आगामी फागुन मसान्तसम्ममा विद्युत कटौती समस्या अन्त्य हुने

इनेप्लिज २०७७ माघ २२ गते १२:१९ मा प्रकाशित

विराटनगर,

सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रमा बेला बेला विद्युत कटौती हुने समस्या आगामी फागुनमसान्तसम्ममा अन्त्य हुने प्राधिकरणले जनाएको छ।

उद्योग संगठन मोरङले नेपाल विद्युत प्राधिकरण यस क्षेत्रमा आउने भएका नवनियुक्त कार्यालय प्रमुहरुको स्वागतमा आज आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो।

प्राधिकरणका नव नियुक्त प्रदेश नं १ प्रमुख टेकनाथ तिवारीले सडक विस्तार,प्राधिकरणका आन्तरिक कार्य,आगामी गर्मी मौसमका लागि सुचारु विद्युत आपूर्ति र सवस्टेशन मर्मत लगायतले अहिले दिउँसो समयमा विद्युत कटौती भएपनि फागुन पछि निरन्तररुपले उपभोक्ताहरुलाई विद्युत आपूर्ति उपलव्ध गराउने विश्वास दिलाउनु भयो।

उहाँले उपभोक्ताहरुलाई गुणस्तरीय र निरन्तर विद्युत आपूर्ति गर्न प्राधिकरण सचेत र प्रतिवद्ध रहेको बताउदै विद्युत सम्वन्धि कुनै समस्या देखिएमा कार्यालय तथा नो लाइटमा सम्पर्क गर्न अनुरोध गर्नु भयो।

उद्यमीको डिमान्ड शुल्क छुट सम्वन्धमा नेपाल सरकारको नीति अनुसार अनुसार कार्य भइरहेको जानकारी दिदै उद्योगको ट्रान्सफर टेस्टिङको जिम्मा प्राधिकरणको प्रदेश कार्यालय लिने बताउनु भयो।

विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेस कुमार गोहिवार,इटहरी वितरण केन्द्रका प्रमुख सुरेन्द्र कुमार साह र दुहवी ग्रीडका प्रमुख राजेश रेग्मीले ट्रिपिङ, भोल्जेट लगायतका अन्य समस्या चाँडै समस्या समाधान गर्ने बताउदै प्राधिकरणले नयाँ प्रविधिको प्रयोगको समस्या समाधानमा सहयोग पुग्नुका साथै गुणस्तरीय सेवा प्रवाह गरी आगामी चैतको पहिलो सातादेखि विद्युत कटौती समस्या अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे,उपाध्यक्ष प्रदीप मुरारका, पूर्व अध्यक्ष शिवशंकर अग्रवाल र उद्यमी सुवोध कोइरालाले उद्योगहरुका विद्युत सम्वन्धी समस्या राख्नुका साथै विद्युत कटौती पूर्व जानकारी दिएमा निर्माण व्यवसायीहरुको नोक्सानी कम गर्न सकिने विचार व्यक्त गर्नु भएको थियो।

प्रतिक्रिया