‘गरिबको नाना शनिबारको छाना’

मनोज दाहाल २०७७ माघ २१ गते २३:३१ मा प्रकाशित


मनोज दाहाल,

मोरङ,२१ माघ(रासस):गरिब तथा विपन्न परिवारलाई आवश्यक पर्ने लत्ताकपडा सहज रुपमा आपूर्ति हुने विराटनगरको महेन्द्र चोक ‘गरिबका लागि नाना,शनिबारको छाना’भएको छ।

प्रत्येक शनिबार बिहानै देखि लाग्ने खुला हाटमा लत्ताकपडा खरिद गर्ने मानिसहरुको अत्यधिक भीडले सुनशास सो ठाउँ अहिले गुल्जार भएको छ। अत्यधिक चहलपहल एवं भीडले गर्दा सो ठाउँमा पसल थाप्ने मानिसहरु पनि अत्यन्त खुशी छन्।

शनिबार एक दिन मात्र लाग्ने सो हाट पहिले विराटनगरको डि प्लटमा लाग्ने गरेको थियो भने महानगरपालिकाले सो ठाउँमा आवश्यक संरचना बनाउन थालेपछि ती व्यापारीहरु केही दिन पहिले विराटनगरको भाटभटेनी स्थित पसल प्रत्यके शनिबार थाप्ने गरेका थिए।ठाउँका अभाव यत्रतत्र भौतारिरहने यी व्यावसायीहरु स्थायी ठाउँको खोजीमा थिए।

यो खोजीलाई स्थानीय देवेन्द्र भण्डारीले पूरा गरिदिएपछि शनिबार हाट भर्न आउने व्यावसायीहरु उत्साहित मात्र होइन उनीहरुको जीविकोपार्जनको एउटा भरपर्दो माध्यम बन्न पुगको छ।केही दिन पहिले सो ठाउँमा घाँस,झार, फोहोरहरु थुप्रिने,खुलादिसापिसाब गर्ने स्थलको रुपमा विकसित हुँदै गएको सो ठाउँलाई यसरी राख्न पाइदैन् भनेर दवाव दिँदै आएको थियो।दिउँसै डर लाग्ने सो ठाउँ अहिले राम्रो भएको छ भने सयौँ व्यापारीहरुका लागि कमाउने ठाउँ बनेको छ।

जग्गा धनी देवेन्द्र भण्डारीले सो जग्गामा बजार लगाउन ठेकेदारलाई बहालमा दिएका छन्।ती ठेकेदारले शनिबार हाटमा पसल थप्नेसँग भाडा असुल गर्छन्।ती भाडा पसल हेरीहेरी शुल्क लगाएका छन्।लगभग एक पसलेले मासिक रुपमा रु.एक हजार देखि दुई हजार सम्म बहाल वापत ठेकेदारलाई बुझाउने गरेको पाइएको छ।

यस्तो खुला बजारमा १०० भन्दा व्यापारीले बालकदेखि बृद्धासम्मको तयारी लुगा बिक्री गर्ने गरेका छन्।बजार र ठाउँको अभावमा त्यहाँ पसल गरेर आम्दानी हुन थालेपछि व्यापारीहरु खुशी छन् भने खेर गएको जग्गाबाट मासिक रुपमा भाडा आउन थालेपछि जग्गा धनी पनि खुशी छन्।

त्यहाँ व्यापार गर्ने व्यापारीहरुले स्थानीय होजियारी उद्योग,विराटनगर, काठमाडौं,सुनसरीको इटहरीको थोक ब्रिकेता बाट पुरानो स्टकका सामान खरिद गरी सस्तो बिक्री गर्ने गरेका छन्।

यस्तै,केही व्यापारीले मानिसहरुको घरघरमा गई स्टिलका भाडा लगायत अन्य सामानमा साटेर सङ्कलन गरेका लुगाफाटोलाई पुनःधोएर,आइरन लगाएर बिक्रीमा ल्याउने गरका छन्।

श्रृङ्गारका सामान, जुत्ताचप्पल, बच्चाहरुको खेलौना देखि लिएर मःम र चटपटी समेतको पसल रहने सो हाटमा जुत्ता चप्पलहरु विराटनगर,काठमाडौँ का फ्याक्ट्री देखि भारतका थोकबिक्रताको बिक्री नभएर स्टकमा रहेका सामानहरु कम मूल्यमा खरिद गरी सस्तोमा नै बिक्री गरिरहेको पाइयो।अहिले जाडोको मौसममा स्वीटर,ट्राउजर,मोटो तथा पातलो ज्याकेट, आउटर,मौजा,जुत्ता,चप्पल,पुरुषले लगाउने भित्री कपडा,श्रृङ्गारका सामान,टीका,सुनको जलप लगाएको नक्कली गरगहना,बालबालिकाको लागि खेलौना,बाँसुरी लगायतका सामाग्री बिक्रीमा हुन्छन्।

