नेपाली काङ्ग्रेस एकलै सडक सङ्घर्ष गर्ने

इनेप्लिज २०७७ फागुन ४ गते ०:१९ मा प्रकाशित

विराटनगर,

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा नेपाली काङ्ग्रेस एकलै सडक सङ्घर्ष गर्ने बताउनुभएको छ।

नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति मोरङद्वारा आज यहाँ आयोजित नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सरकारको असंवैधानिक र अलोकतान्त्रिक कार्यको विरुद्ध बृहत विरोध सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।

केन्द्रीय सदस्य आचार्यले प्रधानमन्त्रीको पछिल्लो कदमको विषयमा सर्वोच्च अदालतमा पनि बहस भइरहेकोले न्यायलयले संविधानको मर्म एवं भावना अनुसार फैसला सुनाउने कुरामा विश्वस्त रहेको चर्चा गर्नुभयो।उहाँले प्रधानमन्त्री ओलीले एकपछि अर्को संविधान विपरीत कार्य गरिरहेको बताउँदै संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको प्रकाश पार्नु भयो।उहाँले जनता नै सबै भन्दा ठूला अदालत रहेको प्रसङ्ग उल्लेख गर्दै कथन निर्वाचन नै भए जनता माझ सबै असंवैधानिक कदमहरु मुद्दाको रुपमा लैजाने दावी गर्नुभयो ।

नेपाली काङ्ग्रेसका अर्का केन्द्रीय सदस्य अमृत अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा आम नागरिक पनि स्वःस्फूर्त रुपमा विरोधमा उत्रिएको प्रसङ्ग उल्लेख गर्दै संविधानको वैधानिक संरचनाहरु संरक्षण गर्न सरकार चुकेको छ भन्नुभयो।उहाँले संवैधानिक अङ्गहरुलाई सरकारले कब्जा गरेर संविधान विपरीत कार्य गरिरहेको चर्चा गर्दै लोकतन्त्र र संविधानको रक्षा गर्न नेपाली काङ्ग्रेस आफ्नै बलमा गर्न सक्षम छ भन्नुभयो।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य पवन सारडा, नेपाली काङ्ग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू र पार्टीका उपसभापति शिवनारायण गनगाँई र बुद्धिजीवीको तर्फबाट इन्दिार प्रसाँईले सरकार संविधानको भावना अनुसार काम नगरेको आरोप लगाउनुभयो।

प्रतिक्रिया