विराटनगर,(रासस):एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कुल रु.१८ अर्व तीन करोड २६ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ।सो अवधिमा भन्सारले रु.२३ अर्व छ करोड ८३ लाख ६६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो।
कार्यालयले लक्ष्यमा रु. पाँच अर्व तीन करोड ५७ लाख ४५ हजार कम सङ्कलन गरी समग्रमा ७८ दशमलव १७ प्रतिशत प्रगति गरेको जनाएको छ।
गएको वर्षमा सो अवधिमा रु.२६ अर्व पाँच लाख ८५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु.१५ अर्व ८५ करोड ६१ लाख १५ राजस्व सङ्कलन गरेको थियो।सो अवधिमा कार्यालयले लक्ष्यमा रु.नौ अर्व ८१ करोड २८ लाख ३६ हजार राजस्व कम सङ्कलन गरी ६१ दशमलव ७७ प्रतिशत प्रगति गरेको थियो।
चालु आर्थिक वर्षमा गएको वर्षमा सो अवधिमा सङ्कलित राजस्व भन्दा रु.दुई अर्व १७ करोड ६५ लाख छ हजारले बढी राजस्व सङ्कलन भएको कार्यालयका प्रवक्ता सन्तोष यादवले जानकारी दिनुभयो।उहाँले गएको वर्ष भन्दा यसवर्ष सो अवधिमा विभागले विभिन्न शीर्षकमा कुल रु.दुई अर्व ६० करोड पाँच लाख ८५ हजार कम गरेर साउन देखि पुससम्मको रु. २३ अर्व छ करोड ८३ लाख ६६ हजार लक्ष्य दिएको जानकारी दिनुभयो।
कोरोनाको महामारीका कारण आयात निर्यातमा आएको उतारचढावका कारण भन्सार राजस्व पनि प्रभावित भएकोले लक्ष्य अनुसार राजस्व सङ्कलन नभएको भन्सार प्रमुख शिवकुमार भण्डारीले जानकारी दिनुभयो।उहाँले विगतमा सो अवधिमा राजस्व सङ्कलन गर्ने लक्ष्यको चालु आर्थिक वर्षमा लक्ष्य घटाए पनि प्रगति हासिल गर्न नसक्नुको प्रमुख कारण कोरोनाको महामारीले व्यपार व्यवसायमा आएको प्रभाव नै हो भन्नुभयो।
कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा रु.दुई अर्व २४ करोड ५६ लाख १४ हजार,भदौमा दुई अर्व ५६ करोड ९६ लाख ९८ हजार, असोजमा रु.तीन अर्व ३४ करोड चार लाख ४१ हजार,कात्तिकमा रु.तीन अर्व चार करोड ४२ हजार,मङ्सिरमा रु.तीन अर्व १३ करोड ४० लाख ४२ हजार र पुस महिनामा रु.तीन अर्व ७० करोड २७ लाख ४२ हजार राजस्व क्रमशः सङ्कलन भएको छ।
कार्यालयले साउन महिनामा १०२ दशमलव ७५ प्रतिशत प्रगति हासिल गरेपनि त्यसपछिका महिनामा क्रमशः ७९ दशमलव ५२,७२ दशमलव ७०,८३ दशमलव नौ,६५ दशमलव ८३ र पुसमा ७९ दशमलव ८६ प्रतिशत प्रगति गरेको जनाएको छ।
प्रतिक्रिया