रहिछिन्
पराइ घरका सबै कुलकुटुम्ब
आफ्नो लाग्न थालिसके छन्
भाग्य थलो पनि चम्किंदै छन्।

अन्माउँदा डाँको छोडी रोएको
दाजु,भाइले हात नछोडेको
मलाई पनि आउँछ झ–झल्ती
सम्झेर रुन मन लाग्छ बेसरी।

नरोए है आमा,नरोए बुबा
छोरी दुःख भोग्दै छे कि।भनेर
लाखौंमा सुखी यो छोरी छे
भावी रेखा गतिलै कोर्दै छे।

यो त हाम्रो रीतिथिति हो
पराइ घरमा भित्रिनु पर्ने
भाउजु जसरी अन्मेर आइन्
म पनि त्यस्तै पराइ घर छुँ।

पल्लो घरकी सुब्बीनी काकी
आमा रोइ रहन्छे भन्दै थिइन्
नरुनु है आमा बिलौना गरी
छोरी सम्झी संधै धरी धरी।

बारीको काँक्रा, मकै र कोदो
कोशेली सम्झी पठाकी छुँ
हातैले बुनें ऊनको स्वीटर
छातीलाई बचाइ राख्ने गर्नु।

घरैमा पाकेको तिहुन–ताहुन
मिठो मानेर खाइदिने गर्नु
नाना थरीका छिमेकीका कुरा
चित्त दुखाई बस्ने नगर्नु।

चिसोले छोला स्याँठ लाग्ला
झ्याल ढोका सम्हाली लगाउनु
गुन्यु,चोलो,टपक्क मिलाइ
न्यानो पारी लगाइ रहने गर्नु।

यसपालीको चाड दशैंमा
टिको थाप्न आउँदै छुँ
बुबा आमा सय बर्ष बाँचे
संधै आशिष थाप्न सके।

-अलका मल्ल,काठमाडौं

प्रतिक्रिया