मोरङको सुन्दरहरैचामा प्रादेशिक सरुवा रोग निवारण केन्द्र शिलन्यास–मन्त्री ढकाल

इनेप्लिज २०७७ माघ १९ गते २३:०५ मा प्रकाशित

विराटनगर,

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मोरङको सुन्दरहरैचा नगरपालिकामा प्रादेशिक सरुवा रोग निवारण केन्द्र (अस्पताल)को आज शिलन्यास गर्नु भयो।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वामित्वमा उक्त नगरपालिका–११ मा रहेको १४ विगाहा जग्गामा सरुवा रोग अस्पताल निर्माण गर्न लागिएको हो।

सरुवा रोग रोकथाम,नियन्त्रण र उपचार एवं स्वास्थ्य विपद् व्यवस्थापनको तयारी तथा प्रतिकार्य गर्न प्रयोगशाला परीक्षण सहितको न्यूनतम ५० शैय्याको प्रदेश स्तरीय अत्याधुनिक सुविधा सम्पन्न सरुवा रोग नियन्त्रण केन्द्र अस्पताल हुने छ ।सङ्घीय सरकारको सात प्रदेशमा केन्द्र निर्माण गर्ने नीति अनुरुप शिलन्यास कार्य भएको हो।सङ्घीय र प्रदेश सरकारको संयुक्त सहयोगमा अस्पतालको निर्माण गरिने भएको हो।

मन्त्री ढकालले निर्माण हुने अस्पताल आगामी दुई वर्षमा निर्माण सम्पन्न भई सञ्चालनमा आउने बताउनु भयो । उहाँले अस्पताल निर्माणका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षमा रु १० करोड बजेट विनियोजन गरिएको जानकारी दिनु भयो।

प्रदेश सभा सदस्य राजकुमार ओझाले सुविधा सम्पन्न प्रयोगशाला केन्द्र निर्माण पश्चात यस क्षेत्रका नागरिकहरुलाई काठमाडौ जाने समस्याबाट अन्त्य हुने बताउनु भयो।

 

प्रतिक्रिया