सस्तोमा छानीछानी खरिद गर्न पाउने ग्राहकहरु सकभर बिहानको समयमा निकै देखिन्छन्।उनीहरु त्यतिबेला राम्रो सामान सस्तोमा पाइन्छ भन्ने ठानेका छन्।

बजारमा सामान खरिद गर्नका लागि विराटनगर लगायत मोरङ र सुनसरीका ग्रामीण क्षेत्रका जनता तथा सीमावर्ती भारतीय उपभोक्ताहरु पनि आउने गर्दछन्।

शनिबारको बजारमा पसल राखेका रवि मालीले जिन्सको पैन्ट सानो देखि ठूलोसम्मको रु.४५० देखि एक हजारसम्म मूल्यमा बिक्री गरिरहेका छन् । उहाँका अनुसार यो पैन्ट बजारमा खरिद गर्न गयो भने रु.दुई हजार भन्दा बढी मूल्य ग्राहकले तिर्नु पर्छ,हामी सस्तोमा बिक्री गरिहेकाले ग्राहकले छानीछानी लुगा खरिद गर्छन् पसले मालीको भनाई छ।उहाँले म प्रत्यके शनिबार यो हाटमा रु.छ हजार देखि आठ हजार सम्म बिक्री गर्छु र आम्दानी पनि राम्रै हुन्छ, त्यसैले यस्तो हाट खोजी खोजी जाने गरेको छु भन्नुभयो।उहाँले सोमवार सुनसरीको धरान,मङ्गलबार सुनसरीकै दुहवीमा लाग्ने हाट पनि जानेगरेको छु भन्नुभयो।

यसैगरी होजीयारीका सामान बिक्री गर्ने अमरजीत गुप्ताले बजारमा रु तीन हजार देखि पाँच हजारसम्ममा बिक्री हुने लुगा म रु १५० देखि ३५० मूल्यमा बिक्री गर्ने गरेको छु भन्नुभयो।ग्राहकको सेवा नै हाम्रो आम्दानीको स्रोत हुने भएकोले धेरै मूल्य राख्दैनौँ उहाँको प्रतिक्रिया थियो।

यसैगरी जुत्ताको कारोबार गर्ने नन्दी गुप्ताले पसलमा भएका जुत्ता रु१०० देखि ६५० सम्म बिक्री गर्ने गरेको बताउँदै डुलेर बिक्री गर्दा पूँजी पनि धेरै नलाग्ने र आम्दानी पनि राम्रै हुने गरकोले म १२ वर्ष देखि यो काम गर्दै आउको छु भन्नुभयो।मैले विराटनगरको बजारमा दिनमा रु.१२ हजार सम्मको सामान बिक्री गर्छु उहाँले जानकारी दिनुभयो।

वास्तविक मूल्य भन्दा ७५ प्रतिशत कम मूल्यमा सामान किन्न पाउँदा खुशी लागेको स्थानीय युवा अर्जुन सुवेदीले बताउनु भयो।उहाँले बजारको मुख्यसडकमा सटर भाडामा लिएर पसल गर्ने भन्दा यहाँ निकै सस्तोमा खरिद गर्न पाएकाले नै ग्राहकको रोजाईमा यो बजार पर्न गएको मनसाय राख्नुभयो।

यसैगरी,बाँसुरीको पसल राख्ने मोहम्मद हसनले यो बजारमा बिक्री राम्रो हुन्छ,मैले बेलुन रु.३०,बाँसुरी रु.३०देखि ६० मा र मयुरको प्वाँख भएको झुप्पा रु.१२० मा बिक्री गर्छ जानकारी दिनुभयो।खासगरी मेरा सामान बालबालिकाहरुले किन्ने भएकोले मलाई धेरै पूँजी लगाउन परको छैन,बाँसुरीको लागि बाँस पनि गाउँबाटै ल्याउँछु र घरमा बनाएर बिक्री गर्ने गरेकोले मलाई मेहनत अनुसारको आम्दानी भइरहेको छ भन्नुभयो।

विराटनगर महानगरपालिकाले गरिब तथा विपन्न वर्गका जनतालाई आवश्यक पर्ने यस प्रकारको बजारलाई हप्ताको सातै दिन सञ्चालन गर्न जग्गाको उचित व्यवस्थापन गर्न सकियो भने यसले धेरै हद्सम्म बेरोजगारीको समस्या समाधान हुने आशा गर्न सकिन्छ।

श्रृङ्गारका सामान बेच्ने विराटनगर महानगरपालिका वडा नं ६ निवासी मुन्नी रौनियारले हामीले सस्तोमा श्रृङ्गारका सामान बिक्री गर्छौ,त्यसैले हामी कहाँ ग्राहकहरुको भीड लाग्ने गरेको छ भन्नुभयो।

सप्ताहिक रुपमा लाग्ने यस प्रकारको बजारबाट गरिबहरु लाभान्वित हुने भएकाले यसलाई आवश्यक संरक्षण गर्नु पर्ने आवश्यकता देखिएको छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया